इङल्याण्डमा अब कोरोना संक्रमणको लक्षण देखिएमा सात दिन मात्र आइसोलेसनमा बसे पुग्ने

गोर्खा मिडिया संवाददाता
 
 
 

लण्डन डिसेम्बर २२ । इङल्याण्डमा अब कोरोना संक्रमणको लक्षण देखिएमा सात दिन मात्र आइसोलेसनमा बसे पुग्ने भएको छ ।

आइसोलेसनका क्रममा ल्याटरल फ्लो टेष्ट गर्दा नेगेटिभ रिजल्ट आएकाहरुलाई अब सात दिनमै आइसोलेसनबाट बाहिर आउन सक्ने बताइएको छ । आइसोलेसनमा बसेकाहरुले छैटौँ दिनमा टेष्ट गर्दा नेगेटिभ रिजल्ट आए उनीहरुले आइसोलेसन सातौँ दिनमा टुङ्ग्याउन पाउने छन् ।

यसअघि १० दिन आइसोलेसनमा बस्नै पर्ने प्रावधान थियो ।

बेलायतका स्वास्थ्य मन्त्री साजिद जाभिदले ओमिक्रोन तीव्र दरमा फैलिरहेकाले त्यसबाट हुनसक्ने असरलाई रोक्न नयाँ निर्देशनले सहयोग गर्ने अपेक्षा गरेका छन् । उनले स्वास्थ्यविद्हरुसित परामर्श गरी यो निर्णय गरिएको पनि बताएका छन् ।

ओमिक्रोनको संक्रमणबाट स्वास्थ्य, रेलवे तथा अन्य क्षेत्रमा कर्मचारीको अभावमा पर्ने प्रभावलाई समाधान गर्न नयाँ निर्देशन ल्याइएको बताइएको छ ।

नयाँ निर्देशन खोप लगाएका नलगाएका सबैलाई लागू हुने छ । तर यदि सातौँ दिनमा पनि लक्षणहरु अझै देखिइरहेको छ भने आइसोलेसनबाट बाहिर नआउन अधिकारीहरुले अनुरोध गरेका छन् । साथै आइसोलेसनमा आउने बित्तिकै नाजुक स्वास्थ्य स्थिति भएका व्यक्तिहरुलाई नभेट्न र भीडभाडमा नजान पनि भनिएको छ ।

नयाँ निर्देशन घोषणा गर्दै युके हेल्थ सेक्युरिटी एजेन्सीले ओमिक्रोन संक्रमण जनसेवाका लागि गम्भीर जोखिम रहेको बताएको छ । कार्यकारी निर्देशक जेनी ह्यारिसले नयाँ नियमले संक्रमणको संजाल पनि तोड्ने र जनजीवनमा पनि कम प्रभाव पार्ने बताइन् ।

अहिले बेलायतमा कोरोना संक्रमण भएमा वा संक्रमणको लक्षण देखिएमा १० दिन आइसोलेसनमा बस्न पर्ने नियम छ । सरकारले क्रिसमसपछि संसद शुरु हुनासाथ यस नियमलाई परिवर्तन गरी सात दिनमा झार्ने योजना बनाएको छ । त्यतिन्जेलका लागि यो एउटा निर्देशनका रुपमा मात्र रहने छ