नेपालमा स्टेज कार्यक्रम गर्दाको दर्शक बेलायतमा पाएँ : गायिका शान्तारानी [अन्तर्वार्ता]

गोर्खा मिडिया संवाददाता
 
 
 

पछिल्लो समय नेपाली सांगीतिक बजारको लोकप्रिय गीत हो, पञ्चेबाजामा आधारित शीरफूल शिरको…’ । गायक तथा गीतकार रविन लामिछानेको शब्द सिर्जनामा तयार पारिएको गीतमा ईश्वर सिंह र शान्तारानी परियारले स्वर दिएका छन् । उसै त, सुमधुर स्वर र गायकी कलाले चर्चा पाउन सफल गायिका शान्ताशानी शीरफूल शिरको गीतपछि झनै दर्शकमाझ छाएकी छन् । औपचारिक गायनमा प्रवेश गरेको एक दशक नपुग्दै ख्याती कमाएकी शान्तारानी परियार स्टेज कार्यक्रमका लागि पनि परिचित नाम हो । उनै गायिका यतिबेला संयुक्त अधिराज्य बेलायत भ्रमणमा छिन् । ग्रेटर रस्मुर नेपाली कम्युनिटी र सिर्जनशील समाज यूकेको आमन्त्रणमा यूके आएकी गायिका शान्तारानी परियारसँग गोर्खा मिडियाका लागि मिलन तमुले गरेको संक्षिप्त कुराकानी :

बेलायतमा कहिले आउनुभयो ?
एक महिना भयो । हामी मे ९ तारिख २०२२ मा बेलायत आएका हौं ।

व्यक्तिगत या संस्थागत कस्तो निमन्त्रणमा आउनुभएको हो ?
हामीलाई विशेषगरी बेलायतमा ग्रेटर रस्मुर नेपाली कम्युनिटी, सिर्जनशील समाज यूकेले यहाँ आमन्त्रण गर्नुभयो । उहाँहरुरको आमन्त्रणले गर्दा यूकेवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी सबैसँग भेट्ने मौका पायौं ।

कस्तो लाग्यो बेलायत ?
अरु देशमा जाँदा कति बेला नेपाल फर्कौं भन्ने अत्याशपन हुन्थ्यो भने यूकेमा हावापानी मिल्ने भएकोले पनि होला नेपालमै छौं कि जस्तो महसुस भइरहेको छ । धेरै नेपाली दिदीबहिनी, दाजुभाइ, आमाबुबाको साथ, सहयोग र मायाले गर्दा पनि होला । आनन्द आइरहेको छ । सबै कुरा राम्रो भएकोले नै बेलायत भएको जस्तो लाग्छ । नेपाललाई बेलायतसँग दाँज्नै मिल्दैन ।

तपाईंको सांगीतिक यात्रा कहिलेदेखि सुरु भएको हो ?
गीत म सानैदेखि गाउँथेँ । स्कुल, कलेज, वनपाखा, मेलापात गर्दा पनि गाउँथें । तर औपचारिकरुपमा सांगीतिक क्षेत्रमा लागेको ८/१० वर्ष भयो । विसं २०७० सालदेखि हो यस क्षेत्रमा लागेको ।

महिला दिदीबहिनीहरु नेपाली समाजमा अझै पनि बाहिर निस्कन सहज छैन भनिन्छ, तपाईंचाहिँ कसरी अगाडि बढिरहनुभएको छ ?
एउटा कलाकार भइसकेपछि समाजले हेर्ने दृष्टिकोण फरक अवश्य भइहाल्छ । गीतसंगीतमा लाग्न छोरा मान्छेलाई भन्दा छोरी मान्छेलाई अलि कठिन छँदैछ । छोरा मान्छेलाई जस्तो छोरीहरुलाई फ्रि हुँदैन । तर पछिल्लो समयमा यो क्षेत्रमा लाग्नका लागि छोरी मान्छेलाई अलि सहज भएको छ ।

समाजमा कलाकार वाह ! भनेर धेरैजसोले हेर्नुहुन्छ । कोही कोहीले गीत गाएको मन नपराउने, नाच्दै हिँडेको मन नपराउने टाइपको पनि हुन्छ । समाजमा सबै एकै थरीका मान्छे त कहाँ हुन्छन् र ।

तपाईं कस्ता-कस्ता गीत गाउनुहुन्छ विशेषगरी ?
म विशेषगरी ट्रिपिकल (मौलिक) लोकदोहोरी गीतहरु नै बढी गाउँछु । मेरो स्वर नै ट्रिपिकलजस्तो लाग्छ मलाई ।

अहिलेसम्म कति संख्यामा गीत गाउनुभयो ?
गीत त मैले झन्डै ५०/६० को हाराहारीमा गाइसकेकी छु । तर धेरै गीतहरु स्रोता, दर्शकसमक्ष पुग्न सकेनन् । आफूहरुले जुन आशा गरेर गीतहरु गरेकी थिएँ, त्यो फलदायी हुन सकेनन् । पछिल्लो समयमा शीरफूल शीरको मेरो माया बागलुङ/गुल्मीतिरको गीतका कारण धेरै माया गरिदिनुभयो ।

लोकदोहोरीमा पञ्चेबाजाका गीतलाई चाहिँ किन छान्नुहुन्छ ?
पञ्चेबाजा, सालैजो, कौडा मौलिक गीत हुन् । पञ्चेबाजा विशेषगरी गुल्मी, बागलुङ, बेनी, म्यादी, अर्घाखाँची, पाल्लाका भेगहरुमा मन पराइन्छ । सालैजोदेखि पञ्चेबाजाका गीतहरु सुन्दै आएको र अत्यन्तै मन पर्ने भएकोले पनि होला पञ्चेबाजा नै छानेकी हुँ ।

बेलायतमा आउनुभएसी कहाँ कहाँको कार्यक्रममा जानुभयो ?
ग्रेटर रस्मुर नेपाली कम्युनिटीले आयोजना गरेको मेन कार्यक्रम छुट्यो । भिसा ढिला पाएकीले । बेलायत आएको १ हप्तासम्म कार्यक्रम सेट नभएकोले हामी जान पाएनौं । मगर संघ यूकेले आयोजना गरेको नेपाली ओपन कन्सर्ट, ३ तारिखमा १९८० मा भर्ना भएका नम्बरीहरुको कार्यक्रमलगायतमा सहभागी भयौं । अहिले राम्रो भइरहेको छ । पहिले थोरै कलाकारहरु आउनुहुन्थ्यो बेलायतमा । दुई/तीन वर्षको कोभिडका कारणले पनि होला अहिले धेरै कलाकारहरु बेलायतमा हुनुहुन्छ । धेरै कलाकार हुँदाहुँदै पनि हामीले केही कार्यक्रम गर्ने मौका पाएका छौं । धेरै आयोजकहरुले हामीलाई सम्झेर बोलाइदिनुभएको छ । हामी गएका पनि छौं । खुसी छौं ।

बेलायत र नेपालको कार्यक्रममा के फरक पाउनुहुन्छ ?
बेलायत र नेपालको कार्यक्रममा केही फरक छ । नेपालमा भन्दा विदेशमा आउँदा कलाकारको छुट्टै महत्व हुन्छ । नेपालमा भन्दा धेरे माया पाउँछौं । अझ यूकेमा धेरै माया पाएका छौं । यत्तिले पुग्दैन, अझ यहाँहरुले माया गरिदिनुहुनेछ भन्ने विश्वास लिएका छौं ।

मगर संघ यूकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टको अनुभव सुनाइदिनु न ।
नेपालमा धेरै स्टेज कार्यक्रममा हिँड्ने कलाकारमध्ये म पनि पर्छु । नेपालमा स्टेज कार्यक्रम गर्दाको दर्शक यहाँ बेलायतमा पाएँ । त्यहाँ आफ्नो प्रस्तुति गर्दा एकदम सहज भएको थियो । खुलेर मसँग भएको कला त्यहाँ देखाउन पाएकी थिएँ । एकदमै खुसी छु म ।

कतिपय कलाकारहरु विदेश आएपछि स्वदेश फर्कन चाहनुहुन्न भन्ने छ । तपाईंलाई के लाग्छ ?
केही कलाकारहरु विदेश आएर यतै सेटल भएको हुनुहुन्छ । म अझै धेरै देशमा जानुछ । ती देशहरुमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई भेट्नुछ । उहाँहरुलाई मसँग भएको कला गला प्रत्यक्ष देखाएर आउनुछ । त्यसैले मैले अहिलेसम्म विदेशतिर सेटल हुन्छु भने सोचेकी छैन । किनकि म भर्खरै संघर्ष गरिरहेकी कलाकार । वैदेशिक यात्रा पनि भर्खरै सुरुआत हुँदैछ । बीचमा कोभिडको कारणले रोकिएको थियो । नेपालमा त्यत्ति राम्रो नभएकै कारणले होला, धेरै कलाकार दाइ, दिदीहरु विदेशतिरै सेटल हुनुभएको छ । हामी पनि पछि जानु पर्ने वा बस्नु पर्ने हुनसक्छ । तर अहिले त्यस्तो सोच छैन ।

अन्त्यमा के भन्नुहुन्छ कि ?
बेलायतमा रहेर नेपालबाट आएका हामीजस्ता कलाकारहरुलाई गोर्खा मिडियामा स्थान दिनुभएकोमा मिलन दाइसहित सम्पूर्ण टिमलाई धन्यवाद । त्यस्तै सिर्जनशील समाज यूकेका आदरणीय भक्त दर्जी दाइलाई सम्झिनँ चाहेँ । किनकि उहाँले हामीलाई यहाँसम्म ल्याउन ठूलो भूमिका खेल्नुभएको छ । अहिले दाइकै घरमा बसेकी छु । दाइकै घरमा रहँदा हामीलाई आफ्नै बुबाआमाको काखमा बसेजस्तो महसुस भएको छ । भक्त दर्जी दाइ अनि भाउजुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

भिडियो