तमु प्ये ल्हु संघ यूके जुन अवस्थामा आइपुगेको छ, मलाई खुसी लाग्छ [अन्तर्वार्ता]

गोर्खा मिडिया संवाददाता
 
 
 

कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसमा जन्मनुभएका मेजर खुशीमान गुरुङ (एमभिओ) ब्रिटिस गोर्खा सेनाबाट अवकाशपछि सामाजिक काममा सक्रिय हुनुहुन्छ । प्रवेशिका परीक्षा (एसएलसी) पछि १८ वर्षमै ब्रिटिस गोर्खा सेनामा भर्ती हुनुभएका मेजर गुरुङले हङकङ, ब्रुनाइ, यूकेलगायत देशमा सेवा गर्नुभयो । साढे तीन दशकको सैनिक सेवाको अवकाशपछि उहाँ परिवारसहित बेलायतमा बस्दै आउनुभएको छ ।

अहिले व्यवसाय र समाजसेवीको रुपमा पहिचान थप्नुभएका मेजर गुरुङ तमु प्ये ल्हु संघ यूकेको पूर्वअध्यक्ष र वर्तमान प्रमुख सल्लाहकार हुनुहुन्छ । त्यस्तै गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका सल्लाहाकार, ल्हेंगे तमु समाज बेलायतका अध्यक्षसमेतको जिम्मेवारी सम्हालिरहनुभएका मेजर गुरुङ कास्कीको माछापुच्छ्रे गाउँपालिका र बेलायतको ब्रेकन सहरबीच भगिनी सम्बन्ध स्थापित गराउन सफल व्यक्तित्व पनि हो । सैनिक सेवा र सामाजिक कर्ममा अथक् र बेग्लै पहिचान बनाउन सफल मेजर गुरुङसँग पछिल्लो पटक नेपाल भ्रमण, ‘नेपाली भिलेज’को अवधारणालगायत विषयमा अञ्जु तामाङले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना महामारीबीच नेपाल आउनुभयो, संस्थागत कि पारिवारिक कामले ? 
झण्डै तीन हप्ताका लागि नेपाल आएका हौं । यो बीचमा केही पारिवारिक र केही संस्थागत काम भएको छ । मेरो ससुरा स्व. रन्जित गुरुङको स्मृतिमा बगरभाइ खलक पोखराले हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । यो पाँचौं र अन्तिम वर्ष भएको हुँदा हामीले यस कार्यक्रमलाई विशेष महत्व दिएर नेपाल आयौं । साथै अन्य धेरै कार्यक्रमहरु पनि थपिए । ती कार्यक्रममा सरिक भयौं । नेपाल बसाईको समयमा निकै व्यस्त पनि भयौं ।

नेपाल बसाईको तीन हप्ताको समय निकै फलदायी भएको छ । धेरै समय मेरो गाउँ धम्पुसमा बिताउने र त्यहाँका कार्यक्रमहरुमा सहभागी हुने मौका पाएँ । जसमा गाउँमा रहेको कच्चीबाटोलाई पक्की बनाउने धेरै वर्ष पहिलादेखिकै अभियान थियो । अभियानमा संकलन भएको रकम कसरी हस्तान्तरण गर्ने भन्ने विषयमा छलफलमा जुट्ने अवसर मिल्यो । धम्पुसकै तर बेलायतमा बस्ने दाजुभाइहरुको तर्फबाट एउटा पार्क पनि निर्माण गर्ने जसले गर्दा बेलायतमा बस्ने धम्पुसेहरुको केही योगदान देखियोस् भन्ने पनि हो । साथै धम्पुसमा रहेको पृथ्वीनारायण माविलाई प्लस टु बनाउने र  होटल म्यानेजमेन्ट कलेज पनि त्यहाँ सञ्चालन गर्ने, त्यो पर्यटकीय स्थल भएकोले म्यानेजमेन्ट कलेज पनि आवश्यकता हो जस्तो हामीले ठान्यौं । कलेजको बारेमा पनि छलफल भयो ।

स्व.डा हर्क गुरुङ प्रतिष्ठानले उहाँकै गाउँमा एउटा गुरुयोजना बनाउँदै छ भन्ने खबर पाएपछि हाम्रा दाजुभाइले बेलायतमा संकलन गरेको रकम उहाँकै जन्मथलो लमजुङको ङादीस्थित ताङ्लीचोक गएर हस्तान्तरण गर्ने कार्यक्रम पनि भयो ।  साथै सहारा क्लब पोखराले आयोजना गरेको ‘आहा रारा गोल्डकप २०२२’मा सहभागी हुने अवसर पनि मिल्यो । यी लगायत संस्थागत कामका छलफल र पारिवारिक काममा व्यस्त भएँ ।

ब्रिटिस आर्मीबाट अवकाशपछि सामाजिक काममा लागिराख्नु भएको छ । त्यसमा पनि गुरुङ समुदायको संस्कार, संस्कृति संरक्षण प्रवद्र्धन, विकासलाई प्राथमिकतामा राख्नुभएको देख्छु । अहिलेसम्म आउँदा बेलायतवासी गुरुङ समुदायमा कत्तिको प्रभाव पाउनुहुन्छ ? 
हामी नेपालमा हुँदा विशेषगरी गुरुङहरु आफ्नो संस्कार, संस्कृतिको बारेमा त्यत्ति धेरै चिन्ता हुँदैनथ्यो । विदेशलाई कर्मथलो बनाएपछि संस्कार, संस्कृति कसरी भावी सन्ततीलाई हस्तान्तरण गर्ने, उनीहरुले लिने वातावरण कसरी सिर्जना गर्ने भन्ने सवालमा हामी एकदमै चिन्तित छौं । मैले पनि अवकाश प्राप्त गरेपछि सक्रियरुपमा संवद्र्धन, प्रवद्र्धन र विकास गर्नुपर्छ भन्ने पक्षमा समय दिइरहेको छु । त्यसै क्रममा गुरुङहरुले मात्रै नभई यूकेलाई कर्मथलो बनाएका सबै नेपालीहरु संरक्षण गरेर कसरी हस्तान्तरण गर्ने भन्ने सवालमा चिन्तित भएको मैले पाएको छु ।

मैले सुने अनुसार बेलायतमा तपाईंले ‘नेपाली भिलेज’ अवधारणा पनि अघि सार्नुभएको भन्ने छ, यसबारेमा प्रस्ट पारिदिनु न ? 
यो अवधारणा प्रारम्भिक अवस्थामा छ । बेलायत साथसाथै नेपालको पर्यटन प्रवद्र्धनमा कसरी टेवा दिन सकिन्छ भनेर विभिन्न कार्यक्रमहरु अगाडि बढाएका छौं । जस्तै ‘हाइक फर नेपाल’ भनेर हरेक वर्ष आयोजना गरिन्थ्यो । त्यहाँ सयौं नेपालीहरु विभिन्न ठाउँबाट उपस्थित हुनुहुन्थ्यो भने स्थानीय व्यक्तिहरुको पनि उपस्थिति हुन्थ्यो । जसले ‘भिजिट नेपाल २०२०’ लाई पनि धेरै तयारी गरिसकेको अवस्था थियो । तर, कोरोनाको कारणले हुन सकेन ।

नेपाली भिलेजको मुख्य उद्देश्य भनेको वेल्स अर्थात् ब्रेकनको वरिपरि कुनै एउटा ठाउँ त्यस्तो खालको सुविधा दिलाउन सकौं जसमा हाम्रो नेपाली र त्यहाँका स्थानीय व्यक्तिहरु सो ठाउँमा आउँदा नेपालको कुनै एउटा ठाउँमा पुगेको भान होस् भन्नका लागि हामीले त्यो अवधारणालाई अगाडि बढाएका छौं । ११ जनाको समिति गठन भएको छ । त्यसको नेतृत्व गर्ने अवसर मैले पाएको छु । कम्पनी पनि दर्ता भइरहेको छ । विभिन्न कानुनी प्रक्रियाहरुलाई पूरा गरिसकेका छौं  । अबको २ देखि ३ हप्तामा यसबारेमा अन्य व्यक्तिहरुलाई पनि विशेष जानकारी उपलब्ध गराउने छौं ।

कास्कीको माछापुच्छे गाउँपालिकाको धम्पुस र बेलायतको ब्रेकन सहरबीच भगिनी सम्बन्ध जोड्न यहाँले ठूलो भूमिका निर्वाह गर्नुभयो, यो कार्य कसरी सफल गराउनुुभयो ?
मैले १८ वर्षको उमेरमा नेपाल छोडेको यहाँले सुरुवातमा पनि जानकारी गराउनु भयो । त्यो अवधिमा मैले हङकङ, ब्रुनाईदेखि विशेषगरी बेलायतमा धेरै समय बिताउने अवसर मिल्यो । मेरो कामको सिलसिलामा बेलायतको हरेक ठाउँमा बस्ने अवसर मिल्यो । ब्रेकनमा मैले ९ वर्ष बसिकेको छु । ब्रेकनको अन्य सहरहरुसँग पनि भगिनी सम्बन्ध स्थापित भइसकेको थियो । मलाई नेपालका कुनै सहरसँग भगिनी सम्बन्ध खडा गर्नुपर्छ भन्ने मनमा लाग्यो । त्यसपछि एक जना काउन्सिलरसँग कुरा गरेँ, उहाँ र म मिलेर भगिनी सम्बन्धको प्रक्रियाको लागि १८ महिना लाग्यो । किनभने पहिला अन्य गाउँ र सहरसँग भगिनी सम्बन्धको बारेमा सुनिन्थ्यो ।

सन् २०१९ मा ब्रेकन र वेल्स अनि धम्पुसबीचको भगिनी सम्बन्ध दुई सहरको अध्यक्षहरुको बीचमा हस्ताक्षर गराएर यो सम्बन्धलाई खडा ग¥यौं र त्यसको ६ महिनापछि ब्रेकनले पनि कार्यक्रम आयोजना गरेर बेलायतमा बस्नुभएका धम्पुसेहरु सबैजनालाई निमन्त्रणा गरेर सम्बन्धको बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा ११० जनाभन्दा धेरै धम्पुसेहरुको सहभागिता रहेको थियो । त्यसपछि सन् २०२० मा धम्पुसमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका थियौं । बीपी कोइराला क्यान्सर अस्पतालको सहयोगबाट शिविर सम्पन्न भएको थियो । थाहा फाउन्डेशनको पनि ठूलो सहयोग थियो । कोभिडको कारणले गर्दा त्यस पछिका कार्यक्रमहरु अघि बढ्न सकेको छैन ।

ब्रेकन र धम्पुसमा टुईनिङ कमिटीहरु रहेका छन् । ब्रेकनमा रहेका कमिटीले कोरोनाको समयमा केही रकमहरु संकलन गरेर अक्सिजन कन्सन्टे«टर साथै कोभिडले ग्रस्त भएको परिवारलाई राहत दिन रकम पनि उपलब्ध गराएको थियो भने धम्पुसले पनि ब्रेकनलाई के सहयोग गर्न सक्छ त्यो पनि दिइने छ । भविष्यमा शिक्षा, स्वास्थ्य, खेलकुदको विषयमा यो दुई सहरको बीचमा सहयोग आदानप्रदान गर्नुपर्छ भन्ने भावना लिएका छौं ।

भगिनी सम्बन्ध स्थापित भएको साढे दुई वर्ष हुन लाग्यो, यसबीचको उपलब्धि र नयाँ कार्य के छन् ? 
नेपालमा रहेका भगिनी सम्बन्धका अध्यक्ष र केही मुख्य व्यक्तिहरुसँग पनि कुरा गरेको थिएँ । भगिनी सम्बन्ध भनेको भावनाको सम्बन्ध हो । त्यही सम्बन्धलाई गाढा बनाउँदै विश्वास दिलाउन सकेको खण्डमा व्यवहारिक पनि हुन्छ । उदाहरणका लागि, कोरोनाको समयमा ब्रेकनबाट धम्पुसमा धेरै सहयोग आएको थियो । कोरोना भएका परिवारलाई पनि राहत प्रदान गरिएको थियो ।

सम्बन्ध अथवा सहयोग एकतर्फी हुँदैन भन्दै आइरहेको छु । विदेशबाट मात्रै सहयोग आइरहने र हामी नेपालीले केही दिन नचाहने होइन । हामीले पनि केही गर्न र दिन सक्ने अवस्था छ । चाहेमा आर्थिक सहयोगदेखि आफ्नो गाउँठाउँमा भएको उत्पादनलाई निर्यात गर्न सक्ने भएकोले अबको हाम्रो लक्ष्य भनेको विभिन्न बैठकहरु जुममै भए पनि आयोजना गर्ने र धम्पुसमा उत्पादन हुने कफी, चियालगायत चिजविजलाई पनि ब्रेकनमा निर्यात अथवा यूकेमा निर्यात प्रबन्धको लागि सहयोग माग्ने । साथै शिक्षा, खेलकुद, स्वास्थ्य क्षेत्रमा पनि ब्रेकनबाट धम्पुसमा मद्दतको कुरा गर्न सकिन्छ ।

बेलायतको विद्यार्थीलाई पनि धम्पुसमा ल्याउने र धम्पुसबाट पनि बेलायत पठाउन पनि सकिन्छ । त्यहाँका विद्यार्थीलाई पनि नेपालको शैक्षिक प्रणाली कस्तो हुन्छ भन्ने बारेमा बुभ्mने अवसर मिल्छ भने नेपालका विद्यार्थी पनि ब्रेकन जाँदा त्यहाँको धेरै कुराको बारेमा जानकारी लिन सकिन्छ । सन् २०२० मा ब्रेकनका एक जना विद्यार्थीलाई धम्पुसमा ल्याएका थियांै । झण्डै ४ दिनको समय त्यहाँ बिताएपछि धेरै अनुभव लिएर फर्किनुभएको थियो । फर्केपछि अन्य विद्यार्थी साथीहरुलाई पनि धम्पुसको शिक्षा अवस्था र अन्य कुराको बारेमा जानकारी गराएको पाएँ ।

भगिनी सम्बन्ध स्थापित भएपछि एकतर्फीमात्रै होइन दुुवै तर्फीबाट विभिन्न कार्यक्रम योजना र सहयोगलगायतका कार्य गर्नुपर्छ र जरुरी पनि छ ।

तमु प्ये ल्हु संघ यूकेको प्रमुख सल्लाहकार र पूर्वअध्यक्ष पनि हुनुहुन्छ, संघको अहिलेको अवस्था कस्तो छ, नयाँ कार्यसमितिको गतिविधिलाई कसरी नियालिरहनुभएको छ ? 
अवकाश प्राप्त गरेपछि संघको नेतृत्व गर्नुपर्ने विषयमा धेरै अग्रजहरुले अनुरोध गर्नुभयो । सन् २०१७ देखि २०२१ सम्म मैले अध्यक्षमा रहेर काम गर्ने अवसर प्राप्त गरँे ।  यो ४ वर्षको दौरानमा मैले ३५ वर्ष ब्रिटिस आर्मीमा सिकेको कुराहरुलाई सदुपयोग गर्ने मौका मिल्यो । जसले गर्दा संघ संस्थाको हिसाबबाट अगाडि बढोस् भन्ने मेरो उद्देश्य थियो । संघ संस्थागत र पारदर्शी तरिकाले अगाडि बढ्नु पर्छ भन्ने कुरालाई जोड दिएँ । अहिले जुन अवस्थामा तमु प्ये ल्हु संघ यूके छ त्यो देखेर मलाई गर्व लाग्छ । हुन त, विगतको नेतृत्वले पनि कोसिस नगर्नुुभएको भन्न खोेजेको होइन । उहाँहरुको पनि ठूलो योगदान छ ।

प्रमुख सल्लाहकार भएको हिसाबले संघले के, के विषयलाई प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ ?
तमु प्ये ल्हु संघको मुख्य उद्देश्य भनेको गुरुङ समुदायको मौलिक संस्कार, संस्कृति, संरक्षण, संवद्र्धन र प्रवद्र्धन र विकास साथै बेलायतमा भएको हुँदा समाजसेवाको कामलाई पनि साथसाथै लैजानु पर्छ भन्ने उद्देश्य हो । यी उद्देश्यहरुलाई लिएर अगाडि बढ्ने क्रममा सबैभन्दा पहिला धेरै गृहकार्य गरेर अगाडि बढायौं । गुरुङको क्होइबों अर्थात् मन्दिर भनिन्छ त्यसलाई । र, सामुदायिक भवन आवश्यक छ । जन्मदेखि मृत्यु हुँदासम्म पनि नभई नहुने हुँदा त्यसमा विशेष ध्यान दिएका थियौं ।

गुरुङहरुको पुरेत अथवा गुरुहरु हुन्छन् । उहाँहरुको गुरुङको हरेक कार्यमा ठूलो भूमिका हुन्छ । यूकेमा मात्रै नभई नेपालमा पनि उहाँहरुको संरक्षण र विकास गर्नुपर्छ भनेर यो कुरालाई पनि ध्यानमा राखेका छौं ।
हाम्रो भावी पिढीलाई संस्कार, संस्कृतिको बारेमा कसरी बुझाउन सकिन्छ । यूकेमा जन्मेका हुर्की बढेका गुरुङ समुदायका बालबालिका अथवा नयाँ पुस्तालाई कसरी सिकाउने भन्ने विषयलाई पनि ध्यानमा राखेका छौं । तमु प्ये ल्हु संघले पनि यस्तै कुरालाई ध्यानमा राखेको छ । यस्तै विषयवस्तुलाई  निरन्तरता दिँदा राम्रो हुन्छ । सबैको साथ पाएको खण्डमा संघका यी कामहरु पनि पूरा हुन्छ ।

नयाँ पुस्ताले आफ्नो समुदायको भाषा, संस्कार, संस्कृतिलाई कसरी लिएको पाउनु हुन्छ, पुस्तान्तरणमा कत्तिको चुनौती छ ? 
सबै समुदायलाई यो सवालमा चुनौती छ । हामीले आफ्नो संस्कार, संस्कृतिको बारेमा बुझाउनको लागि आफ्नो घरैबाट सुरु गर्नुपर्छ । संस्कार, संंस्कृति सिक्नलाई भाषा त्यत्ति जरुरी पर्दैन होला । जुनसुकै भाषामा भए पनि आफ्नो संस्कार, संस्कृतिको बारेमा राम्रोसँग बुझाउन सकेको खण्डमा सिक्न सक्छ, त्यसमा बढी ध्यान दिनुपर्छ । भाषा सिकाउन सके झनै राम्रो । व्यक्तिगतमात्रै नभई संस्थागत रुपमा यस्ता कार्यक्रमहरुलाई अगाडि बढाउन सके राम्रो हुन्छ, यो विषयमा सबैले ध्यान दिएको पनि पाएको छु ।

अन्तमा, समाजसेवा गर्दा के कस्ता विषयमा ध्यान दिनुपर्छ ? 
सामाजिक सेवा अथवा कुनै तहमा जाने तयारी हुँदा व्यक्ति ठीक हुनुपर्छ । त्यसपछि आफ्नो परिवारको पनि सबै बन्दोबस्त गरेको हुनुपर्छ । अनि बल्ल सबैभन्दा निकटको समाजमा आबद्ध भएर सेवा गर्नुपर्छ भन्ने मलाई लाग्छ । विस्तारै अन्य ठूला समाजहरु प्रदेशदेखि देशको सेवामा लाग्नु पर्छ । सुरुमा मेरो आफ्नै भाइखलकको एउटा समाज खडा गरेर स्व. डा. हर्क गुरुङको समाधिस्थलमा गुरुयोजना बनाउने कार्य हुँदा ८ लाख रुपैयाँको सहयोग गरेका थियौं । धम्पुस परिवार यूके पनि धम्पुसको विकासमा लागेको हुँदा ६० लाखभन्दा बढी अनुदान प्रदान गरिसकेको छ । त्यसपछि तमु प्ये ल्हु संघ यूके हो म लाग्ने संस्था । अहिले ३ वटा संस्थामा धेरै समय दिएको छु । यो संस्थाकै वरिपरि रहेर समाजसेवाका कामहरु गर्दै आइरहेको छु ।

 

साभार : https://www.globlemedia.com/detail/3349