नेपालमा स्थानीय तह निर्वाचन : मतपरिणाम धमाधम सार्वजनिक

गोर्खा मिडिया संवाददाता
 
 
 

काठमाडौं १४ मे २०२२ । नेपालमा स्थानीय तह निर्वाचनअन्तर्गत मतपरिणाम धमाधम जारी भइरहेको छ । शुक्रबार देशभरका ७५३ स्थानीय तहमा मतदान भएको थियो । मतदानपछि केही स्थानीय तहमा शुक्रबार राति नै र अन्यको शनिबार बिहानदेखि मतगणना सुरु भएका छन् ।

स्थानीय समयअनुसार मध्यान्ह १२: ४५ बजेको परिणाममा नेकपा एमालेले ४ पालिका अध्यक्ष, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले २/२ प्रमुख जितेका छन् । यस्तै उपप्रमुखमा कांग्रेसले ३ र एमाले २ र अन्यले १ स्थानमा विजय प्राप्त गरेका छन् ।

डोल्पाको छार्काताङसोङ गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका सेनाङ गुरुङ, उपाध्यक्षमा एमालेका कर्मढुण्डुप गुरुङ निर्विरोध भएका छन् ।

मनाङको नार्पाभूमिको अध्यक्षमा कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत हुनुभएको छ । उहाँले १५८ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाएका थिए । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो ।

त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । उनले ३२० मतले अध्यक्षमा निर्वाचित भएका हुन् । कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरेका छ्न । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका छन् ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन् । नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गरेका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बनाए । उनका अनुसार अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाए । कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए ।

Leave a Reply

Your email address will not be published.