अबको बीस वर्षमा तमुहरुले प्रशासन हाँक्नुपर्छ : गण्डकी प्रदेश प्रमुख गुरुङ

गोर्खा मिडिया संवाददाता
 
 
 

पोखरा, २५ पुस । रिभान चौर नाथु प्रल्हाद ङेह्रौ पैंगीलम परिवार कास्की समितिले शनिबार सुब्बा नाथु गुरुङ स्मृति दिवसका साथै चेलीबेटी ज्वाई भाञ्जाभाञ्जी भोज, सम्मान, साँस्कृतिक कार्यक्रम तथा परिवारका अध्यक्ष अनेरी क्याप्टेन डम्बरबहादुर गुरुङद्धारा लिखित गुरुङको विवाह पद्धति पुस्तक विमोचन गरिएको छ ।

पोखरा २५ याम्दीस्थित परिवारको भवनमा आयोजित कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्दै अबको बीस वर्षमा तमुहरुले हरेक कार्यालयको प्रशासन हाक्नुपर्ने बताए । प्रसासनिक क्षेत्रमा तमुहरुको सहभागिता नगन्य भएका कारणले धेरै समस्या परिरहेकाले तमुहरु विदेश मात्रै होइन आफ्नै मुलुकमा संघर्ष गरी सेवा सुविधा प्राप्त गर्ने र नीति, योजना निर्माण गर्ने स्थानमा पुग्नुपर्नेमा जोड दिए । तमुहरुको इतिहास गर्बिलो छ, इतिहास पढ्नुपर्दछ, इतिहास नपढ्ने सपना देख्न र इतिहास बनाउन नसक्ने भएकाले तमु युवाहरु लाहुरे तालिम नभइ लोक सेवा आयोगको तयारीमा जुट्नुपर्ने उनको भनाई थियो। हामी विदेशमुखी भएकै कारणले देशका लागि लडेका, बीरगति प्राप्त गरेको सुब्बा नाथु, सुब्बा प्रल्हादहरुलाई राष्ट्रिय विभुति घोषणा गरिदेउ भन्नु परेको छ भन्नुहुदै प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय हरिप्रसाद गुरुङलाई सहिद घोषणाका लागि त्यस्तै दवाव दिनुपरेको बताए ।

कार्यक्रममा विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्दै देश र माटोको लागि लडेका बीर तमुहरुलाई राज्यले सम्बोधन नगर्नु दुःखदायी भएको भन्दै सुब्बा नाथु, सुब्बा प्रल्हादलाई राष्ट्रिय विभुति घोषणा गर्नुपर्ने माग गरे ।

यसरी नै कार्यक्रममा परिवारका सल्लाहकार बरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङले संघर्षकै कारण पुख्र्यौंली कास्की घलेलका पृथ्वीमान गुरुङ प्रदेश प्रमुख हुन सकेको बताए। उनले सुब्बा नाथु गुरुङको परिचय गराउनुहुदै उनको योगदानका बारेमा जानकारी समेत गराएका थिए । उनले विमोचित पुस्तक गुरुङको विवाह पद्धतिले विवाह, विवाह संस्कार परम्परा र विवाहका विविध पक्षमा बुझ्न सहज हुने दावी गरे ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी गुरुङ, गुरुङ प्राज्ञिक मञ्चका अध्यक्ष रत्नमान गुरुङले रिभान चौर नाथु प्रल्हाद ङेहो पैंगीलम परिवारका अध्यक्ष अनेरी क्याप्टेन डम्बरबहादुर गुरुङद्धारा लिखित गुरुङको विवाह पद्धति पुस्तक विमोचन गर्नुभएको थियो। यसरी नै उक्त कार्यक्रममा परिवारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई कार्यकालको सफलताको शुभकामनासहित सम्मानपत्र, भाङ्ग्रा, दोसल्लासहित सम्मान गरिएको थियो । यस्तैगरी परिवारका जेष्ठ नागरिक, उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु, समाजका सहयोगीहरुलाई समेत सम्मान गरिएको थियो भने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

गुरुङको विवाह पद्धति पुस्तकका लेखक तथा परिवारका अध्यक्ष अनेरी क्याप्टेन डम्बरबहादुर गुरुङले पुस्तक लेखनको आवाश्यकता र महत्वबारे प्रष्ट पार्नुहुदै सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।

परिवारका अध्यक्ष अनेरी क्याप्टेन डम्बरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुवेदार कर्णबहादुर गुरुङले स्वागत मन्तव्य र महासचिव यामबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा परिवारका आमा समुह लगायत कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरी मनोरञ्जन दिलाएका थिए भने साँस्कृतिक कार्यक्रम संचालन आमा समुहकी सचिव हरिमाया गुरुङले गरेका थिए ।