तमु धिं यूकेले आगामी डिसेम्बर २६ मा ल्होछार मनाउने, उपाध्यक्ष जुमकाजी गुरुङ कार्यक्रम संयोजक

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

लण्डन नोभेम्बर २३ । तमु धिं यूकेले आगामी डिसेम्बर २६ तारिख आइतबार अल्डरसटस्थित एम्पायर हलमा ल्होछार २०२१ मनाउने भएको छ ।

नोभेम्बर २० तारिख शनिबार बसेको वार्षिक साधारणसभाले उपाध्यक्ष जुमकाजी गुरुङको संयोजकत्वमा ल्होछार कार्यक्रम मनाउने निर्णय गरेको हो ।
गत वर्ष कोभिडको कारण मनाउन नपाएको ल्होसार यस पटक भने धुमधामसँग मनाउनको लागि तयारी गर्न शुरु गरिसकेको कुरा स्वयम संयोजक तथा उपाध्यक्ष जुमकाजी गुरुङले जनाए ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने मूलनाराका साथ तमु धिं यूकेले हरेक वर्ष मनाउँदै आइरहेको तमु ल्होछार यस पटक पनि बिशेष र भब्यताका साथ मनाउन लागेको छ । स्थानीय कलाकारहरु र नेपालबाट पनि कलाकारहरु मगाएर भरपुर मनोरन्जनकासाथ मनाइने ल्होछारमा यो साल चर्चित लोक दोहोरी गायक द्वय- पवित्र गुरुङ तथा दुर्गा गुरुङलाई नेपालबाट बोलाउने कुरा संयोजक जुमकाजी गुरुङले जानकारी गराए ।

तमु धिं यूकेको आजीवन सदस्यहरुलाई नि:शुल्क र अन्य सदस्यहरुको लागि प्रबेश शुल्क १५ पाउण्ड तोकिएको छ । बेलुका ५ बजेबाट शुरु हुने उक्त कार्यक्रम रातको ११:५९ बजे समाप्त हुनेछ । बिगतका बर्षहरुमा रिडिङ स्थित रिभरमिड लेज्युर सेन्टरमा ल्होसार मनाउँदै आए त पनि यसपटक भने नेपालीहरुको बाक्लो बसोबास रहेको क्षेत्र मिनी नेपाल भनेर चिनेने अल्डरसट स्थित एम्पायर हलमा ल्होसार मनाउने भएको छ । कार्यक्रममा मिष्ठान भोजनसँगै स्थानीया कलाकारहरुको नृत्य, प्रतक्ष्य/लाइभ म्युजिक सँगै बिभिन्न मनोन्जनका कार्यक्रम हुनेछन् ।

कार्यक्रममा नेपाली राजदुताबसको उपनियोग प्रमुख रोशन खनाललाई पनि आमन्त्रण गरिनेछ । गुरुङहरुको (तमुहरुको) बर्ग चक्र अनुसार यस साल गाई बर्गलाई (ल्वो ल्होलाई) बिदाइ गरेर बाघ बर्गलाई (तो ल्होलाई) स्वागत गर्ने बर्ष हो । यूके लगयात बिभिन्न देशका गुरुङ र गुरुङ संघसंस्थाले ल्होसार धुमधामसँग मनाइन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *