ब्रिटिस गोर्खाहरुलाई भारतीय गोर्खाले पाउने पेन्सनको १४० प्रतिशतमात्र

गोर्खा मिडिया संवाददाता
 
 
 

लन्डन डिसेम्बर १० । बेलायत सरकारले ब्रिटिस गोर्खाहरुलाई भारतीय गोर्खा सैनिकले पाउने पेन्सनको १४० प्रतिशतमात्र पेन्सन दिने भएको छ ।

बेलायती रक्षा मन्त्रालयले यसअघि प्रस्ताव गरेको पेन्सन योजनाको परामर्शमा आएका सुझावहरु मनन् गर्दै सो निर्णय गरिएको हो । मन्त्रालयका अनुसार गोर्खा पेन्सन योजनामा रहेका गोर्खाहरुलाई सन् २०१६ जनवरी १ देखि सो पेन्सन दिइने छ । जसमा दर्जाअनुसार कम्तीमा १० प्रतिशत पेन्सन वृद्धि हुने विश्वास मन्त्रालयले लिएको छ ।

मन्त्रालयले सातौँ केन्द्रीय पेन्सन योजनालाई लागू गर्न एक प्रस्ताव बनाएको थियो । जसमा ब्रिटिश गोर्खाहरुलाई सन् २००० मा प्रतिवद्धता गरेअनुसार भारतीय गोर्खाहरुले पाउने पेन्सनको २०० प्रतिशत दिन नसकिने भन्दै १४० प्रतिशतको प्रस्ताव गरिएको थियो ।

डिसेम्बर २०२० मा बेलायती रक्षा मन्त्रालयले सो प्रस्ताव तथा अन्य वैकल्पिक प्रस्तावहरुमाथि सरोकारवालाहरुसित १२ हप्ता लामो परामर्श शुरु गरेको थियो । दुई वटा अनलाइन मिटिङ र इमेल तथा पोष्टबाट आह्वान गरिएको परामर्शमा २९ वटा सुझाव आएको मन्त्रालयले जनाएको छ । जसमा कसैले पनि मन्त्रालयको प्रस्तावमा सहमति नजनाएको पनि बताइएको छ । सबै सुझावमा भारतीय गोर्खाले पाउने पेन्सनको २०० प्रतिशत पेन्सन दिइनु नै उचित हुने जिकिर गरिएको थियो । तथापि बेलायती रक्षा मन्त्रालयले ती सुझावहरुप्रति आफूहरु सहमत हुन नसकेको र आफूहरुको प्रस्ताव नै सान्दर्भिक रहेको जिकिर गरेको छ । ब्रिटिश गोर्खाहरुलाई नेपालमा सहयोग गर्नका लागि हालै गरिएका प्रबन्धले भारतीय गोर्खाहरुसितको तुलनामा जीवनभरको सहयोग तुलना गर्न सजिलो हुने बताइएको छ ।

मन्त्रालयले अहिले व्यवस्था गरिएको १४० प्रतिशत पेन्सनको प्रावधानले सन् २०२० सम्ममा भारतीय गोर्खाहरुको पेन्सनको तुलनामा कम्तीमा १६० देखि २०० प्रतिशतसम्म ब्रिटिश गोर्खाहरुको पेन्सन बढ्ने पनि बताएको छ ।