विदेशबाट फर्किएर कल्चर गीत, संगीतमा लागेको हुँ : निर्देशक गुरुङ [अन्तर्वार्ता]

गोर्खा मिडिया संवाददाता
 
 
 

पछिल्लो समय कल्चरल म्युजिक भिडियो निर्देशनका अब्बलमध्येका एक हुनुहुन्छ, दिप गुरुङ । गोरखा सिरानचोक गाउँपालिका २ मा जन्मी-हुर्केका उहाँ ६ वर्षदेखि निर्देशन पेसामा निरन्तर लागिराख्नुभएको छ । तर, उहाँले नृत्य निर्देशकको रुपमा कला क्षेत्र अँगाल्नुभएको भने दुई दशक नाघिसक्यो । गुरुङ कलाकार संघ, पश्चिमाञ्चल कल्चर ग्रुप, गोरखा सांस्कृतिक समाजलगायत संघ संस्थामा आबद्ध उहाँ पेसाले घरजग्गा व्यवसायी हुनुभए पनि इच्छा र सामुदायिक दायित्वबोधका कारण कलाकारितामा खटिइरहनुहुन्छ । पर्दा पछाडिको जिम्मेवारी भए पनि चिनजान धेरैसँग हुनुले जोसजाँगर त बढेको छ नै कुनै-कुनै महिनामा हुने दुई/तीन लाख रुपैयाँसम्मको कमाईले सन्तुष्टि मिल्ने गरेको सुनाउनुहुन्छ, निर्देशक गुरुङ । लोकप्रिय निर्देशक दिप गुरुङसँग गीत, संगीतका विषयमा गोर्खा मिडियाका लागि गरिएको कुराकानी ।

अचेल केमा व्यस्त हुनुहुन्छ ?
विशेषगरी म मौलिक गीत, संगीतमै छु । कल्चरल गीतको निर्देशन, कोरियाग्राफी गर्छु । म पञ्चिमाञ्चल कल्चर ग्रुपको नृत्य निर्देशक पनि हुँ । हाम्रो साविकको पश्चिमाञ्चलकै साथीभाइ मिलेर गुरुङ समुदायमा आधारित नेपाली भाषाको चलचित्रको तयारी गर्दैछौं ।

नाम सार्वजनिक गर्न मिल्छ चलचित्रको ?
लेडिजको नामबाट ‘नैना’ चलचित्र बनाउँदैछौं । यसमा तीन/चार जनाको सहकार्य छ । फागुनमै छायांकन गर्दैछौं । ठाउँ भने हामीले गोरखा सिरानचोक नै रोजेका छौं ।

तपाईंले पहिलो चलचित्र बनाउँदै हुनुहुन्छ, नैनाबाट दिन खोज्नुभएको सन्देश के हो ?
एक केटी मान्छे वा छोरीले जन्मेदेखि आफ्नो जीवनमा बाल्यकाल, किशोरी अवस्था त्यसपछि वैवाहिक जीवनमा बाँधिनुपर्छ । विवाहपछि कसरी घर चलाउनुपर्छ ? घरव्यवहार सम्हाल्ने क्रममा हुने घटनालाई समेटेर मीठो र राम्रो चलचित्र बनाउने तयारीमा छौं हामी । तर, कस्तो हुन्छ, हेर्दै जाउँ ।

लेखन, निर्देशन क-कस्को छ ?
कथावस्तु लेखन जनक गुरुङ दाइले गर्नुभएको छ । उहाँ ठूला पर्दाको फाइट डाइरेक्टर पनि हुनुहुन्छ । पछिल्लो समय आठ/दसवटा गुरुङ मुभी गर्नुभएको छ । उहाँको स्टोरीलाई मैले निर्देशन गर्दैछु ।

कोरोना महामारी कायमै छ । कल्चर मुभीहरु ठूलो हलमा चल्न सकिरहेको छैन । यस्तो अवस्थामा फिल्मले बजार लेला त ?
व्यावसायिकरुपमा भन्दा पनि हामीले आफ्नो भाषा, संस्कृति जोगाउनुपर्छ भन्ने हिसाबले चलचित्र निर्माण गर्न लागिएको हो । हुन त, लगानी गरिसकेपछि हलमा देखाउने र केही खर्च उठाउने कोसिस त हुन्छ नै । रकम उठे नि, नउठे नि केही छैन । हामीले फाइदाका लागि फिल्म बनाउन लागेका होइनौं ।

यसअघि म्युजिक भिडियो अनि कुन कुन चलचित्रमा काम गर्नुभयो ?
चलचित्र त मेरो पहिलो नै हो । म्युजिक भिडियोमा चाहिँ मेरो विशेषगरी कल्चरल हो । कल्चरलमा अहिलेको चलेको गीत ‘माया रिमै’। त्यस्तै कौडा बेसी छ । अनि झ्याउरे र ठाडो भाका । अहिले लमजुङे, गोर्खाली ठाडोभाका गर्नेक्रममा छु । पछिल्लो समय निस्केको र चर्चामा रहेका ठाडोभाका ८/१० वटा नै मैले गरेको छु । ठाडोभाका त्यसै नै टिपिकल झल्काउने भइहाल्यो । गीत सुन्नेमात्रै होइन, अहिले हेर्ने जमाना भएकोले म्युजिक भिडियोमा लाइभ गाएको जसरी नै हामीले प्रस्तुत गरेका छौं । कल्चर गीतमा सायद पहिलोचोटी होला, पछिल्लो समय चिज गुरुङ र चिजा तामाङले गाएको गोर्खाली ठाडोभाका । त्यस्तै चरी बस्यो बाँसैको सै सैमा, छुट्यो माया, लाहुरेको कर्म चलेकोमा पर्छ ।

पछिल्लो समय यूकेमा रहनुभएका हाम्रो मिलन तमु दाइसँग पहिलो पटक सहकार्य गर्ने मौका पाइयो । उहाँको रोधीघर भाग ३ (जाला उमेर)मा निर्देशन, कोरियोग्राफी मैले गरेको छु । र, हाम्रै पश्चिमाञ्चल कल्चर ग्रुपका भाइबहिनीहरुको नृत्य । अहिले कम्पिटीसनको जमाना । कल्चर पनि नमरोस्, जे चिज पनि टक्क खोज्छ । स्पेसल्ली म ड्रेसलाई ध्यानमा राख्छु । अहिलेको जमानामा केटाकेटीको ड्रेस म्याचिङदेखि लिएर गरगहनामा मैले भयंकर मिहिनेत गरेको छु । सबैले मन पराइदिनुभएको छ । राम्रो पनि बनेको छ । अहिले प्रायःले गाउँ चिनारी गीतहरु बनाउँछन् । तीन वर्ष अगाडि मैले सिरानचोके चेली बनाएको थिएँ । त्यो नि सबैले मन पराइदिनुभा’छ । अहिले मलाई नै कल्चर गीतका लागि अनुरोध आइरहन्छ ।

कलाकारितामा लाग्ने तर व्यावसायिकरुपमा लाग्नुपर्छ भन्ने सोच नहुँदा गुजारा चलाउन अप्ठेरो पर्दैन ?
खासमा म डाइरेक्सनमा लागेको ६ वर्षजति भयो । नृत्यतिर लागेको दुई दशकभन्दा बढी भयो । पछिल्लो समय १०/१२ वर्ष विदेशिएँ पनि । विदेशबाट फर्किएर यो लाइनमा लागेको हुँ । पहिलेदेखि नै आफ्नो कल्चर जोगाउनुपर्छ भन्ने इच्छा थियो । रमाइलो पनि गर्नुपर्छ भन्दै हिँड्दा-हिँड्दा आखिरमा यही क्षेत्रमा लागियो । मैले दाम कमाउनुभन्दा पनि सबैले चिन्नुहुन्छ । साइटमा घरजग्गा व्यवसाय गरेर इच्छा पूरा गर्ने हिसाबले चलचित्र क्षेत्रमा यहाँसम्म आइपुगेको हुँ । त्यसकारण मलाई अहिलेलाई गाह्रो छैन । सायद भविष्यमा पनि गाह्रो नपर्ला ।

कल्चर गीत, संगीत क्षेत्रलाई व्यावसायिकरण गराउन कत्तिको आवश्यक देख्नुहुन्छ ?
मानौं, कुनै कल्चर गीतमा भाइबहिनीहरु नचाउँछौं । त्यसमा गीतले मात्रै हुँदैन, नृत्य चाहियो, मोडल चाहियो । तर, अहिले गाउने मान्छे नै मोडलमा, मोडलले काम नपाइरहेको अवस्था । कोहीले नृत्यको ‘न’ सिक्नु भएको छ कि छैन । उनीहरु भाइरल भइरहेका छन् । उसलाई साधनाको ‘स’ थाहा छैन । यसले गर्दा व्यावसायिक रुपमा जाने नृत्य र मोडलिङका भाइबहिनी, दाजुदिदीहरु सबैलाई गाह्रो छ नै । तर, अहिले नृत्यमा पनि एउटा गीतबराबर पाउनुपर्ने रेट तोकिँदै छ भन्ने सुनेको छु । विस्तारै प्रणाली बस्ला ।

कल्चर बचाउनपर्छ भनेर धेरै स्रष्टा र कलाकार लागिरहनुभएको देखिन्छ, त्यसको परिणाम कत्तिको पाउनुभएको छ त ?
जे चिज पनि भनेर मात्रै भएन । मैले कल्चर गीत गाउँ गाउँ गएर छायांकन गर्दैछु । हेर्दा त भिडियोमा सरर देखिन्छ तर कसरी खिच्यो, कसरी गर्‍यो भन्ने थाहा हुँदैन । गाउँमा गएर स्थानीयको अगाडि म्युजिक भिडियो कसरी छायांकन गर्दैछ, हाम्रो कल्चरलाई कसरी समेट्दोरहेछ ? भन्ने कुरा पछि-पछि थाहा हुँदै गएको छ । थाहा भएपछि दुःख हुँदोरहेछ । यो गर्नलाई पनि गाह्रै हुँदोरहेछ भनेर उहाँहरुले धनले नसके पनि खाना, बस्न दिएर सहयोग गर्न थाल्नुभएको छ ।

हाम्रो कल्चरका लागि हामीले के गर्नुपर्‍यो भनेर उहाँहरुले सहयोग वचन दिन थाल्नुभएको छ । जेहोस्, अलि सपोर्टचाहिँ उहाँहरुले गर्न थाल्नुभएको छ गाउँबाट । पहिले त प्रायः काठमाडौंलगायत सहरी क्षेत्रकै घरहरुलाई गाउँजस्तो बनाएर छायांकन गरिन्थ्यो ।

व्यक्ति र सम्बन्धित समुदाय कल्चर बचाउनुपर्छ भनेर लागिरहनुभएको छ । राज्यको तर्फबाट केही योगदान देख्नुहुन्छ ?
हाम्रोमा नेताले होस् या अरुले आफ्नालाई मात्रै प्राथमिकता दिएको देख्छु । कतै महोत्सव भइरहेको हुन्छ, मुख्यगरी मानिसको भीड चाहिरहेको हुन्छ नेताहरुलाई । सबै जातजातिलाई जम्मा गरौं र भव्यरुपमा सफल पारौं भन्ने हुन्छ । नेताहरु कार्यक्रममा जाने, भाषण गर्ने गर्नुहुन्छ तर हाम्रो कल्चरलाई बुझ्ने कोसिस गरिरहेका हुँदैनन् । महोत्सवहरुमा नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकालगायतले सबै जनजातिलाई समेटेर आफ्नो कल्चरहरु ल्याउनुपर्‍यो भनेर । तर अतिथिहरुले कार्यक्रममा जाने, भाषण गर्ने अनि हिँडिदिने गर्नाले उहाँहरुबाट कल्चर जोगाउने सवालमा त्यत्ति सपोर्ट भएको लाग्दैन मलाई ।

यस क्षेत्रमा लाग्नका लागि नयाँ पुस्तालाई के सुझाव दिनुहुन्छ ?
यसमा जानेर, बुझेर आउनुभए राम्रो । आफ्नो कल्चर बचाउँछु । कला, संस्कृति, धर्मलाई बचाउँछु मात्रै भनेर भएन । मैले पनि एकदमै सिकेर आएको त होइन । भनिन्छ, ‘कि परेर जानिन्छ, कि त पढेर जानिन्छ’ । म चाहिँ परेर आएको हुँ । सानैदेखि पूजाआजामा, भोजभतेरमा नाचगान गर्दागर्दै आफैं सिकेर आएको हुँ । अहिले मसँग कल्चरसम्बन्धी नै धेरै ज्ञान रह्यो । भाइबहिनीहरुलाई भन्न चाहन्छु, आफू अब्बल वा राम्रै भयो भने भविष्य यस क्षेत्रमा पनि छ । हैन, अरुको देखासिकी गरेर एक/दुई म्युजिक भिडियो खेलेरमात्रै भविष्य बन्दैन । जेहोस् सिकेरै आउनुपर्‍यो, राम्रै छ धैर्य गर्न सकियो भने ।

यो क्षेत्रमा कर्म गरिरहँदा तपाईं सन्तुष्ट हुनुहुन्छ ?
म यस क्षेत्रमा लागेको ५/६ वर्ष भयो । यहाँसम्म आइपुग्दा सन्तुष्ट नै छु । मेरो विधा कल्चर हो, कल्चरमा विशेषगरी लिंककै मान्छे आउने हो । आफन्त, चिनजानका साथीभाइ, मेरो काम देखेर आउनुहुन्छ । पहिले गुरुङ, मगर आउनुहुन्थ्यो भने अहिले कल्चर गीत त दिप गुरुङले पो राम्रो निर्देशन गर्नुहुँदोरहेछ भनेर चिन्दैनचिन्ने मान्छेहरुले पनि फोन गर्नुहुन्छ । कल्चरमा जताततै दिपैदिप भन्छन्, लौन तपाईंले गरिदिनुपर्‍यो मेरो यो गीत भनिरहनुहुन्छ । गीतले मौलिकता मागिरहेको हुन्छ । गाउँघरको डाँडाकाँडा सिन मागिरहेको हुन्छ । कल्चर गीतले त्यही माग्ने हो । भिडियो गर्न गाउँ जानुपर्ने उहाँहरुले काठमाडौंमै गर्ने रे ! काठमाडौंमा पुराना घरहरु नै छैन । भित्ता भित्तामा घडेरी बनाइसकेको छ यहाँ । अनि हामीले कसरी छायांकन गर्ने ? मैले भन्ने गरेको छु, यस्ता गीतहरुका लागि गाउँमा जाउँ । गाउँमा गए पो गीतहरुले मागेको सिनहरु पाउँछ, बल्ल गीतलाई न्याय पुग्छ । यस्तो गीत छ भने हाम्रो कन्सेप्टमा गइदिनुहुन अनुरोध गर्छु ।