सिक्लेसमा चिली क्होंइबो धिं उद्घाटन, बेलायतबाट मेजर खुसीमानलगायत सहभागी

गोर्खा मिडिया संवाददाता
 
 
 

पोखरा १३ जनवरी । कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा निर्माण गरिएको गुरुङहरुको चिली क्होंइबो धिं (घर) उद्घाटन गरिएको छ ।

करिब १७ रोपनी क्षेत्रफलमा निर्मित क्होंइबो धिं बुधबार एक समारोहबीच पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) का सांसद खगराज अधिकारीले उद्घाटन गरेका हुन् ।

तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङ, आमा समूहकी अध्यक्ष पुष्पा गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ, स्वदेशका विभिन्न जिल्ला अध्यक्ष र प्रतिनिधि, प्रवासमा रहेका तमु प्ये ल्हु संघ यूके, कतार, हङकङ, अमेरिका, काठमाडौं शाखाका अध्यक्ष एवं पूर्वआईजीपी हेमबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।

बेलायतबाट भने तमु प्ये ल्हु संघ यूकेका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार मेजर खुसीमान गुरुङ एमभिओ तथा उहाँकी श्रीमती मञ्जु गुरुङ, वर्तमान कार्यसमितिका उपाध्यक्ष अमर गुरुङ, सल्लाहकार क्या नरबहादुर गुरुङ एमभिओ बिइएम र उहाँकी धर्मपत्नी निरकुमारी गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन ल्हेंगे तमुलगायत सहभागी थिए ।

कार्यक्रममा डा चन्द्रबहादुर गुरुङकी श्रीमती डा सुमित्रा मानन्धर गुरुङलाई सम्मान गरिएको थियो । उनले आफ्नो श्रीमान्‌को नाममा रहेको पुस्तकालयमा पुस्तक तथा आर्थिक सहयोग गरेको भन्दै बुधबार उद्घाटन कार्यक्रममा सम्मान गरिएको हो ।

स्वदेश-विदेशबाट चन्दा उठाएर बनाइएको क्वोंइबो धिंका लागि करिब साढे २ करोड रुपैयाँ लागतमा ३ वर्ष लगाएर निर्माण सम्पन्‍न गरिएको निर्माण समिति संयोजक बलबहादुर गुरुङले जानकारी दिए ।

उक्त घरभित्र धिं कार्यालय, कार्यालय सहयोगी आवास कक्ष, पितृको स्मृतिमा ५ लाख बढी सहयोग गर्ने दाताका पितृको मूर्ति, १ लाख बढी आर्थिक सहयोग गर्नेको फोटो तथा अन्य सहयोगीको नामावली शिलालेखमा लेखिने निर्माण समितिका सचिव गेहेन्द्र गुरुङले जानकारी दिए । त्यस्तै यस संरचनामा घुमाउने घर, पितृका नाममा बत्ति बाल्ने कक्ष, तमु प्ये ताँ, ल्हु ताँबारे अध्ययन गर्न इच्छुक प्रशिक्षार्थीका लागि प्रशिक्षण कक्ष, हरेक कार्यक्रम गर्न मिल्ने किसिमले हल तथा कोठा, पुस्तकालय, गुरुङ संग्रहालय, विशिष अतिथि कक्ष तथा अन्य अतिथिका लागि कक्ष, भान्छाघर, ढिकी, ढुंगेधारा, हेलिप्याड लगायत छन् ।

क्वोंइबो परिसरमा गुरुङ परम्पराअनुसार गरिने जन्म, विवाह, मृत्यु संस्कार, पय कार्यलगायत सबै किसिमका कार्यक्रम गर्न सकिने योजनाका साथ संरचना बनाइएको संयोजक गुरुङले जनाए । उनका अनुसार धिंमा गुरुङबाहेकका समुदायले पनि कुनै पनि किसिमका कार्यक्रम गर्न सक्नेछन् ।

यसअघि २०७७ वैशाख २२ गते र २०७८ वैशाख २५ गते गरी २ पटक उद्घाटनका लागि मिति तय गरिएकोमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण प्रशासनले जारी गरेको निषेधाज्ञाको पालना गर्दै कार्यक्रम स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *