एनआरएनए यूकेको निवर्तमान अध्यक्ष गुरुङ कञ्जरभेटिभ पार्टीमा आबद्ध

गोर्खा मिडिया संवाददाता
 
 
 

लन्डन डिसेम्बर १२ । एनआरएनएए यूके इतिहासकै पहिलो र एकमात्र महिला अध्यक्ष पुनम गुरुङले बेलायतको बेजिङस्टोक क्षेत्रमा कञ्जरभेटिभ पार्टीको ‘महिला प्रमुख’ को जिम्मेवारी प्राप्त गरेकी छन् ।

बेजिङस्टोक कञ्जरभेटिभ एशोसिएसनले हालै उनलाई कञ्जरभेटिभ वुमन अर्गानाइजेसनको ‘चेअर’ मा नियुक्त गरेको हो । गत डिसेम्बर ३ का दिन सांसद मारिया मिलरको उपस्थितिमा एक कार्यक्रमबीच पार्टी कमिटीले गुरुङलाई नयाँ जिम्मेवारीमा स्वागत गरेको छ । त्यसअवसरमा बेजिङस्टोक कञ्जरभेटिभ एशोसिएसनका अनररी सेक्रेटरी तथा साउथ इस्ट इंग्ल्यान्ड सदस्यता विभाग उपप्रमुख एन्ड्रु हेन्डरसन, एशोसिएसन अध्यक्ष नाइजेल म्याकनेयर स्कट र प्रमुख एफी ग्र्यान्ट, काउन्सिलर लारा म्याकुनारा लगायतका पार्टी नेताहरुको उपस्थिति थियो ।

त्यस्तै, काउन्सिल लिडर अरुण मुलम्मालानेनी र काउन्सिलरहरु जय गनेश, समीर, अबिगेइल र धनपति, कोषाध्यक्ष टिम, बेजिङस्टोक हिन्दू कम्युनिटीका अध्यक्ष किशोर पटेल लगायत पनि कार्यक्रममा उपस्थित थिए । पार्टीको महिला प्रमुखका रुपमा स्थानीय महिलाहरुलाई राजनीतिमा आकर्षित र प्रोत्साहित गर्नु गुरुङको मुख्य जिम्मेवारी रहनेछ । उनको कार्यकाल आगामी तीन वर्ष रहनेछ ।

बेजिङस्टोक क्षेत्रमा सत्तारुढ कञ्जरभेटिभ पार्टीले ५० वर्षभन्दा लामो समयपछि चेयरवुमन (महिला प्रमुख) नियुक्त गरेको हो । उक्त जिम्मेवारी प्राप्त गर्नेमा गुरुङ नेपाली समुदायबाट मात्र नभइ जातीय अल्पसंख्यक समुदायबाटै पहिलो हुन् । गुरुङ प्रमुख रहेको पार्टीको महिला विभागको डेपुटी प्रमुख स्थानीय काउन्सिलमा निर्वाचित काउन्सिलर छन् ।

सामाजिक कार्यहरुमा लामो समयदेखि सक्रिय गुरुङले एनआरएनए यूके अध्यक्षको कार्यकाल पूरा गरेपछि बेलायतको कञ्जरभेटिभ पार्टीमा सक्रिय बनेकी हुन् । बेजिङस्टोक नेपाली कम्युनिटीको सल्लाहकारका रुपमा यसअघि पनि उनले स्थानीय नेपाली र बेलायती दुवै समुदायसँग मिलेर काम गर्ने अवसर पाएकी थिइन् । त्यसबाहेक बेलायतकै अग्रणी तमुधिं यूकेको आमा समूहकी संस्थापक अध्यक्ष रहेकी गुरुङ विगत ८ वर्षदेखि ‘रेस फर लाइफ’ मार्फत् क्यान्सर रिसर्च यूकेको सहयोगमा खटिंदै आएकी छन् ।

एनआरएनए यूकेमा पहिलो महिला अध्यक्षको किर्तिमान बनाउन सफल गुरुङले सन् २०१९-२१ कार्यकालको ‘कमाण्ड’ सम्हालेकी थिइन् । त्यसअघि एनआरएनए यूकेमै एक कार्यकाल उपाध्यक्षको रुपमा उनले काम गरेकी थिइन् । बेलायतमा प्रपर्टी, हस्पिटालिटी क्षेत्रका विभिन्न व्यवसायमा संलग्न गुरुङले नेपालमा त्रिचन्द्र कलेजबाट राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेकी छन् ।

बेलायतको राजनीतिमा अघि बढ्दै गरेकी गुरुङले समाजसेवाकै लक्ष्य राखेर राजनीतिमा सक्रिय बनेको बताउँछिन् । नेपाली तथा सिंगो अल्पसंख्यक समुदायबाटै पहिलोपटक उक्त जिम्मेवारीमा नियुक्त भएको र पूर्व गोर्खाको परिवार समेत रहेका कारण पार्टीले आफूमाथि ठूलो आशा राखेको भन्दै उनले आफ्नो जिम्मेवारीमा इमान्दार भएर लाग्ने अठोट व्यक्त गरेकी छन् ।