बिजिडब्लूएसद्वारा ३ जीरलाई स्क्रोल हस्तान्तरण

प्रकाश गुरुङ
 
 
 

लन्डन, १ अप्रिल २०२२ । 2/3 गोर्खा राइफल्सका कमान्डिङ अफिसर कर्णल श्रीकान्त यमडोष्करको धर्मपत्नी पुजा चौधरीले फार्नबोरोस्थित ब्रिटिस गोर्खा भवन र अल्डरसटमा भएको पहिलो गोर्खा भीसी हवल्दार कुलवीर थापाको मूर्ति अवलोकन गरेकी छन् ।

ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लूएस) को निमन्त्रणमा चौधरी पल्टनको ऐतिहासिक स्क्रोल ग्रहण गर्नका लागि गोर्खा भवनमा आएका थिइन् । संस्थाका अध्यक्ष मे. रि. टिकेन्द्र दल देवान जेपी, श्रीमती मिलन देवन, कोषाध्यक्ष टेकबहादुर थापा, प्रवक्ता प्रकाश गुरुङ, सदस्यहरु रामधन राई, पर्शुराम बदगामी, चिजबहादुर गुरुङ, वीरबहादुर राई र कृष्ण राईको उपस्थितिमा उक्त स्क्रोल श्रीमती चौधरीलाई हस्तान्तरण गरिएको हो ।

लगभग १० वर्ष पहिले एक ब्रिटिस परिवारले उक्त स्क्रोल घरको आटीमा फेला परेको र गोर्खाको खुकुरी ब्याजदेखेपछि बिजिडब्लूएस गोर्खा भवनमा बुझाएका थिए । स्क्रोलको अगाडि भागमा 3rd Queen Alexandra’s Own Gurkha Rifles को ब्याज र Deir El Shin, Chieti, Veano, Fontanellato र Switzerland ठाउँहरुको नाम लेखिएको छ । पछाडिको भागमा केही सूचना लेखिएको छ । ग्रे र ममफर्ड परिवारले डिजाइन गरेको अनुमान गर्न सकिन्छ ।

दोस्रो विश्वयुद्धका बेला ले. कर्णेल ग्रे र क्या. ममफर्डसहित उत्तर अफ्रिकामा जर्मन टैंकहरुले मिच्दै गएपछि २०० जना गोर्खा सैनिकहरु युद्धबन्दी भएको रेजिमेन्टल हिस्ट्रीमा लेखिएको छ । बिजिडब्लुएसको बुझाईमा ३ जीआरका लागि उक्त स्क्रोल महत्वपूर्ण हुन सक्दछ । त्यसैले अध्यक्ष मे. रि.देवान जेपीले आफ्नो क्लास मेट रि. कर्णल विक्रम सिङ्ग वर्मा ३ जीआरलाई जानकारी गराए ।

कोभिडका कारण भेटघाट केही वर्ष संभव भएन । सौभाग्यवस् 2/3 जीआरका कमान्डिङको श्रीमती माष्टर्स गर्नका लागि ससेक्स युनिभर्सिटी, ब्राइटन एक वर्षको लागि आएको र छिट्टै केही हप्ताका लागि इन्डिया फर्किदै गरेको खबर पाइयो । आफ्नो रेजिमेन्टको ऐतिहासिक वस्तु लिनका लागि श्रीमती चौधरी तुरुन्तै फार्नबोरो कार्यलायमा आइपुगिन् ।

कामान्डिङको श्रीमतीले अति चासो राखेर मूर्तिको अवलोकन गरिन् । पल्टन र आफ्नो तर्फबाट भीसीको सालिकमा खादा लगाइन् । गोर्खा मिडियासँगको कुराकानीमा चौधरीले भनिन्, “आफ्नै पल्टनको पहिलो भीसीको सालिक देख्न पाउँदा अति गौरवान्वित छु । राम्रो बनाएको रहेछ । हाम्रो इतिहास जीवित राख्नु पर्छ र हाम्रो सन्ततीहरुलाई जानकारी राख्न सालिकले ठूलो भूमिका राख्दछ । सालिक युनिक छ। लडाइँमा घाइते साथीलाई बोकिरहेको सालिकको मर्म बुझ्न सकिन्छ ।’ पुजाले बिजिडब्लूएसका अध्यक्षलगायत सबै सदस्यहरुलाई धन्यवाद दिइन् ।