पञ्चशील – आत्म रुपान्तरणका पाँच आधार सूत्र

स्वामी आत्मो प्रकाश
 
 
 

हिंसा नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झूठा नबोल्नु र मादक पदार्थ सेवन नगर्नु भगवान बुद्धले आफ्नो अनुयायीहरुलाई हजारौं वर्ष पहिले दिनुभएको मूल आचरसंहिता पञ्चशील हो । उक्त अनुशासनले मानव जीवनमा शान्ति पथका लागि ठूलो भूमिका खेलेको छ । मूल नारा त त्यही नै हो तर साधकहरु आधुनिक जीवनयापनमा सुखी हुनका लागि बाहिरिया सहारा जस्तो सिगरेट, मादक पदार्थ, उत्तेजक भोजन र अनियन्त्रित सेक्सबाट प्रभावित छन् ।

धेरै पीडामा डुबेका छन् । ईच्छा अन्तता समाधिको छ तर शुरुवातको पहिलो पाइलामै अल्मलिएको समाज छ । समग्रमा सरल भाकाबाट आत्म रुपान्तरका लागि पञ्चशीलको छुट्टै ढङ्गाबाट छोटोमा वर्णन गर्दछु । यहाँ पञ्चशील भन्नले शुद्धी, साधना, सत्संग, संस्कार र समाधिलाई समिटिएको छ । यी बाटाहरुमा यात्रा शुरुवातको थलानी गर्नुनै जीवनलाई बुझ्नु हो । अब अबेर नगरौं ।

शुद्धी – सफाईमा सधैं ध्यान दिनुपर्दछ । प्रत्येक वस्तुको आभा हुन्छ । एक खालको एनर्जी वाईब्रेसन हुन्छ । बस्ने कोठा खुला राख्नु पर्दछ । जति धेरै सामान राखिन्छ त्यत्ति नै ऊर्जा कम हुन्छ । सबै ऋषिमुनीहरुलगायत पतञ्जलीले पनि अपरीग्रह (अनावश्यक) चीजहरूको संग्रह नगर्न सल्लाह दिएका थिए । शरीर शुद्धिका लागि दिनमा दुई पटक स्नान गर्नु स्वास्थ्यका लागि लाभकारी छ । स्नान गर्नले फिजिकल बडी अर्थात् अन्नमय शरीरबाट ताप र तनाव हट्दछ भने प्राण शरीर जागृत हुन्छ । शरीर पञ्चतत्वले बनेको हुन्छ । पृथ्वी, जल, वायु, अग्नि र आकाश । यिनै पञ्चतत्वको शुद्धी हाम्रो शरीर शुद्धीका लागि आवश्यक छन् ।

पृथ्वी तत्व – जस्तो खाना उस्तै शरीर बन्ने हो । कुनै व्यक्तिको बारेमा बुझ्न चाहनुहुन्छ भने, उसले के खान्छ र कसरी खान्छ भन्ने बुझेमा मनोभाव बुझ्न सकिन्छ । भोजन सात्विक, तामसिक र राजसिक हुन्छन् र के भोजन सेवन गर्दछ त्यहाँबाट नै व्यक्तिको परिचय खुल्दछ ।

भोजन नै औषधि हो – सम्यक भोजन गर्नुले अधिकांश रोगहरुको औषधि नै बनिदिन्छ । ठीक खानाले शरीरमा प्राण शक्तिको संचार हुन्छ र रोग निरोधककै काम गर्दछ । खानाले शक्ति प्राप्त होस् तर उत्तेजना होइन । शरीरमा स्फूर्ति होस् । आलस्य होइन । खाना बिस्तारै चबाएर खानु पर्दछ । जसले गर्दा पच्न सजिलो, सन्तुष्टि र शक्तिप्रद हुन्छ । उत्तेजना दिने खालको भोजनले शरीर चञ्चल र मन अशांत साथै ध्यानमा बस्न कठिन पार्दछ । मादक खानाले शरीर र मनलाई बेहोशीमा पुराउँदछ ।

शाकाहारी भोजन- पूर्वीया देशहरुमा शुरु भएका हिन्दू, बौद्ध, जैन, सिख, ताओ सबै धर्महरुले शाकाहारी हुनुमा जोड दिएका छन् । साधना गर्नका लागि शाकाहारी अनिवार्य छ ।

पश्चिमी देशहरुबाट पैदा भएका यहूदी, ईसाई र इस्लाम धर्म मान्नेहरु अधिकांश मांसहारी छन् । यसको मुख्य कारण भौगोलिक कारण पनि हो । जुन देशमा धर्मको शुरुवात भयो । त्यहाँ हरियाली थिएन । सागसब्जी फलफूल उपलब्ध थिएन । मांसाहारी नै भोजनको मुख्य आधार बन्यो । तिब्बतमा पनि त्यही स्थिति भयो । बुद्ध धर्मलम्बीहरुनै मांसाहारी भए । स्वम् दलाई लामा पनि मांसाहारी बने ।

पश्चिमी मूलका धर्मभन्दा पूर्वीया धर्महरुले उचाई लिएको देखिन्छ। कारण उपनिषद, ब्रम्ह्मासूत्र, धम्मपद र ताओ ते चिंग धर्म ग्रन्थहरु हुन् । भोजनको अशुद्धीका कारण उचाई लिन नसकिएको बुझिन्छ ।

घरैमा पकाएको खाना बाहिर किनेको खानाभन्दा उत्तम हुन्छ । बाहिर बनाएको खाना के परिवेशको लागि बनाएको, कसले बनाएको, कसरी बनाएको थाहा हुँदैन । होटलको र डब्बामा बन्द खानामा बढी मात्रामा केमिकल प्रिजर्वेटिब्स हालेको हुन्छ । होटलको खाना डेड बाडीजस्तै हो । बाहिरी हेर्दा सजिसजावट राम्रो देखिन्छ तर त्यसमा प्राण हुँदैन। सबैभन्दा राम्रो आफ्नो खाना आफै बनाउने । यदि संभव नभएमा आमाले पकाइदिएको खाना वा श्रीमतीले बनाइदिएको खाना उत्तम हुन्छ । त्यसमा प्रेम मिसिएको हुन्छ ।

माइक्रोवेब ओवनमा पकाएको खाना स्वास्थ्यका लागि हानिकारक छ । किनकि खाना तताउँदै रासायनिक संरचना क्षत-विक्षत हुन्छ । पटक पटक खाना तातो बनाउँदै पौष्टिकता नष्ट भएर जान्छ । केही देशहरुले माइक्रावेब र ओवनको प्रयोगमा निषेध गरेका छन् ।

संवेदनशील व्यक्ति या साधकका लागि साकाहारी आहार जरुरी छ । अरुको शरीर हात्य गरेर आफ्नो आहार बनाउनु हिंसा हो । यहि हिंसा बृहत्तर रुपमा सामाजिक र राजनैतिकमा परिणत भए पछि युद्ध र आतंकवाद बन्दछ । जबसम्म मानिसले मासु खाइरहन्छ तबसम्म संसारमा युद्ध भइरहन्छ ।

जल तत्व – पृथ्वीमा ७० प्रतिशत पानीले ढाकिएको छ भने हाम्रो शरीर पनि ७० प्रतिशत पानीले भरिएको छ । पानी पिउनु राम्रो मानिन्छ । तर कम पानी पिउनु र अधिक मात्रामा पानी पिउनले पनि स्वास्थ्यलाई हानीकारक गर्दछ । मिनरल वाटर वालाले जति पनि पिउनु भन्छ । त्यो उनीहरुको व्यापार हो । धेरै पानी पिए शरीरमा सोडियमको मात्रा घट्न जान्छ। मस्तिष्कको तन्त्रिकामा असर पर्दछ । किड्नीमा पनि असर पर्दछ । साकाहरी भन्दा मांसाहारी व्यक्तिले धेरै पानी पिउने गर्छन् । किनकि रस भएको फलफूल र सब्जीहरुमा ७०-८० प्रतिशत पानी हुन्छ । मासुमा ५-१० प्रतिशतमात्र पानी हुन्छ ।

शरीरलाई जति आवश्यक पर्दछ, त्यत्ति नै पानी पिउने बानी बसाल्नु पर्दछ ।

अग्नि तत्व – चिसो र बासी खाना तथा ताजा पकाएको खाना खाँदाको अनुभव हामीसँग छ । आवश्य पनि ताजा खानाले शरीरको अग्नि तत्वलाई जागरण गर्दछ । आजकल खानापछि आइसक्रीम या कोल्डड्रिंक पिउने चलन छ । यो अस्वस्थ्यकर बानी हो । यसले खाना ढिलो पचाउने र शरीरमा वायु बिकार पैदा गर्दछ । यसको अलावा थोरै तातोपानी पिएमा पाचनका लागि मद्दत गर्दछ । स्वस्थ व्यक्तिको शरीर तापक्रम ३७ डिग्री सेंटीग्रेड हुन्छ । भोजनको तापक्रम पनि शरीरको भन्दा १० डिग्री बढी वा १० डिग्री कम भएमा राम्रो मानिन्छ ।

आकाश – मनलाई खुलापन चाहिन्छ । विचारको बीचमा खाली जगह या मनको मौन चाहिन्छ । शान्ति चाहिन्छ । मनमा जति कम विचार हुन्छ त्यति नै सिर्जनात्मक विचारको जन्म हुन्छ । यो ब्रह्मांडमा पदार्थ कम र शून्यता धेरै छ । वैज्ञानिकहरुले पनि भन्न लागे । पृथ्वीको बीचमा शून्य तत्व छ । आकाश तत्व छ। यदि शुन्यलाई निकाल्दियो भने त पृथ्वीको सबै ठोस पदार्थ फुटबल जतिको आकारमा मिल्दछ ।

सम्यक व्यायाम- टेक्नोलाजीले गर्दा दिन प्रतिदिन शारीरिक श्रम कम हुँदै गइरहेको छ । श्रम जति कम भयो त्यत्ति नै शरीर कमजोर हुन्छ । शरीरमा रोग प्रतिरोधक क्षमता घट्दै जान्छ । दिनमा १ घन्टा आफ्नो लागि खर्च गर्ने ।

२० मिनेट प्राणायम गर्ने ।
२० मिनेट योगासन गर्ने ।
२० मिनेट ध्यान गर्ने।

अनिद्रा विश्वव्यापी समस्य भइरहेको छ। सम्यक श्रम गरेपछि राम्रो निद्रा लाग्दछ । सामान्यतः ८ घण्टा सुत्नु राम्रो बानी मानिन्छ । टिभी हेरेर सुत्नु, इन्टरनेट प्रयोग गर्दै सुत्नु एक सार्वजनिक रोग बनिसकेको छ । सुत्नुभन्दा पहिले आध्यात्मिक साहित्य पढ्नु वा सुन्नु, मीठो संगीत सुन्नु, ध्यानमा लिन हुनु आदि बानी गरेमा मीठो निद्रा लाग्दछ ।

सम्यक काम- गाँस बास कपास र सहबास आवश्यकता हुन् । युवा र स्वस्थ शरीरका लागि काम इच्छा तीव्र हुन्छ । काम एक अद्भूत शक्ति पनि हो । सामान्य मानिसको जीवनमा कामबाट हुने सुख सबैभन्दा गहिरो सुख र प्रेरक शक्ति पनि हो । ऋषिमुनीहरुले पनि भनेका थिए कि कामबाट हुने सुख समाधीको निकटतम हो । कामले जीवनमा एक गहिरो सुख दिन्छ । जहाँ जीवन छ । चाहे पशु हुन्, पंक्षी हुन् वा मनुष्य काम जीवनको एक स्वाभाविक अंग हो । काम प्रजननको स्रोत हो साथै यसबाट प्राणीहरुलाई गहिरो तृप्ति मिल्दछ । काम जीवनको सबैभन्दा ठूलो अभिप्रेरक पनि हो । जीवनलाई निखार्ने, बिगार्ने वा सपार्ने शक्ति पनि काममै निहित छ । त्यसैले सम्यक काम भएमा मानिसको जीवनमा सन्तुलन, शौर्य, शक्ति र शान्ति हुन्छ ।

वात्स्यायन ऋषिले कामसूत्र लेखे । ऋषिहरुले तन्त्रजस्तो आत्म-रुपान्तरको गहिरो विज्ञानको आविष्कार गरे । मन्दिरको प्रवेशद्धारामा काम प्रेरित, श्रृंगारिक मूर्तिहरु बनाए। स्त्री र पुरुष एक्लै अधूरो हुन्छ । एक आपसको सानिध्यमा कसिँदा प्रेमपूर्ण कामसुख मिल्दछ । धन, भोजन, मान या अन्य कुनै तरिकाले कामको प्रतिष्ठापन गर्न सकिँदैन। संभोगको जुन कामना हुन्छ, त्यो मौलिक हुन्छ । तर पश्चिमी संस्कृति भित्रिएपछि काममा कुण्ठित र दूषित भयो ।

प्राचीनकालमा सबै ऋषिमुनिहरु वैवाहिक थिए। जमदग्नि, भारद्धाज, विश्वमित्र, अत्रि, वशिष्ठ, गौतम, कश्यप र अगस्त कोहि पनि ब्रह्मचारी थिएनन्। पूर्वमा तंत्र जस्तो विज्ञानको जन्म भयो। शिव र पार्वतीको प्रेम त्यतिनै चर्चित छ। शिवजीले नै पहिलो पटक संभोग देखि समाधिको आध्यात्मिक विज्ञानको प्रस्तुत गर्नुभयो। शिव द्धारा रचिएको विज्ञान भैरव तंत्रमा काम शक्तिको प्रयोग द्धारा समाधि प्राप्त गर्ने चमत्कारिक विधि बताईएको छ। काममा निषेध गर्ने कुरा कहिले पनि मुख्य संस्कृतीमा थिएन।

ब्रह्मचारी अवधारणा श्रमण संस्कृतीको देन हो। बुद्ध र महाबीरको सन्यासी गृहत्याग गरि स्त्रीबाट टाढा रहनु थियो। आजीवन ब्रह्मचर्य धारणा गर्दा सफलता मिल्यो। आठौ शताब्दी ताका शंकराचार्य बुद्धबाट अति प्रभावित भएका थिए। बुद्ध र महावीर सन्यासी, भिक्षु एक्लै बस्दथे। पारिवारिक समस्याबाट मुक्त भएकाले सजिलो संग साधना गर्न सक्थे। तर हिन्दू सन्यासीहरु गृहस्थ थिए। परिवारको भरण पोषण सबै आफैमा निर्भर थियो। यही कारण हिन्दू धर्ममा दसनामी संन्यासीको सूत्रपात भयो र हिन्दू धर्ममा ब्रह्मचर्यको प्रवेश भयो। उक्त दसनामी संन्यासीमा गिरि, पर्वत, सागर, पुरी, भारती, सरस्वती, वन, अरण्य, तीर्थ र आश्रम थिए।

इस्लाम र ईसाईको प्रवेश पछि जीवनको अभिन्न अंग कामलाई दूषित र पाप संझिन लागे। संभोगको विरोध हाम्रो संस्कृतिमा थिएन। बाहिरबाट थुपारिएको अवधारणा हो। इस्लामिक र कैथोलिकको प्रभावले गर्दा कामलाई पापको संज्ञा दिइयो।

साधना र बुद्धत्वका लागि ब्रह्मचर्य अनिवार्य शर्त होइन। ऋषिमुनिको पनि प्रेमिका थिए। मेनका विश्वमित्रको प्रेमिका थिइन्। कृष्णका अनेक प्रेमिका थिए। कृष्णको गोपिनीहरुसँगको रसलिला अतिनै प्रख्यात छ। काम ईच्छाका बारे मनमा गलत विचार भर्दिएकोछ। काम गलत हो। पाप हो। फेरि वैवाहिक ब्यक्ति सन्तान पनि जन्माउँछन्। यस गलत धारणाबाट साधकहरु मुक्ति हुनुपर्दछ।

विपरित लिङ्गको मिलनबाट शारीरिक, मानसिक ऊर्जा पैदा भै गहिरो आनन्द मिल्दछ। यो बायलाजिकल र हारमोनल आवश्यकता हो। जतिनै विरोध गरे पनि यो एक नैसर्गिक आवश्यकता हो। बुद्धले कामको बारे बोल्नु भएन कारण त्यो समय त्यो विषय संभव थिएन। सत्य कुरा के हो भने ब्यक्ति जति धेरै सृजनात्मक हुन्छ उतिनै कामुक हुन्छन्। अतः प्रतिभाशाली मानिसहरु, जस्तै कवि कलाकार, लेखक र संगीतकार बडिनै कामुक हुन्छन्।

यौन परिपक्वता स्वाभाविक रुपले १४ या १५ वर्षमा हुन्छ। ६०-७० साल पहिले त्यहि उमेरमा विवाह हुन्थो र कामको लागि सामाजिक स्विकृति र प्राकृतिक नैतिक निकास मिल्थो। तर आधुनिक युगमा धेरै परिवर्तन भयो। पुरुष महिला ३०, २५ साल भन्दा पहिला विवाहका लागि तयारी हुदैनन्। प्रशोधित रसायनयुक्त जंक फूड को सेवन बढी, इंटरनेटमा पोर्नोग्राफी र कामोत्तेजक दृश्यले भरिएको फिल्म हेर्ने बानीले कम उमेरमै मानिसहरु काम वासनामा आकर्षित भएकाछन्। यौन परिपक्वता र विवाह बीचको उमेरमा काम ऊर्जा शिखरमा पुगेको हुन्छ। तर निष्कासनको लागि कुनै समाज र धर्मले स्विकृत दिदैन। यहि उमेरमा अराजकता र असामाजिक घटनाहरु भैरहेका हुन्छन्। पूर्वकालमा यो समस्य थिएन। यति धेरै घटनाहरु भए पनि कामको बारे वैज्ञानिक र यथार्थवादी धारणा बनेको छैन। समाजशास्त्री, राजनीतिज्ञ, धार्मिक गुरुहरु र बुद्धिजीविहरु खुलेर चिंतन मनन गरेर समयानूकूल समाधान खोज्नुपर्दछ।

विवाह पूर्व संबन्धको सामाजले स्वीकृती दिने वा विवाहकै उमेर घटाउँनु पर्दछ। एदि यो गरिएन भने बलात्कार, वेश्यावृत्ति जस्तो विकृति बढ्दै जानेछ। काम वासनाको एक सानो भूलको कारण समाजका कति प्रतिष्ठित ब्यक्तिहरुको बदनाम भैरहेकोछ। कति ब्रह्मचर्य गुरुहरुनै बलत्कारको आरोप खेपिरहेकाछन्। यो किन हुन्छ त?

हाम्रो विचारमा सन्यासी हुँदैमा गुरु बन्दैमा काम वासनाबाट टाढा हुदैन। गल्ती विचार के छ भने सन्यासी वा गुरुको मतलब उसको शरीरमा हारमोननै बन्दैन, पसीनानै आउँदैन भन्ने होइन। शरीरको केमिकल्स संबोधि प्राप्ति पछि पनि प्रकृतिले संचालित गरिरहन्छ। संबोधि पछि काम वासना आफ्नो ठाउँमै रहन्छ। संयमित, सुशोभित र अलंकृत हुनसक्छ।

अब हामीले स्त्री र पुरुषको संबन्ध बारे खुला रुपमा विचार गर्नुपर्छ। विवाह पूर्व पनि संबन्ध राख्न पाउँनुपर्छ। विवाह असफल भएमा नयाँ संम्बन्ध सजिलै जोड्न पाउँनुपर्छ। कामुकता र प्रेमको प्यासको ईमान्दारी पूर्वक स्वीकार गर्ने, विवेकपूर्ण, सम्मानजनक, र नैतिक समाधान खोज्नुपर्दछ। काम संबन्धका लागि एक आपसमा समादर, अनुग्रह र प्रेमभाव हुनुपर्दछ एदि भएन भने त्यो व्यभिचार हो।

वाणी शुद्धि – जति प्रेमपूर्ण बोलिन्छ उतिनै वाणीको गरिमा बनिरहन्छ। थोरै बोल्नले बढि प्रभाव पर्दछ। वाणीको शुद्धि मौन हो। मानिसले कम बोल्ने वाणी गरेमा संसारको प्राय उपद्रव शान्त भएर जान्छ। अधिकांश वैमन्यस्य, लडाई झगडा धेरै बोलेरनै हुन्छ। जो धेरै बोल्दछ तब झूठो बोल्न बाध्य हुन्छन्। कम बोल्ने ब्यक्तिले सत्य बोल्न सक्छन् किनकि जीवनमा सत्यनै थोरै छन्।

भाव शुद्धि – मनमा उठेको नकारात्मक भाव प्रति होशपूर्वक तटस्थ रहनका लागि निरंतर अभ्यास गर्नुपर्दछ। भाव विधायक हो र कल्याणकारी हो भन्ने कुरा ध्यान राख्नुपर्दछ। किनकि तपाईले अरुको लागि जे सोच्दछ उही फल प्राप्त हुन्छ। ऋषिमुनिहरुले भनेका छन्, “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।”

साधना – वाणी, शरीर, र भावको शुद्धि भए पछि साधना गर्नु सजिलो हुन्छ। स्वंमको भित्र देख्ने बोधपूर्वक प्रयास साधना हो। साधना धेरै प्रकारका हुन्छन्। तर सबैको एकै उद्देश्य हुन्छ। आफ्नो दृष्टि आफै तिर मोड्ने र आत्म साक्षात्कार गर्ने। जागरुक रहनका लागि प्रत्येक दिन समय निकाल्नु पर्दछ। विहान एक घण्टा र वेलुका एक घण्टा सबै भन्दा राम्रो समय हुन सक्छ। देश, काल परिस्थिति र शरिरीक क्षमतानुसार कुनै पनि एक विधि चुनेर निरन्तर साधना गर्नुपर्दछ। शुरुवातमा सक्रिय विधिहरु गर्नले धेरै फाइदा हुन्छ। साधनाका लागि सत्संग र ध्यान केन्द्र वा आश्रममा आयोजित कार्यक्रमहरुमा भाग लिनु राम्रो हुन्छ। निरन्तर साधना भैरहने आश्रम, कम्यून, ध्यान केन्द्र र ध्यान शिविरहरुमा भाग लिने र समूहमा साधना गर्नले धेरै उपयोगी हुन्छ। पछि एक्लै पनि गर्न सकिन्छ। शुरुका दिनमा सबैको कुरा त्यहि हुन्छ कि ध्यानमा मन एकत्रित हुँदैन, विचार चलिरहन्छ। प्रारम्भमा योग्य व्यक्तिबाट समूहमा ध्यान सिक्ने र मिलेर ग्रुपमा ध्यान गर्दा सुगम हुन्छ। शुरुवातीका दिनमा एक्लै ध्यान गर्न कठिन हुन्छ। ध्यानको गहिराइ जति बढ्छ उतिनै आनन्द मिल्दछ। त्यहि आनन्दको अनुभूतिले ध्यानमा निरंतर प्रेरणा दिन्छ।

सत्संग – प्रत्येक ब्यक्तिको आफ्नो एक आभा तरंग हुन्छ। हामी जस्को संगतमा हुन्छौं, निश्चित रुपमा प्रभावित परिरहेकै हुन्छौं। जंगल, नदीनाला, पहाड, हिमाल प्रकृतिको सामीप्यमा पुग्दा हाम्रो मनस्थिति शान्त हुन्छ। मन हल्का हुन्छ। शहरको भीडभाडमा हामी आफैलाईनै गुमाउँछौं।

जस्तो ब्यक्तिसँग भेटिन्छ, कुन पुस्तक पढिन्छ, कस्तो सिनेमा हेरिन्छ त्यसको प्रभाव पर्दछ। हाम्रो जीवन एक अन्तर सम्बन्धमा आधारित छ। जुन चीज देखिन्छ उसको प्रभाव पर्दछ। राम्रो असल ब्यक्तिसँग उठबस गर्नुले आफैमा परिवर्तन आउँछ।
संस्कार – संस्कारको अर्थ विगतमा कसरी बाँचियो, कसरी सोचियो, कस्तो कर्म गर्यो भन्ने बारेको अचेतन झलक हो। आज हामी के सोच्छौं, के गर्दैछौं, के पढ्दैछौं, के सुन्दैछौं त्यहिनै भविष्यमा संस्कार बन्दछ। विगत हाम्रो हातमा छैन। तर वर्तमानको हर क्षण हामीमा छ। यो क्षण अत्यन्त मूल्यवान र रुपांतरणकारी हुन सक्छ।

राम्रो संस्कारमा शेयरिङ अर्थात बांड्ने प्रचलन छ। आम्दानीको केहि भाग दान गर्ने प्रावधान सबै धर्ममा छन्। यहि प्रक्रियलाई मुसलमान खैरात भन्छन्, ईसाई चेरिटी भन्छन् र हिन्दु बौद्धले दान भन्छन्। सिख धर्ममा त कमाईको १० प्रतिशत दान दिने चलन छ।

समाधि – साधकको अन्तिम गंतब्य समाधि हो। जब सम्म जीवनमा समाधिं घट्दैन तब सम्म जीवनको दुःख र क्लेषको अन्त संभव छैन। समाधि सबै समस्य र प्रश्नहरुको अंतिम समाधान हो। समस्त बुद्ध पुरुषहरु एक मत छन् कि आत्म उपलव्धि बिना जीवनको दुःख र समस्याको अन्त हुन सक्दैन। संन्यास र साधनाको अंतिम गंतब्य मोक्ष र मुक्तिनै हो। मनबाट मुक्ति पाउँनुनै समस्त दुःखबाट मुक्ति हो। जब सम्म मनमा अहंकार रहन्छ, जतिनै प्रयास गरे पनि दुःखको अन्त हुँदैन। मन र अहंकारबाट मुक्ति हुनसाथै समाधि घट्दछ। मृत्युले हामीलाई बेहोशीमा लैजान्छ। धेरै जन्म सम्म हामी बेहोसमै मर्यौं। यो जन्ममा पनि बेहोशनै भएर मर्नु जीवनको व्यर्थ र साधनाको व्यर्थ हुनेछ। यो जन्ममा होसपूर्वक समाधि प्राप्त गरि मर्नुछ। मृत्युको सधै स्मरण गरौं किनकि मृत्यु हर क्षण नजिक आउँदैछ।

समाधिको साधना मौन र एकान्तमा हुन सक्छ। सधै भीड र सांसारिक वासनाको वरिपरि रहेर कठिन हुन्छ। साधनाको अत्यन्त सहयोगी बुद्धक्षेत्र हो। बुद्धक्षेत्रमा गरिएको ध्यान, सत्संग र साधनाको विधि समाधिको सुख एवं आनन्दको झलक दिन्छ। आनन्दको लागि बाहिर केहि खोज्न जरुरत छैन। न कुटुम्ब चाहिन्छ, न धन, न परिवार, न पद, न वैभव। आनन्द त हाम्रो जन्मसिद्ध स्वभाव हो। आनन्दको साम्राज्य हाम्रै भित्र लुकेको छ।