लेखकको कोरोना अनुभव

गुरुङ रामप्रकाश समथिङ
 
 
 

२०७६ साल मंसिर २४ गते मंगलबारका दिन (१० डिसेम्बर २०१९) पहिलो पटक चीनको वुहान सहरबाट सुरु भयो । नेपालमा २०७६ साल माघ १० गते शुक्रबारका दिन चीनको वुहान सहरको वुहान युनिभरसिटीमा पिएचडी अध्ययनरत काठमाडौंका ३२ वर्षीय युवा (विद्यार्थी) चीनबाट नेपाल आए । उनी घरमा आएको केही दिनमा अस्पताल पुगी जाँच गर्दा कोरोना भाइरसको लक्षणसँग मिल्ने खालको लक्षणहरु देखा परे । उनी अस्पताल बसी उपचार गरेर निको भई घर फर्के । कोरोना भाइरसको लक्षण देखिएको उनी नेपालमा उनमा पहिलो पटक हो ।

मैले भात खाने फिदिम ०१ भानुमार्गस्थित भण्डारी होटलमा हामीसँगै भात खाने प्रभु बैंकका प्रबन्धक नितेश पौडेललाई २०७८ वैशाख २६ गते आइतबारका दिन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोले उनी सोही दिन एम्बुलेन्समा विराटनगर घर लागे । त्यसपछि सोही होटल भएको घरको भवानी फुयाललाई २०७८ जेठ ०२ गते, बेदमाया फुयाललाई जेठ ०४ गते, दिपक फुयाल र जीवन भण्डारीलाई जेठ ०५ गते कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालयले रातो रिबनले होटल तथा घर सिल गरिदियो ।

पाँचथर जिल्लामा पनि कोरोना संक्रमण निक्कै बढिरहेको थियो । सबै मान्छेहरु कसरी सुरक्षित रहने भन्नेमा मात्रै थिए । सामान्य कोरोना संक्रमण भएकाहरुलाई अक्सिजन दिनु पर्दा पाँचथर अस्पतालमा अक्सिजन सिलिन्डरको संख्या कम थियो । त्यसकारण अक्सिजन दिनु पर्ने बिरामीहरुलाई समेत विर्तामोड पठाउनु परिरहेको थियो । त्यति नै बेला पाँचथर उद्योग वाणिज्य संघले २० थान अक्सिजन कन्सन्ट्रेटर मेसिन र ५० थान अक्सिजन सिलिन्डर पाँचथर अस्पताललाई दिने गरी संयोजन गर्‍यो । भोलि आफूलाई पर्न सक्छ भनेर ५,५५८०। सहयोग गरे २०७८ जेठ ०५ गते बुधबारका दिन ।

२०७८ जेठ ०६ गते शुक्रबार बिहानदेखि हाम्रो घरमा बस्ने दिनेश अधिकारी, शिव, बलराम, सञ्जय र पवन राजवंशीसहित कोरोना संक्रमणबाट बच्नको लागि हाम्रै घरमा भात पकाएर खान थाल्यौं । जेठ ०६ गते साँझ चार बजेपछि मेरो शरीरमा कोरोनाको भाइरस सरेको रहेछ मलाई थाहा भएन । मेरो अचानक टाउँको दुख्न थाल्यो । जिउ पनि अलि अलि दुख्न सुरु गर्‍यो । भिक्स लाए, टाउकोमा कपाल तान्दै मुड्कीले चारैतिर हिर्काए । जिउतिर पनि भिक्स लाउदै माडमुड गरे तर पनि दुख्न छाडेन । मेरो शरीरमा कोरोना भाइरस कहाँबाट ? को बाट ? अनि कसरी ? पसेछ भन्ने नै मलाई थाहै भएन ।

२०७८ जेठ ०७ गते शनिबारका दिन टाउको र जिउँ दुखाइमा कम हुनुको सट्टा झन–झन बढ्न थाल्यो । अनि पखाला पनि थपियो । काम गर्न मन लाग्न छाड्यो । खानामा रुची नै भएन । जसोतसो गरेर बिहान विश्वमा भएको कोरोना भाइरसका कारण जम्मा संक्रमित, ०७ गते संक्रमित, जम्मा मृत्यु, ०७ मृत्यु र हालसम्म निको हुनेको संख्या अनि अमेरिका, ब्राजिल, भारत, मेक्सिको, बेलायत, इटाली, रुस, फ्रान्स, जर्मनी, कोलम्विया, स्पेन, इरान, अर्जेन्टिना, पोल्यान्ड, पेरु र दक्षिण अफ्रिकामा कोरोना भाइरसका कारण जम्मा संक्रमित, जम्मा मृत्यु र जम्मा निको भएको संख्याको अभिलेख राखे । बेलुका भने नेपालको कोरोना भाइरसको आज संक्रमित, जम्मा संक्रमित, ०७ गते मृत्यु, जम्मा मृत्यु, ०७ गते निको, जम्मा निको, क्वारेन्टाइनमा बिरामी, आजसम्म जम्मा बिरामी, आज कोरोना परीक्षण र हालसम्मको जम्मा कोरोना परीक्षण, पहिलो चरणको खोप लाउने र दोस्रो चरणको खोप लाउनेको संख्या सकीनसकी अभिलेखीकरण गरे ।

बिहान जसोतसो थोरै भात खाए । दिउँसो तातोपानी खाँदै कोठामै आराम गरे । केले दुखेको होला मेरो टाउको र जिउ भन्ने मात्रै भयो । पखाला लाग्न छाड्दैन । जम्मा तातोपानी मात्रै खाने काम गरे । बेलुका पनि खासै खानामा रुची भएन । दिउँसोभन्दा राति निक्कै साह्रो गरी टाउको र जिउ दुखाइ भयो । पखाला पनि दिनभरिमा पाँच पटकसम्म लागिरह्यो ।

२०७८ जेठ ०८ गते आइतबारका दिन टाउको र जिउँ दुखाइ अनि पखालामा कम भएको छैन । कञ्चनजंघा सहकारीको सचिव एकराज भण्डारीलाई कोरोना संक्रमणका कारण विर्तासिटी अस्पताल विर्तामोडमा उपचार गरिरहेकोले संस्थाको तर्फबाट कति र सञ्चालक समितिको तर्फबाट कति–कति सहयोग गर्नै भनी व्यवस्थापक मणिराज भण्डारीले बैठक बोलाए तर म जान सकिन । प्रेसर बढेर यस्तो दुखाइ भएको होला भनेर बिहानै विश्वको कोरोना भाइरसको अभिलेखीकरण गरेर तातोपानी खाएर आठ बजेतिर तेजबहादुर आङबोसँग फिदिम ०१ मेनलाइनस्थित असिम मेडिकलमा प्रेसर नाप्न गए । नाप्नलाई समस्या हैन तर हामीसँग धेरै मान्छेको सम्पर्क हुने भएकोले भरे तपाईंहरुमा कोरोना भाइरस सर्‍यो भने के हुन्छ । त्यसैले अहिले हामीले प्रेसर नाप्न छाडेका छौं भन्नुभयो । दुखाइ कम गर्ने ब्रुफिन, पखालाको लागि जीवनजल, भिटामिन सी र डी किनेर घर फर्के । मलाई प्रेसरकै कारणले टाउको र जिउँ दुखेको होला भन्ने लागेको छ । त्यसपछि मानदेव केरुङकोमा गएर प्रेसर नापे । प्रेसरमाथि १५२ र तल ९९ थियो । मानदेव केरुङले यो त त्यतिको साह्रो हैन भन्नु भयो । प्रेसरको कारणले टाउको र जिउँ दुखाइ पनि हैन रहेछ ।

दुखाइमा खासै कम भएको छैन । बिहान थोरै खाना खाएर दिनभरि कोठामा तातोपानी खाँदै आराम गरिरहेँ । दिनभरि खासै केही खान मन लागेन तर पखाला भने निरन्तर लागिरह्यो । सकीनसकी नेपालको कोरोना भाइरसको विवरण अभिलेखीकरण गरे । बेलुका बेलैमा थोरै भात र दाल खाएर ब्रुफिन खाएर सुते ।

रातको बाह्र बजेको रहेछ । अचानक निन्द्राबाट ब्यूँझिए । यस्तो टाउको र जिउँ दुखेको थियो कि सबै शरीरबाट रगतैरगत निस्किएर गइराखेको छ जस्तो भयो । दुखाइ कम गर्ने ब्रुफिन खाए । झन–झन साह्रो दुख्छ । दुखाइ त्यस्तो भयो मेरो ५२ वर्षको उमेर भइसक्दा पनि त्यस्तो टाउको र जिउ दुखेको थाहा थिएन । शरीरमा भएको लुगाले छोए पनि दुख्ने, ओछ्याएको लुगाले पनि दुख्ने, एकातिरबाट अर्कोतिर फर्क्यो कि दुखिहाल्ने । दुखाइ कम गर्ने ब्रुफिनले अरु बेला कम गर्थ्यो होला तर मलाई दुखाइको कम नै गरेन । नियमअनुसार त छ घण्टाको फरकमा खानु पर्ने औषधि आधा घण्टाको फरकमा तीन वटा ब्रुफिन खाए तर पनि दुखाइ कम नै भएन । दुखाइ त्यस्तो छ अर्कोतिर पखाला लाग्छ फेरि उस्तै । हुनुपर्ने जति सबै एकैचोटी हुनुपर्ने जस्तो । त्यति नै बेला पिसाब थैली यस्तो पोल्यो कि भनी साध्य नै छैन फेरि पेट दुख्यो उस्तै ।

कपडाले जहाँ छोल्यो त्यही दुख्ने, घडीले छोयो त्यही दुख्ने अनि ओछ्याउने ओढ्ने समेत सबै लुगाले जहाँ छोयो त्यही दुख्ने । दुखाइ कम हुन्छ कि भनेर नुहाउने कोठामा गएर टाउको भिजाए तर पनि दुखाइमा कम भएन । अबचाहिँ मर्छु नै भन्ने भयो । मर्दा पनि शरीरका सबै अङ्गहरु देख्ने भयो दुनियाँले भनेर कट्टुमात्र लाएर शरीरमा लाएको सबै लुगा खोलेर फालेँ । दुखाइ यस्तो छ यस्तो भनी साध्य छैन फेरि त्यति नै बेला पखालाले सताउँछ उस्तै । दुखाइ पनि यस्तो दुखाइ कसैलाई फोन गर्न, तलामुनी झरेर दिनेश अधिकारी, शिव, सञ्जय, बलराम र पवन राजवंशीलाई समेत बोलाउन सकिनँ । बिरामले साह्रो पारेपछि के को घरपरिवार, के को इष्टमित्र, के को धनसम्पति अनि के को किताब लेख्ने होस् हवास उडेपछि सबै बन्द ।

कहिले बेला उज्यालो हुन्छ भनेर पटक–पटक घडी हेर्छु कहिल्यै तीन बज्दैन । दुखाइको कारणले रुनुभन्दा अरु मेरो कुनै विकल्प भएन । दुखाइको कारणले रुँदै–रुँदै लडिरहे । बल्ल–बल्ल बिहान पाँच बज्यो । रातको बाह्र बजेदेखि बिहानको पाँच बजेसम्म छ घण्टासम्म रोएरै बित्यो । उज्यालो हुँदै गएपछि दुखाइमा केही कमी भएजस्तो भयो । उज्यालो हुँदै गएपछि भित्र कोठाबाट बाहिर खाटमा आएर लडे । बाहिर खाटमा लडेपछि निदाउन पुगेछु । व्यूँझिदा त सात पो बजिसकेको रहेछ । उठेर तातोपानी खाए । फेरि त्यति नै बेला पखालाले सताइराखेको । ५२ वर्षको उमेरमा एकैचोटी टाउको दुखाइ, जिउँ दुखाइ, पेट दुख्ने, पिसाब थैली पोल्ने र पखाला लाग्ने अनि खानामा रुची नहुने भनेको पहिलो अनुभव भयो ।

क्रमश: