बाजेको सुसारे बन्दा

 
 
 

छिरुवानी बजार हाम्रो गाउँको पुरानो बजार हो, त्यस डरलाग्दो विशाल जंगलमा घर बनाएर बस्ने आँट पहिले कसले गर्‍यो थाहा भएन | मैले थाहा पाउँदा त्यहाँ दुई घर थिए, भित्तापट्टी लुङ्ग्थुङ्गेको दोकान, छेउपट्टी छेऊघरेको दोकान, पछि नाघादेन बस्ने तामाङहरूले एउटा कपडा पसल खोलेपछि तीन घर भए | लुङ्ग्थुङ्गे बडा लेलेप छेउ लुङ्ग्थुङ्ग भन्ने ठाउँबाट बंसाई आएकोले लुङ्ग्थुङ्गे भनेको भन्नु हुन्थ्यो बोजुले | छेउघरेको चाँही बुढी चौबिसेनी लिम्बुनी थिइन् उनीहरू चाँही त्यहीं माथि फेरिम्म गाउँबाट आएर बसेको भन्थे | नाघादेन भन्ने ठाउँ वाड नम्बर ३ सेतोबा गाउँको पुछारमा पर्छ |

तमोर खोलाको छेऊ पर्ने भएर होला त्यहाँ सिमल तरुल, फूल तरुल र कोदो मात्र धेर फल्थ्यो | हाम्रो बाजेले घरको कोदोले नपुग्दा जाँडको निम्त्ति कोदो किन्न त्यहीं पठाउनु हुन्थ्यो | छिरुवानीमा कपडा पसल आएपछि महँगै भएपनि टाढा जान नपर्दा नजिकका गाउँलेहरूले राहत महसुस गरे | त्यसबेला यातायातको सुबिधा थिएन, दोकानको समान टाढा धरान धनकुटाबाट खक्चड र भरियाहरूलाई बोकाएर ल्याउथे | अन्य दुईघरले भने जाँड रक्सी र बाटो हिंड्ने बटुवाहरूले खाने खानाहरू बेचेर गुजारा गर्थे, छिरुवा ठुल्ठुला पहाड जत्रो जत्रो ढुँगाहरू थुपारे जस्तो, खेति योग्य जमीन नभएaको ठाउँ छ, तर तमोरमा हिउँ बाढी आएको बाहेक अन्य बाढी पहिरो भने नजाने खालको भू- बनावट छ | जंगल ठुलो र ठुल्ठुलो रुखहरू भएकोले जंगली जनावरको निक्कै डर थियो पहिले तर, अहिले त मानब बस्ति बढे संगै जंगल र जंगली जनावर लोप भएर गए | त्यसबेला हाम्रो गाउँमा एक बिशेष प्रजातिका ढेंडू हुन्थे, उनीहरूको भुत्ला खैरो अनि अनुहार कालो हुन्थ्यो | बाँदरहरू भने रातो खालका हुन्थे | मलाई बाँदरभन्दा ति खैरो भुत्ला कालो अनुहार भएका ढेंडूहरू लोप भएकामा दुख लाग्छ | त्यस प्रकारका ढेंडू मैले अन्त्य कतै देखेकी छुइन |

मेरो बाजे र सिराने माइला (प्रताप सिङ्ग लाबंग ) बाजेको दोस्ती हिन्दी सिनेमा सोलेको अमिताभ बच्चन र धर्मेंद्रको जस्तै थियो | सोले चलचित्रमा अमिताभ बच्चनले ढक्की पैसा पल्टाउँदा जहिले टाउको मात्र पल्टिए झैं बाजेहरूको जोगानीको साइत पनि जहिले छिरुवा जाने मात्र जुर्थ्यो कि के हो कुन्नी ? हरेक दिन लट्ठी टेक्दै भएपनि छिरुवा पुगेकै हुन्थे | बोजु घरकै काममा व्यस्त, म तल्लोघरको दिदीहरूसंग कहिले मेलो, कहिले घाँस दाउरा जान्थे | ईखाबुमा सुँगुर चारोको दुख थियो, चारो खोज्न कहिले टाढा टाढा अलैंचीबारि त कहिले पारि छिरुवाको जंगल पुग्नु पर्थ्यो | एकदिन चारोको लागि सिस्नो टिप्न उहीं छिरुवानी जाँदै थियौं |

पुल तरेर उकालो लाग्दै गर्दा हाम्रो गाउँको एकजना मान्छे जाँड्ले मातेर चौतारोमाथि सुतिरहेको थियो | गाउँको बोलाउने नाम सिल्ली माइला थियो, उहाँको श्रीमती काम्बाङ्गमा भएकोले फुपा पर्नु हुन्थ्यो। हामी भदैनी सालीहरूलाई लखेटी लखेटी जिस्काउँथ्यो गाउँमा | ऊसँग म डराउँछु भन्ने थाहा पाएर, हाम्रो घर मास्तिरको लह्वा कान्छा बाजेले मलाई देख्नेसाथ ऊ सिल्ली माइला आउंदैछ भन्नु हुन्थ्यो | एकपल्ट म बेलुकीपख स्कूलबाट आउंदै थिएँ, हाम्रो ( पँधेरो ) कुवाटोलनिर आइपुग्दै थिएँ, नातीनी ऊ तल कोल्बुङ्ग छेउमा सिल्ली माइला आउंदैछ है भन्नु भो, म उँधो जानु पर्ने मान्छे किताबको झोला च्यापेर फेरि तुफान उभै फर्किएँ | म उतै फर्केर दौडीएको देखेर बाजे ताली बजाउंदै मरिमरि हाँस्नु भो अनि बल्ल थाहा भो रेला रहेछ भनेर |

अर्को एकदिन म मुछेबुङ्ग छेउको सिस्नोघारीमा सिस्नो टिप्दै थिएँ, पछाडी ढाडमा बोकिरहेको डोको उचालेर भूँइमा राखि मलाई जुरुक्क उचालेर लैजानु भो, त्यो सिस्नोघारी उसैको घर छेउमा थियो | बोकेर मलाई उसैको आँगनमा पुर्याएर लु बाऊ मैले बुहारी ल्याएँ बिहे गरि देऊ भन्नु भो, म रुँदै चिच्याउँदै भागे त्यहाँबाट | उहाँको बाबाको नाम त थाहा भएन, तर गाउँमा सबैले पुछारे बाजे भन्थे | पुछारे बाजे अग्लो जहिले पटुकी र टाउकोमा फेटा बाँध्ने,लामो लामो जुँगामा मैन दलेर बटारेको हेर्दै डर लाग्दो हुनुहुन्थ्यो | पान्धाप्मा साइँली फुपू मर्दा उहाँको कान्छी नन्द पुछारे कान्छी मेरिंग थक्मा गर्दै ( लिम्बु संस्कारमा सुरिलो स्वर तानेर रुनु ) रुएको धुमिल, धुमिल सम्झना छ | ति काम्बाङ्गमा फुपुको बर्खन्त पनि ठुलो गरेका थिए | उनीहरूको दुईभाइ छोरा नाखराजे र फिन्गोले भन्ने थिए | कान्छा फिन्गोले म संगै स्कूल जान्थ्यो, सिल्ली माइला फुपाले पान्धप्मा साइँली फुपू मरेर गएपनि अर्को बिहे नगरी नानीहरू हेरेर बस्नु भएको थियो | त्यसैले पनि फेरि हामीलाई बिहे गर्ला भनेर डराउँथ्यौ |

अरुबेला छेऊ पर्न डराउने हामीलाई मातेको देख्दा त डर सर हरायो, काइँली दिदीले खुट्टा, कान्छी र मैले टाउको तर्फको एउटा एउटा हात समातेर बोकेर लग्यौं तल सुंगुरको खोर छेउमा | त्यती टाढा बोकेर लैजाँदा पनि नब्युँझेको देखेर झन् आँट आयो | सुँगुरको खोर बाँसको भाटाले बारेको थियो, बार अग्लो भएकोले तीनजनाले उचाल्न नसकेर हैरान भैरहेको बेला परबाट गाग्रो बोकेर छेउघरेको छोरी कल्चुंडी आउंदै थिइन् उसलाई ईसाराले बोलायौं अनि चारजना भएर खोर भित्र उचालेर हाल्यौं | सुंगुरहरूले चाट्न थालेको देखेर हामी हाँस्दै भाग्यौं त्यहाँबाट | त्यसैबेला हामीले देख्यौं मेरो बाजे र सिराने माइला बाजे पारि ससिङ्ग्बुङ्ग ओरालो झर्दै थिए, उनीहरूले देखेर गालि गर्लान् भनेर झन् चाँडो सुइँकुच्चा ठोक्यौ |

जंगल पसेर त्यै फुपालाई सम्झिन्दै बेस्सरी हाँस्दै सिस्नो टिप्यौ, अब निस्केर जाँदा त मार्छ सिल्ली माइलाले कसो गरौँ ? भन्दै दिदीहरू डराए | डर त मलाई पनि नलागेको होइन, तर पनि ठिकै छ नि हामीले रेला त गरेको नि किन डराउनु ? भनि ढाडस दिएँ दिदीहरूलाई | हामी छिरुवानीका ति ठुल्ठुला पहाड जस्ता ढुंगाहरूमा बसेर पकंदी खेल्दै जंगल थर्काउने गरि पालाम गाउँथ्यौ | त्यस जंगलमा गीत गाउँदा छिरुवानी माथिको पहाडमा स्वर ठोक्किएर इको आउँदा झन् सुरिलो र राम्रो सुनिन्थ्यो आफनै स्वर | त्यहाँ एक्लै कराउँदा तुरुन्त कसैले जवाफ फर्काए झैं इको आउंथ्यो, त्यस इकोलाई सानोमा राक्षश करायो भन्ने गर्थ्यौं |

त्यहाँ उहिल्यै कापोरुंग कप्मोरुंग नाम गरेका दुई राक्षस बस्थे रे, उनीहरूको एउटी छोरी चाँही तल छिरुवानीको ठुलो ओढारमा लुकेर मान्छे खान्थिन् रे | कापोरुंग कप्मोरुंग चाँही माथि डाँडामा बसेर तलबाट मान्छे आउंदैछ है भनि खबर गर्थे रे | त्यहाँ हिड्ने मान्छे कहिल्यै घर नपुग्ने संगै हिड्दा पछाडिको मान्छे हराउने | पछि अति भएपछि तल निगुरादीन बस्ने पोमु येछांग नाम गरेको एक उड्ने बिजुवाले उड्दै आएर ति सबै राक्षस मारेको कथा छ | भनाई छ त्यसपछि मात्र त्यस ठाउँमा मान्छे बस्न थालेका रे | अझै पनि त्यहाँ एक्लो दक्लो हिड्न डरै लाग्छ, मान्छे खाने त्यस राक्षस बस्ने ओढार र उसले मान्छे काट्ने गरेको ढुंगाको अचानो, पकाइखाने चुला अझै देख्न सकिन्छ | ति सब देख्दा त्यस राक्षस अझै छ कि झैं लाग्छ |

हामी सिस्नोको भारि लिएर छिरुवा निस्कँदा खोरबाट उठेर सिल्ली माइला फुपा गैसकेको थियो | हामीले खोरमा छाडेपछिको कथा कल्चुंडीले हाँस्दै सुनाइन् | ऊ उठेर “मलाई कसले खोरमा हाल्यो” ? भन्दै दोकानमा पुगेको थियो रे, लुङ्ग्थुङ्गे मामाले खोई कुन्नी है माइला ईखाबुको तीन ओटी केटीहरू देखेको थिएँ तर उनीहरूले हो कि होइन त्यो चाँही कन्फ़म भएन भन्नु भो रे | छिरुवाको बाटो भएर ओलाङ्ग्चुङ्ग गोला, कन्चंजंगा र कुम्भकर्ण हिमाल जाने टुरिष्टहरू हिड्ने भएर होला लुङ्ग्थुङ्गे मामा बोल्दा बीचबीचमा अग्रेजी सब्द घुसारेर बोल्नु हुन्थ्यो |

लुङ्ग्थुङ्गेको कुरो सुनेर फरक नै पर्दैन पक्का त्यै तीन जना हुन्, को को थिए भन्दै सोध्नु भो रे | एकजना त हल्दारको नातीनी अरु दुईजना चाँही पहिराने कान्छाको छोरी कैंली र कान्छी होलान् | ए ल ल कुरो बुझें मैले कतातिर गए तिनीहरू ? दरो पैंचो तिरेछ्न मेरो सत्रुहरूले भन्दै सुङ्गुरले चाटेको अनुहार पखालेर बाटो लाग्नु भो रे | हिड्ने बेला कल्चुंडीलाई, “ठुली तिम्रो साथीहरूलाई भन्नु “फुपाले ईखाबुमै पर्खिरहन्छ रे” |

कल्चुंडीले खबरदारीको खबर सुनाएपछि हामी डल्लो परि परि हाँस्यौं फेरि, अनि सल्लाह गरेर माङ्ग्यकको बाटो छाडी माथि तिनिचोकको बाटो गयौं | घर गएर बोजुलाई सुनाएँ, बोजु पनि सुँगुरले चाटेको कुरो सुनेर आँसु आँसु हुनेगरि हाँस्नु भो, लाहो ! आज त ठिक पारेछन् फ़ुपाजूलाई, किन पो त्यत्रो सुध्बुध नै हराउने गरि पिउनु ? भन्नु भो | मलाई झन् मज्जा लाग्यो बोजु हाँस्दा, हामी घाम हुँदै घर पुगेका थियौं | बोजुले तेरो अर्को एक जोडी जडियाँ बाजेहरूलाई देखिनस ? भन्नु भो, बाजेहरू पुछारेकोमा तोङ्ग्बा तान्दै हुनुहुन्थ्यो मैले त्यै भने | आज भरे कतिबेला घिसृन्दै आउञ्छन अब ? हरामीहरू कति खान सकेका हुन् त्यो “कुकुरको मुत” ? बोजु यसैगरी जंगीनु भो | बाजे सन्चो हुँदा घर नबस्ने, बिमार हुँदा बोजु र मैले पालो पालो हेर्नु पर्ने भएर पनि बोजुलाई दिक्क लागेको थियो सायद | गाउँमै बसेर पनि बाजेले नमिठो खाएको याद छैन, घरमा हामी सबै परिवार हुँदा १८ जनाको जहान थियौं | त्यसबेलाको भात पकाउने ठुलो भाँडा एक्लै हुँदा नचाहिने भएर माथि तलामा थनकाएको थियो बोजुले |

हाम्रो बाजे थोत्रे टालेको नै किन नहोस लुगा खरानीमा उसिनेर भएपनि सफा धुएर लाउनु हुन्थ्यो, बिहानै चिसो नुक्वा खोलामा डुबुल्की मारेर सिता राम, सिता राम जप्दै आउने, एकदम राम भक्त्त, ईश्वर भक्त्त हुनुहुन्थ्यो | पहिले इन्डिया र ब्रिटिश नछुट्दैको लाहुरे भएर इन्डिया बसेकोले होला, हिन्दु धर्ममा धेरै आस्था राखेको जस्तो लाग्थ्यो | घरको सिखुवा माथिको भित्ताभरि, गणेश, सिब पार्वती, बिष्णु, लक्ष्मी, सरस्वती, काली, दुर्गा, राम सिता, लबकुश आदिको ठुल्ठुलो फोटो सजाएको हुन्थ्यो | हरेक दिन ति फोटोहरूमा फुल झुन्ड्याएर धुप बाल्नु हुन्थ्यो | धुपौरोमा कोइला बालेर मिठो बास्ना आउनेगरी भैरुङ्ग्पाति धुप सल्काउनु हुन्थ्यो | सूर्यलाई पानी चढाएर आधा घण्टा उभ्नु हन्थ्यो आँगनमा | म त्यस्तो बाजेको नातिनी पुजा आजामा भन्दा काम कर्ममा विश्वास गर्ने भएँ | मेरो बाबा अलिअलि गर्नु हुन्थ्यो पुजा आजा, आमा त मै जस्तो |

बाजे खोलामा नुहाउन नगएको दिन बिहान रातको दुईबजे नै पँधेरो पुगेर अरुले नछुएको सफा पानी ल्याइदिनु पर्थ्यो | किनकी हामी कुवाको पानी खान्थ्यौं, ढिलो गए पानी सकिएको हुन्थ्यो त्यसैले बाजेको मुख धने पानी लिन आधारातमै कुवा पुग्नु पर्त्यो | त्यहाँ दुई ओटा कुवा थिए, त्यस कुवाहरूको पछाडी थुप्रै त्रिसुलहरू गाडिएको ठुलो देबिथान थियो ! बाजे औंसी पुर्णेमा त्यहाँ पनि पुजा गर्न जानु हुन्थ्यो | त्यहाँ छेत्छेती नागहरू बस्छन् उनीहरूको पुजा गरिरहे कुवाको पानी सुक्दैन भन्ने जन विश्वास थियो, म केही बर्ष अघि गाउँ पुगेकी थिएँ, त्यसबेला ईखाबु वडा नम्बर ६ लाई पुग्ने ति कुवाहरू सुकेर केही छैन अहिले | हाम्रो गाउँमा माहंबा नाम गरेको बार्हैमाश पानी बगिरहने एउटा खोल्सा थियो, बर्खामा त हामीले तर्न नसक्नेगरि पानी हुन्थ्यो तर अहिले गाउँमा अलैंचीखेति बढेर हो या जलबायु परिबर्तनले हो सुकेर उहिले यहाँ खोल्सा थियो भन्नु सुहाउने डोब मात्र छ | यस्ता कुराहरूले झनै बैराग चल्छ अचेल, अनि उहिले बाजे बोजुले मान्छे मासिने समय आउँछ | खोलानाला सुक्छ्न्, संसार ध्वस्त हुन्छ जिवजन्तू रहँदैन्न | मान्छे खिएर खुर्सानीको बोटलाई झट्टारो हान्ने, सिस्नुको रुख चढ्ने, बाख्राको बड्क्यौलामा भारी बिसाउने समय आउँछ भन्थे | के त्यो समयको सुरुवात त होइन ? जस्तो लाग्छ |

म बाजे बोजुसँग बसेकै बेला एक साल ठुलो असिना पानी परेर सबै बालीनाली नष्ट भएको थियो | पाक्न लागेको गहुँ एकोहोरे गोड्ने बेलाको मकै सबै सबै ढुट्टो भयो | खेतीपातीको भरमा गुजारा चल्ने तमोर खोला क्षेत्रमा ठुलो अनिकाल लाग्यो त्यो साल, मलाई अझै सम्झना छ, एकदिन माथि ५ नम्बर पीनेना बस्ने लेले कान्छा बाजे आएर आम्भुए ( दाजु ) माथि हाम्रोमा अलिअलि साग छ ल्याएर खानु नि ? भन्नु भएको रहेछ, म केटा केटीको कानले शा ( मासु ) भनेको सुने | हाम्रो भाषामा मासुलाई “शा” भनिन्छ | मासु खान दशैँ पर्खनु पर्ने ठाउँमा त्यसबेला कति मासु खाउँ लागेको थियो त्यो त मलाई मात्र थाहा छ | बाजे हिडे देखि फर्केर आइन्जेल बाटो हेरें, पीनेना गाउँ पुगेर फिर्न हिंड्न नसक्नेलाई दिनभरको बाटो थियो | बाजे बुढो मान्छे त्यै पनि अनिकालले जीर्ण भैसकेको बल्लैले साँझतिर आइपुग्नु भो | आँगनमा आइपुग्दै म दौडेर गएँ ! बाजेले त ठुलो कुम्ल्लो पो बिसाउनु भो सिकुवामा, आम्बो ! कति धेरै मासु भनेर छक्क परें म | बोजुले कुम्लो खोलेर हेर्नु भो, त्यहाँ त सागै साग पो थियो | मलाई कस्तो रुन मन लाग्यो, बोजु ! बाजे त मासु लिन जानु भएको होइन र ? भन्दै सोधें | ए बेला न कुबेला के को मासु बे ….. ? भन्दै हाँस्नु पो भो बोजु त | बाजेले कुम्लो बाँधेर ल्याएको त्यो साग निक्कैदीन अलिअलि मकैको पिठो र नुन हालेर खोले खायौं | त्यो सालको अनिकालमा हामी पनि घाँस निलेर गोबर ओकल्ने बस्तु जस्तै हरियै ओकल्ने भएका थियौं |

हरेक दिन म फूल टिप्न जान्थें, हाम्रो बारी मक्सिलोक जाने बाटोमा सेतो “सिता सारी फूल” बेस्सरी फुलेको हुन्थ्यो त्यै फूल डालोभरि टिपेर ल्याउँथे | पल्लो कोठेबारीमा कमल र गुलाबका ठुल्ठुला २,३ बोट थिए | सिजनमा त्यहाँ टन्न फूल फूल्थे, बाजे त्यै फूल देउताहरूलाई लगाई दिनु हन्थ्यो | बाजे पेन्सन थाप्न बिजनबारी जाँदा बिरुवा ल्याएर रोप्नु भएको भन्नु हन्थ्यो बोजुले |

सबै पुजा सकेर बल्ल खाजा खानु हुन्थ्यो बाजे | गाउँमा कतै कसैको घरमा साबुन हुँदैनथ्यो तर, हाम्रो घरमा बाजेसँग नुहाउने साबुन र लुगा धुने साबुन दुवै हन्थ्यो | लुगा धुने साबुन सकिंदा खरानीमा उसिनेर पनि लुगा सफा धुनु हुन्थ्यो | घरमा एकदम अनुसानले चल्नु पर्थ्यो, कहिले कहीं बाजेको तोङ्ग्बा लुकेर चुसेर पानी हालिराख्थे, तर कसरी कसरी बाजेले थाहा पाइहल्थे | “होइन मेरो तोङ्ग्बा कसले चुस्यो” ? भन्नु हुन्थ्यो ! म डरले काप्दै मैले भन्थें | गर्न त केही पनि गर्नु हुनन्थ्यो तै पनि डर लाग्थ्यो |

एकदिन साँझ बाजे र प्रताप सिङ्ग बाजे ससिङ्ग्बुङ्ग उकालोमा लड्दै आउंदै गरेको देखेर गाउँको केटाहरूले सम्हाल्दै घरसम्म ल्याउदिए | बाजेहरू दुवै बिहोस जस्तै थिए, म भर्खर स्कूलबाट आएर खाजा खाँदै थिएँ, बोजुले जा पर बारीमा गएर तितेपाती ले अनि धुएर खुलाई दे दुवै बाजेहरूलाई ? भन्नु भो | म हाम्रो पल्लो कोठेबारीमा पुगेर एकमुठा तितेपाती कुदाएर ल्याएँ | अनि पानीमा झ्याम्म झ्याम्म धुएर खुलाएं | बोजुले बाजेहरूलाई झुठो पर्यो तँ कन्ये केटीले खुलाउनु भन्नु भो |

दुवै बाजेले के के, के के बक्दै गोरुले घाँस खाए जसरी कुरुम्म कुरुम्म तितो तितेपाती चबाउनु भो | उहाँहरूले त्यसरी तितेपाती चबाउँदा मेरो पुरै मुख तितो भएको महसुस गरें | जिन्दगीमा के के पो भोग्नु परेन यो मान्छेसँग बिहे गरेर ? अब यै देख्न बाँकी थिएछ देखियो ? भन्दै एक एक लोटा पानी खन्याई दिनु भो बोजुले | त्यसदिन अहिले जस्तो पहाडमा पानीको धारा आँगनमा हुनु हो भने पुरै पाइप तानेर भिजाउनु हुन्थ्यो होला, त्यसबेला पानीको सुबिधा थिएन कुवाबाट बोकेको पानी एक एक लोटाले काम चलाउनु भो | त्यसदिन दुवै बाजेहरू हाम्रै सिखुवामा सुते | राती कतिखेर ब्युँझेर प्रताप सिङ्ग बाजे आफ्नो घर सेगुंवा जानु भो थाहै भएन | बिहान उठ्दा बाजे मात्र उठेर नुहाई धुवाई गर्दै हुनुहुन्थ्यो |

नुहाउँदा देखें बाजेको घुंडा र कुइनो पिल्सिएको थियो | यो हवल्दारनीले सरापेर यस्तो भो, भन्दै बाजे हाँस्नु भो, बोजुले (आभेल्लेई थिक्लेङ्ग आम्भा खात्ना केस्शी, थिक्यान थक्क पेगेरेब्बे ) एकदिन त्यतै मर्छौ छिरुवामा, रातदिन धाउनु पर्छ होइन ? भन्दै लिम्बु भाषामा कराउनु भो | हौ बुढी नकरा न म छु, ईष्ट मित्र छन्, गाउँ समाज छ र पो हिडीञ्छ | बाँचुन्जेल त हो, मरे पछि कसले देख्छ ? भन्दै मुसुमुसु हाँस्नु भो | ल किमाक्ली यहाँ आइज हिजो तैंले तितेपाती खुवाइस रे, ला पाँच रुपैयाँ जेला कन्ये केटीलाई ! भन्दै नयाँ पैसा पाँचको नोट दिनु भो खुशी हुँदै थापेर राखेँ |

समयको गति पछ्याउंदै म हुर्किरहें, गाउँमा कामको दुख भएपनि दिनहरू बित्दै थिए | एकदिन बिहान म एक्लै बौंसे गर्दै कोदो रोप्दै थिएँ, हाम्रो मन काइँला खैल पिम्बुंग भन्ने बारीमा | तल तिनिचोक जाने बाटोदेखि माथि साप्चुन्वा, सेतोबा जाने मूल बाटोको लप्सीबोट मुन्तिरसम्म हामीनै गर्थ्यौं त्यसबेला | बास्तबमा त्यो बारी बाजेको एकजाना बडा बाउको भागमा परेको रे, उनीहरू गाउँबाट आसामतिर बंसाई जाँदा बाजेले हकवालाको थैली हालेर खाइरहेको रे | पछि बाजेले आसाम पुगेर त्यो जग्गाधनी मन काइँला बाजेलाई आफ्नै देशमा जाउँ, यसरी अर्काको देशमा बस्न हुन्न भनेर लिएर आएर मधेश केर्खामा घर जग्गा बन्दोबस्त गरिदिनु भएको रे, उहाँहरू अहिले पनि त्यहीं बस्नु हुन्छ |

म माथिदेखि मेलो सक्दै सक्दै आउंदै थिएँ, त्यस बारीको दाहिनेतर्फ ठुलो बाँसको झ्यांग छ उक्त बाँस झ्यांग भन्दा उता भिरालो खरबारी छ त्यो पनि हाम्रै थियो | हामी हरेक साल त्यहींको खर काटेर घर छाउन्थ्यौ, त्यसबेला म बाँस झ्यांग छेउको ठुलो गाह्रामा रोप्दै थिएँ कोदो, झार अघिल्लो दिन नै उखालेर राखेकी थिएँ, त्यसदिन एक्लै बौंसे गर्दै (अलिअलि खन्दै ) कोदो रोप्दै गर्दै थिएँ | एक्कासी मलाई कस्तो कस्तो अनौठो महसुस भयो, मनै बिरक्तिएर आयो | ट्वाइलेट आउला जस्तो कस्तो हो कस्तो बुझ्नै नसकिने | मेलो छाडेर खरबारीमा पसें | थोरै पिसाप आयो जुरुक्क उठेर हेरेको पिसापमा रगत थियो म आतिएँ, लाह! अब खतम भएछ ! बोजुले मेलो मेसोमा पिसाप फेर्दा होसियार गर्नु अचानक विशालू जुका मुत्ने ठाउँबाट भित्र पसिगए मरिन्छ |

म मेलो छाडेर गवाँ गवाँ रुँदै घर पुगेँ, तर बोजु घरमा हुनुहुनन्थ्यो, रुँदै बाहिर भित्र खोजें कतै भेटिन | मलाई मर्नुदेखि सारै डर लाग्थ्यो, बोजु नभेटेपछि गाग्री स्थानमा हेरें त्यहाँ तामाको ठुलो गाग्री थिएन, लाग्यो बोजु पक्कै पानी लिन जानु भएको छ | घर पछाडी गएर बोजु आउने बाटो कुरेर बस्दै थिएँ परबाट बोजु आउंदै गरेको देखें, पेटीमा बसिरहेको म जुरुक्क उठेर रुँदै बोजुलाई समात्न पुगेँ होइन के भो यो केटीलाई ? म रुइरहेको देखेर कराउनु भो बोजु | बोजु मलाई जुकाले टोक्यो हुं …हुँ….हुं…एकोहोरो रुइरहें | होइन अनि जुकाले टोक्नु कुनै नौलो कुरो होइन त ? किन रुनु ? ईखाबुमा पहिलोपल्ट जुका देख्या हो र ? बोजूले भन्नु भो, होइन क्या …अर्कै ठाउँमा टोक्यो ! मैले भने, कता ? बोजुले सोध्नु भो | अप्ठ्यारो ठाउँमा क्या ! रुँदै फेरि भने | कस्तो अप्ठ्यारो ठाउँ भन्छे यो केटी ? हिंड भित्र म हेरिदिन्छु भन्दै मतानमा लैजानु भो | मैले जहाँबाट रगत बगिरहेथ्यो त्यै ठाउँ देखाएँ | लु हेर यो केटी त अब तरुनी पुगेछ, यो कहाँ जुकाले टोकेको हो र ? यो त तेरो “महिनावारी” पो भएको होला त ? लाटी ? बोजुले यति सम्म भनिसक्दा पनि थाहा थिएन | महिनावारी भएको हो भनेर, फेरि सोधेँ “महिनावारी” हुँदा पेट दुख्छ र ? दुख्छ नि लाटी पेट कम्मर सबै दुख्छ ! तँलाई रजस्वला भएको अब, यो मासिक हुन्छ उमेर पुगेपछि केटीहरूलाई | अब अरुको घरमा सुत्न जानु हुन्, धेरै केटा मान्छेहरू संग बोल्नु हुन्न बुझिस् ? किन बोजु ? भुँडी बोकिन्छ लाटी |

त्यसदिन देखि बोल्दा पेट बोकिन्छ भनेर म रुद्र सर, जीते दाजु र अन्य गाउँका कोही केटासँग पनि बोलिन | उनीहरू छेऊ आउँदा पनि पर,पर भाग्थे | कठै म र मेरो त्यो जमाना अचेल सम्झेर उदेक लाग्छ | यसरी म केटा केटीबाट युवावस्था प्रवेश गरेकी थिएँ | साथमा बोजु हुनुहुन्थ्यो, म पेट दुखेर रुँदै सुत्थें बोजुले कुखुराको अण्डा र टिम्मुरको झोलको सुप बनाएर खुवाउनु हुन्थ्यो | मलाई अहिले जस्तो लाग्छ बोजुले ताततातो अण्डा भित्र पोको पारेको सिल्टिमुर नचबाई निल है सर्किन्छ भन्नु भएको | बोजुलाई जुकाले टोक्यो भन्दै महिनावारी भएको बिजोग देखाएकोमा सारै सरम लाग्यो पछिसम्म तर बोजुले मेरो पुरा पुरा हेरचार गर्नु भो, म लजाएको देखेर किन सरम मान्च्छेस यो त प्राकृतिक हो आइमाई मान्छे सबैलाई हुन्छ भन्नु भो |

मैले मेलो मेसो टार्न थालेपछि बाजे बोजु पनि खुशी हुनु भो, घरको काम र मेलोमा म खेतालासंग हुँदा खाजा ल्याउने काम बोजुको हुन्थ्यो | एकदिन घरबारीमा मकै एकोहोरे गोड्दै थियौं साथीहरू सँग | तल्लोघर साइँला सुई सुई गर्दै माथि पिम्बुंग सिरानबाट करायो | हामीले खन्न छाडेर के भो ? भन्दै कराएर सोध्यौं | बाजे बिमारी भएर बोकेर ल्याउँदै छन् छिरुवादेखि भन्दै करायो साइँला | मेरो सातोपुत्लो उड्यो उसको कुरो सुनेर | तल्लोघर काँइली दिदीलाई घर गएर बोजुलाई भन्नु, म बाजेलाई लिनु गएँ ? भनि राखेर दौडिएँ ओरालो | बाजेलाई छिरुवाबाट ३ जना लाठेहरूले बोकेर ल्याउँदै थिएँ | थाहा थिएन बाजेलाई के भएको हो ? दाजु के भो बाजेलाई ? अतालिंदै सोधें खर्ला दाजुलाई, खर्ला छिरुवानी पुछारेको जेठा छोरा मेरो साथि लक्चुंडीको दाजु थियो | खोई बहिनी हाम्रोमा बस्दा बस्दै ढल्नु भो, हतार आमाले देखेर गुहार गुहार भन्दै कराउनु भो, म बाहिर काम गर्दै थिएँ हतार भित्र दौडेर जाँदा बाजे यो अबस्थामा थियो |

बाजेको एउटा खुट्टा र हात लत्रिएको थियो, मुख पनि बांगो थियो | मैले लत्रिएको खुट्टा बोकें एकदम भारि थियो | बल्लैले घर पुर्याएर सिखुवाको खाटमा सुतायौं, बोजुले हेरेर भन्नु भो लु मान्छे त कुजे पो हुने भएछ ? के गर्नु भनेको सुन्ने होइन ? अस्तिदेखि धेरै छिरुवा नजाऊ, जांड रक्सी नखाऊ भन्दा सुन्ने होइन ? भन्दै रिसाउनु भो | बोजुको कुरो सुनेर बाजेले आँखाभरि आँशु पार्दै बोल्नु खोज्नु भो, सायद सरि भन्न चाहनु हुन्थ्यो कि ! तर बोल्नु सक्नु भएन |

त्यसपछि बाजे निको हुनु भएन, मलाई झन् भार थपियो | कहीले कसो भ्याउँदा स्कूल जान्थें त्यो पनि छुट्यो | दिनमा बस्तु चरण लैजाने, साँझ बिहान दुध दुहुने, बस्तुको किल्ला सार्ने आदि काम मैले नै गर्नु पर्थ्यो | एक पल्ट गोरुको किल्ला ठोक्दा औंला किच्याएको दाग अझै बोकेर हिंडेकी छु | धान काट्दा लाग्ने हँसियाले एउटा औंला ख्वाप्पै चिरेकी छु, त्यसबेला बाजे म संगै हुनुहुन्थ्यो खेतमा, बाजे मैले औंला काटें …भनेर चिच्याएपछि, जा …जा पर गएर काटेको घाउमा पिसाप फेर …भन्नु भो, मैले उता कुनामा गएर त्यसै गरें त्यसपछि बाजेले काली झारको कलिलो मुन्टो माडेर हरियो झोल लगाइदिनु भो, काटेको घाऊ कम्ति मात्र पोलेको होइन त्यस कालिझारको झोलले | त्यसपछि आफ्नो पटुकीको सानो फेरो च्यातेर बाँधी दिनु भो | पिसाप र कालीझारको झोलले रगत रोकिएको देखेर म छक्क परें | त्यसबेला बाजेले भन्नु भो म दोस्रो बिश्व युद्ध लड्दा थुप्रै साथीहरूको चोट र आफ्नो चोटहरूमा मुतेको छु | मान्छेलाई थाहा छैन पिसाप बास्तबमै ठुलो औषधी हुन्छ चोट पटक लाग्दा | बाजे जहिले पटुकी बाँध्नु हन्थ्यो, दोश्रो बिश्व युद्धमा गोली फिलामा लागेर घाइते हुँदा आफुले आर्मीको लुगा भित्र लुकाएर बाँधेको पटुकीले घाऊ बाँधेर बम्करसम्म घिस्रिदै पुगेको कथा सुनाउनु हुन्थ्यो | म बाजे बोजुसँग बस्दाको आबिस्मर्णिय यादहरू यहाँ लेखेर त सकिने छैनन्, तै जे जति यादमा आउञ्छ्न समेट्ने कोशिस मात्र हो मेरो |

बाजे बिमारी भएको २ महिनापछि बल्ल खबर पाएर बाबा र कान्छा काका आउनु भो | त्यसबेला चिट्ठी चपेटा बाहेक अरु माध्याम नै थिएन खबर आदान प्रदान गर्नलाई | कान्छा काका धरानमा बसेर पढ्दै हुनुहुन्थ्यो, बाबा फिदिमबाट आउनु भएको थियो | बाबा र काका आईपुगेको केहीदिन बाद लिङ्खिमबाट जेठी फुपू र उहाँको जेठी छोरी फरा लुंवा पनि रुँदै कराउंदै आइपुग्नु भो | मामा र फुपुका छोरा छोरीलाई लुंवा भन्ने चलन छ लिम्बु संस्कारमा | फरा लुंवा गोरी राम्री थिइन् त्यसैले फरा नाम राखेका थिए, लिम्बु भाषामा “फरा” भनेको गोरो या गोरी हो | फरा लुंवा र फुपू आइपुगेको केही दिन बाद कान्छी फुपू पनि खोक्लिङ्ग सिरान चनग्जिपुङ्गबाट आइपुग्नु भो | कान्छी फूपुले चाँही लुंवाहरू ल्याउनु भएन, अलिक वर दुरिङ्ग्मा बस्ने हाम्रै बोजुको कान्छी बहिनीको छोरी कान्छीलाई साथि ल्याउनु भएको थियो |

बाजेलाई सिहार्ने म भएर होला, बाजे मलाई नै खोजिरहनु हुन्थ्यो | मामु मलाई बाहिर लैजा भन्नु हुन्थ्यो, स्ट्रोक भएको केहीदिनपछि बाजेको बोली प्रष्ट नभएपनि हल्का बुझिने गरि फर्केको थियो, हाम्रो घर मास्तिरको लह्वा कान्छा बाजेले उहाँको उचाई अनुसारको बाँस कोपेर बैशाखी बनाई दिनु भएको थियो | उहीं बैशाखी टेकाएर बाहिर भित्र गरौँथे | बाजेको पुरानो बिमार हर्षा पनि थियो, एकदिन बिहानै बाजेलाई दिसा गराउन बाहिर लगें, जबदेखि बाजे प्यारालाइस हुनु भो तबदेखि उहालाई छुठ्वा भाँडामा दिसा गरौँथे, त्यसदिन पनि त्यसैगरी भाँडा प्रयोग गर्नु भो, जब बाजेले दिसा गर्न थाल्नु भो म छक्कै परें, रातै खशी काटेर थापे जस्तो अन्न रहितको निस्तो रगत दिसा गर्नु भो | म अतालेर बोजु….बोजु ? भन्दै कराउन थालें, बोजु आउनु भो, मैले एक आरी रगत बोकेर टुक्रुक बसिरहेकी थिएँ | बाजे वैशाखी टेकेर उभिरहनु भएको थियो | ए …यो मान्छेको हर्षा बल्झिएछ भन्नु भो बोजुले अनि बल्ल थाहा भो हर्षा हुँदा मान्छेले रगत दिशा गर्दा रहेछन् भन्ने | अब बाजे हामी माँझ धेरै नरहने पो हो कि ! भनेर त्यसदिन देखि मलाई बाजेको झन् माया लागेर आयो |

एउटै गतिमा घुमिरहेको घडी ब्याट्री सकिएर रोकिए झैं, बाजे बिमारी भएपछि हाम्रो पनि दैनिक काम काजहरू रोकिएका थिए | मक्सिलोक र तल मुल्बरीमा मकै एकोहोरे गोड्न बितिरहेको थियो, बस्तुभाउहरूको गोठ सार्ने, गोबर सोहर्ने, मही पार्ने आदि काममा बाधा पुगेको थियो | एकदिन साँझ पाहुनाहरू हुँदै मेलो सक्ने भनि बोजु नातिनीले सुटुक्क सल्लाह गर्यौं |

सल्लाह अनुसार फुपुहरू बाजेसँग बसे, मैले दुरिङ्ग्माबाट आएकी पाहुना फुपू र लिङ्ग्खिमबाट आउने फरा लुंवा लिएर मेलो निस्किएँ | कान्छा काकाले पनि सघाउनु भो | मैले छिरुवाबाट काली र कल्चुंडीलाई पनि पर्न (खेताला पैंचो ) तिर्न बोलाएँ, उनीहरूले पहिलेनै मलाई पर्म सघाउन फेरिम्म काइँला बाजेकोमा लागेका थिए | त्यसदिन हामी सेंवाको सक्रान्ति बजारमा रातभरि धान नाचेर निन्द्रासरि आलु गोड्न फेरिम्म पुगेका थियौं | फेरिम्म ईखाबूदेखि नुक्वा खोला तरेर नुग्देन खेत हुँदै तेंवा खोला नतरी उकालो जानु पर्छ, फेरिम्ममा जम्मा दुईघर राईहरू थिए त्यसबेला | निन्द्राले मातेर आलुको बदला आफै उम्ब्रिएको (नाभो ) फापर गोड्दै आइरहेकी रहेछ निक्कैपरदेखि नै | मेरो मेलो हेरेर फेरिम्म काँइला बाजे परबाट लामो जुँगा बटार्दै “होइन यो आलु उखालेर (नाभो) फाबर गोड्ने कसको छोरी हो ?” भन्दै कराउनु भो | बाजे कराएपछि बल्ल म झसंग भएँ | त्यतिन्जेल निन्द्रामै रहेछु | फर्केर हेर्दा देखें पाँच, छ बोट आलु उखालेर फालेकिरहेछु अनि उखालेर फाल्नु पर्ने (नाभोबा ) फापर चाँही गोडेछु | बाजे माफी चाहान्छु भन्दै हात जोड़े ! बाजेले ठुलो स्वरमा तिमी कसको छोरी हो ? भनेर सोध्नुभो, मैले ईखाबू हल्दारको नातिनी हुँ भने ए ! ल ठिक छ अब त्यसो नगर्नु बुझ्यौ ? तिम्रो बाजे मेरो मिल्ने साथि हो भन्नु भो बल्ल ढुक्क भो मन | किनकि फेरिम्म काँइला बाजे त्यस भेगकै धनी र छुच्चा पनि मानिन्थे |

एक हप्ता भित्र दुई मेलो उतारेर आनन्दको स्वास फेरें | दिनभरि मेलो खनाएर राति धान नाच्ने तन्नेरी बटुल्नु पर्ने जिम्मेवारी पनि थियो पाहुना फुपुको लागि | सुरुका केहीरात त दाजुहरू मज्जाले आएर धान नाचे, पछिका दिनहरूमा अल्सी गर्न थाले कि किन हो आउनै छाडे | गाउँमा आएको पाहुना खालि राखे अपमान हुने ठानेर तल्लोघर काँइली दिदीलाई जुवारे ठुले ( हालको चन्द्र काम्बाङ्ग ) दाजुको दौरा सुरुवाल, टोपी, गम्सा आदि लगाउनु लगाएर उभ्यायौ हाम्रो आँगनमा | रात जुनेली थियो, पाहुना फूपुले चिन्छ भनेर नबोली उभ्नु है पालाम बरु हामीनै भन्छौं ! भनेर सल्लाह गर्यौं | मैले भने फुपू आज अरु दाजुहरू आउन भ्याएनन् र तिनिचोक माइला दाजु एक्लै हुनु भो, उहाँ त्यति धान नाच्नु हुन् र पालाम पनि आउन्दैन त्यसैले दाजुको तर्फको पालाम हामी भन्छौं हुन्छ ?
बिचरा पाहुना फूपुले भैहाल्छ नि भदैनी भन्नु भो | अनि केटा बनेको दिदीले तरुनीको हात समात्नु भो हामीले फुपुको एउटा हात सम्त्यौ अनि धमाधम पालाम भन्न सुरु गर्यौं | हामीले पालाम सकेपछि केटी तर्फको उहाले जवाफ फिर्काउनु भो | धान नाचिसकेर मैले चिया बनाएर ल्याएँ अनि आँगनमा बसेर पियौं | त्यसबेला काँइली दिदी कपडा फेर्न गैसक्नु भाको थियो” होइन अनि यत्रो धान नाच्दा पनि मलाई खबर नगरेको” ? म त कस्तो सुतेछु थाकेर होइट ? भन्दै केटा बन्ने दिदी आफ्नो साबिक केटी भेषमा आइपुगिन् उसको कुरो सुनेर सबै मरि मरि हाँस्यौं |

बाबा मावली बाजेबोजु र भाइ भेट्न फेम्बु जानु भएको थियो | बाबा गाउँमै भएपनि मेलो निस्कनु हुन्नथ्यो, म साँझ मेलोबाट डोकोभरि कुट्टो कोदालो बोकेर आउँदा ठुलो स्वरले स्वाबास ! मेरो छोरी काम गर्न सक्ने भैछे, तेरो बाजे बोजुको आसिर्बाद कतै जान्दैन है ? भन्नु हन्थ्यो | मलाई कस्तो चित्त दुख्थ्यो बाबाको कुरोले, अंह हो नि म त तपाईंको छोरी भा पो पल्टनमा राख्नु हुन्थ्यो त ? भन्दै खुट्टा पाछार्थे, बाबा मुख छोपेर मुसुमुसु हाँस्नु हुन्थ्यो | म बाबासँग टाढा बसेर हुर्कीएकिले होला, बाबासँग खासै नजिक भईन सानोमा |

बाजे ६ महिना थलिएर २०४२ साल पुसमा बित्नु भो | त्यसदिन बिहान सबेरै उठेर मैले बाजेलाई नुहाउने पानी ल्याईदिएँ, बाजे जाडो महिनामा पनि चिसै पानीले नुहाउनु हुन्थ्यो | त्यसदिन पनि साजी पानी तयार गरेर नुहाउने ठाउँमा बाजेलाई लगें, बाजे जहिले पनि नुहाउँदा एउटा काठको अग्लो कुर्सीमा बस्नु हुन्थ्यो | त्यसदिन पनि त्यहीं बसाएँ |

त्यस जमानामा पनि दाँत ब्रस र टुट्पेस्टले दाँत मोल्ने, साबुनले मुख धुने, हरेक दिन नुहाउने मेरो बाजे सबै भन्दा अलग लाग्थ्यो मलाई | किनकि गाउँका अन्य बुढा पाकाले दाँत मोल्न त कुन्नि नुहाएको पनि देखिन | हरेक बिहान नुवाइ धुवाई सकेर बैशाखीमै उभिएर भएपनि धुप बालेर पुजा गर्नु हुन्थ्यो, जम्मै पुजा समान म तयार गरिदिन्थें | त्यसदिन पनि बाजेले दाँत ब्रस गर्न थालेपछि म पुजा सामग्री तयार गर्न सिखुवामा आएँ, धुपौरोमा कोइला हाल्न चिम्टा र धुपौरो बोकेर भित्र चुलामा जाँदै थिएँ, अचानक बाजेको अनौठो आवाज सुने, दौडेर बाजे भएको ठाउँ पुग्दा दाँत ब्रस गरिसकेर जिब्रीले जिब्रो निकालेर कोर्दै गर्दा सास रोकिएछ | बाजे टाँरमा अरट्ठ भएर ढल्न लाग्नु भएको थियो, सकी नसकी थाम्ने कोसिश गर्दै टाउको उठाएर बाजे …बाजे भन्दै बोलाएँ, म कराएको सुनेर बोजु पनि आउनु भो, तल्लोघरबाट दाजु दिदीहरू पनि आउनु भो, पल्लोघरको ताल्लिमेनी तुम्मा पनि आइपुग्नु भो सबै मिलेर बाजेलाई भित्र लगेर विस्तरामा सुतायौं | बाजेको तातो ढुकढुकी सेलिंदै गैरहे झैं लाग्यो, कतिखेर आयो मृत्युको त्यो कालो हुरी केहीबेरमै उड्यो बाजेको प्राण | शरीर तातो रहुन्जेल रहने रहेछ नाम, सेलिएपछि त मात्र लाश, बाजेको झरझर उज्यालो अनुहार हेर्दा हेर्दै रगत बिहिन बन्यो | बोजुले (केम्ब्रान सुब्बे ऑल) तिम्रो मुख बन्द गर अब हल्दार ए ? भन्दै मुख बन्द गरिदिनु भो, हामी हेरेको हेर्यै भयौं | घरमा रुवाबासी चल्यो, बाजे ७० पनि पुग्नु भएको थिएन | साइँला काका फेम्लिवाला भएर हंगकंगमा हुनुहुन्थ्यो | कान्छा काका धरानमा, मेरो बाबा आमा र भाइहरू फिदिममा | जेठा तुम्बा बाजे बिमारी भएको खबर पाएर भर्खर आउनु भएको थियो | त्यतिबेला तुरुन्त खबर गर्ने माध्यम नभएकोले लाश राखेर पर्खने कुरो पनि भएन ! नजिकका फुपुहरूलाई लिन चाँही गाउँबाट मान्छे कुदाइयो, बाबा काकाहरू त पछि बर्खन्तमा मात्र आइपुग्नु भो | बाजे बित्दा म बेस्सरी रुएं, बोजुले नरु नानी तैंले कति सिहारिस, तेरो बाजे खुशी भएर गयो मर्ने बेलामा सारो दुख पनि दिएन त्यै कुजे भएर आफैले दुख भोग्यो ६ महिना त्यति त हो सन्तोष गर | बोजुको अनुहार टुलुटुलु हेरिरहें, बोजु रुनु भएन कति आँटिलो जस्तो लाग्यो | बाजेको साश बिहानै गएकोले त्यै दिन खोलामा लगे, बाजे खरानी भएर तमोर खोलै खोला स्वर्ग जानु भो, हामीले धन बहादुर काम्बाङ्ग नाम चौतारोको सिलालेखमा अटल रहने गरि खोप्यौ |