एनएआरएन युके र एनआरएनए मूल संस्थामाथिका केही सवालहरु

लालबहादुर गुरुङ
 
 
 

गैर आवसीय नेपाली संघ (एनआरएनए) एकले अर्काको अस्तित्व स्वीकार गर्नमात्रै सक्यो भने पनि धेरै हदसम्म हामी उद्देश्य केन्द्रित हुन सक्छौं । एकले अर्कोको आत्मसम्मानमा ठेस पुर्‍याउने काम नगर्ने र गल्ती गर्नेले पनि बोध गर्न सक्यो भने लक्ष्यको एउटै राजमार्गमा हिँड्न सक्छौं । जित्नेले आफूलाई मात्रै महान् सोच्ने र हार्नेले हारलाई स्वीकार गर्न सकेन भने एनआरएनएमात्रै होइन, हरेक संघ संस्थामा अराजकता हाबी हुन्छ भन्ने तत्वबोध गर्न जरुरी छ । यो संस्थाको गरिमा घटाउनु हुन्न भन्ने सबैको मनमा रहेर सकारात्मक सोंच राख्नु अत्यन्तै जरूरी छ र एनआरएनए कुण्ठा र अस्वच्छ प्रतिस्पर्धा गर्ने थलो होइन भन्ने बोध सबै संस्थालाई माया गर्नेहरुको मनमा छ । त्यसैले त संस्थाको गरिमा बढाउनेबारे धेरैको मनमा चिन्ता पनि छ ।

एनआरएनए सन् २००३ को अक्टोबर ११ देखि १४ सम्म भएको एनआरएनको पहिलो सम्मेलनको नारा थियो, ‘नेपालीका लागि नेपाली ।’ तर, आज के साँच्चै एनआरएनए नेपालीका लागि नेपाली भन्ने नाराजस्तै लक्ष्य केन्द्रित नै छ त ? यसप्रति मूल नेतृत्व र सबै देशका एनआरएनको नेतृत्व गरिरहेकाहरुले गम्भीर समीक्षा र आफैंलाई प्रश्न गर्नुपर्ने देखिएको छ ।

आज संस्था विश्वभर त फैलिएको छ तर चुनौती र प्रश्नहरु पनि अग्ला भएका छन् । एनआरएनहरुमाथि आज प्रश्न उठिरहेको छ, संस्थालाई किन राजनीतिक खिचातानीको थलो बनाइयो ? मूल नेतृत्व र यसका अगुवाहरुलाई आम गैरआवसीयले प्रश्न गरिरहेका छन्, सीमित समूहको स्वार्थ पूरा गर्ने मैदान एनआरएनएलाई किन बनाइँदै छ ? सुरुका दिनमा एनआरएनएप्रतिको आकर्षण किन दिनानुदिन खस्किरहेको छ ?

आम गैरआवसीय नेपालीहरुको साझा समस्या हल गर्नेतर्फ किन एनआरएनएले प्रयत्न गरिरहेका छैनन् ? एनआरएनएमाथि सधैं किन आर्थिक पारदर्शिताको प्रश्न खडा भइरहन्छ ? एनआरएनएको नागरिकताको विषयलाई किन गम्भीरतापूवर्क लिइँदैन ? किन मतदानको विषय किन जोडतोडका साथ उठिरहेको छैन ? एनआरएनएहरुको सामूहिक लगानी र त्यसको वातावरणको विषय किन ओझेलमा परिरहेको छ ? जुन हिसाबले ज्ञान, सीप, लगानी भित्र्याउने कुरा एनआरएन नेतृत्वले गर्दै आयो, त्यो किन सन्तोषजनक छैन ? आज किन संस्थाको वैधानिकता, यसको औचित्य र दायित्वमाथि प्रश्न उठिरहेको छ ?

एनआरएनए स्थापनाको उद्देश्यअनुरूप नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा किन योजनाबद्ध योगदान दिन सकिरहेका छैनौं ? यसको सोझो उत्तर हो, हामी लक्ष्यबाट स्वार्थकेन्द्रित खेलमा लागिरहेका छौं । हामी राजनीतिक आस्था र स्वच्छ प्रतिस्पर्धालाई अवमूल्यन गरिरहेका छौं । हामीले संस्थामा अस्वस्थ राजनीति घुसायौं, हामीले स्वार्थ घुसायौं, हामी अर्काकै गोटी बनिरह्यौं । यसो भनिरहँदा म पनि एनआरएनएकै मूल छातामुनिको एउटा नेतृत्वमा छु । म मूल नेतृत्वसहित सबैलाई आह्वान गर्न चाहन्छु, राजनीति, स्वार्थ, कुण्ठा, हेय, अस्वस्थ प्रतिस्पर्धा त्यागेर सामूहिकतामा जाऔं, अझै पनि संस्थालाई मर्यादित बनाउन सकिन्छ । केही बिग्रेको छैन, एनआरएनएको मूल प्रवाहले धेरै परिवर्तन ल्याउन सकिन्छ । हाम्रा साझा समस्याहरु हल गर्न सकिन्छ । एकअर्काको अस्तित्व स्वीकार गरौं, लोकतान्त्रिक पद्धति र मूल्य मान्यताको अनुशरण गरौं, हाम्रो महान् लक्ष्य प्राप्ति गर्ने राजमार्ग एउटै हुनेछ ।

मुख्यतय संस्थहरु हजारौं जन्मन्छन् तर थोरैले मात्रै उद्देश्य प्राप्ति गरेका हुन्छन् । आउनुस्, हामी संस्था स्थापना गरिराखेको विशाल लक्ष्यलाई पूरा गर्न सक्षम छौं भनेर प्रमाणित गर्न लागौं । त्यसका लागि सिर्जनशील अभियान थालौं ।
(लेखक एनआरएनए इंग्लयाण्ड राज्य परिषद् युकेका अध्यक्ष हुन् ।)