कविता : नयाँ वर्ष

गोर्खा मिडिया संवाददाता
 
 
 

शिशिरको नाङ्गो रुख हरियाली छायो
जता हेऱ्यो उतै सुन्दर प्रकृति मुस्कुरायो ।

पुस-माघ चिसो बतास घाम लागे पनि
मन त्यसै उराठिन्छ नयाँ वर्ष आए पनि ।

सबैजना घरभित्रै बसी-बसी दिन बित्यो
कोरोनाको त्रासदीले सबै बन्दी नै बन्यो ।

भयभीत हाहाकार सारा संसार रुवायो
यो मानव क्षति किन प्रकृतिले जन्मायो ।

ठूला साना बुढाबूढी सबै भयभीत छन्
सहर बजार गल्ली चोक सुनसान छन् ।

मडारिने हो कि बादल मेरो देशमा पनि
दूरभूमिमा बसे नि चिन्ता स्वदेशकै हुनी ।

ओमिक्रोनले सारा जगत फैलाइरह्यो डरैडर
निर्मूल होस् नयाँ वर्ष नौलो रोगको कहर ।

सद्भाव बढून् सुकिला बनून् सबैका तनमन
नयाँ वर्षको सबैलाई यही छ शुभकामना ।