मिलन र आरकेको रोधीघर भाग ३ आउँदै

गोर्खा मिडिया संवाददाता
 
 
 

लन्डन ७ जनवरी । नेपाली मौलिक गीतहरुको स‌ंगालो रोधीघर (चुट्का/कौह्रा) भाग ३ बन्ने भएको छ ।

रोधीघर भाग १ र २ को अपार सफलतापछि गीतकार एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र गायक, संगीतकार तथा रचनाकार रामकुमार (RK) गुरुङले तेस्रो भाग ल्याउने तयारी थालेका हुन् । नयाँ म्युजिक भिडियोको रेकर्डिङ र छायांकन नेपालमै हुने सर्जक तमुले जनाए ।

भूपू ब्रिटिस आर्मी एवं फोटोग्राफर समेत रहेका तमु र आरके गुरुङले २०७५ सालमा रोधीघर भाग २ ल्याएका थिए । ‘पहिलो र दोस्रो भाग धेरैले मन पराउनुभयो । त्यसैले नयाँ भाग तयार गर्दैछौं,’ गीतकार तमुले भने । यसअघि नै रोधीघर भाग ३ ल्याउने तयारी भए पनि कोरोना भाइरस महामारीका कारण ढिला भएको तमुको भनाइ छ ।

नयाँ गीतमा पुरुष आवाज आरके गुरुङले दिनेछन् । महिला स्वरका लागि भ्वाइस अफ नेपाल तथा नेपाल आइडलमा जोडिएका कलाकारहरुसँग कुराकानी भइरहेकोले तमुले बताए ।