भूपू गोर्खाका समान पेन्सनबारेको हस्ताक्षरमा सोमबार बेलायती संसदमा बहस, सत्याग्रहले प्रदर्शन गर्ने

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

लण्डन नोभेम्बर २० । गोर्खा भूतपूर्व सैनिकहरुलाई समान पेन्सन दिन माग गर्दै बेलायती संसदमा सर्वसाधारणले बुझाएको हस्ताक्षरमाथि सोमबार बहस हुने भएको छ । साँझ ६ बजे हुने बहसमा हस्ताक्षर समितिका सदस्य सांसद जोनाथन जुलिसले बहसको आरम्भ गर्नेछन् र त्यसपछि सबै पार्टीका सांसदहरुले बहसमा आफ्ना धारणा राख्नेछन् । सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारको प्रतिनिधित्व गर्ने मन्त्रीले दिन पर्नेछ ।

बहस प्रत्यक्ष रुपमा हेर्न भने सो हस्ताक्षर अभियानका शुरुवातकर्ता रोय बिङ्कलेले मात्र पाउनेछन् तर घरमै बसेर पार्लियामेण्ट टिभीबाट लाइभ पनि हेर्न सकिने छ । गत जुलाईमा बिङ्कलेले गोरखाहरुलाई ब्रिटिश समकक्षीसरह पेन्सन दिन माग गर्दै अनलाइन हस्ताक्षर संकलन अभियान शुरु गरेका थिए । छोटो समयमै सो अभियानमा १ लाख ६ हजारले समर्थन जनाएका थिए ।

बेलायतमा निश्चित संख्यामा सर्वसाधारणले हस्ताक्षर संकलन गरेपछि संसद र सरकारले जवाफ दिनपर्ने प्रावधान छ । सरकारले सो हस्ताक्षर अभियानको प्रतिक्रिया दिँदै अगष्ट १९ मा गोरखाहरुलाई भेदभाव नगरिएको जिकिर गरेको थियो ।

गोर्खाहरुले बेलायती संसदमा बहस भइरहँदा संसद् भवन बाहिर प्रदर्शन गर्ने भएका छन् । पार्लियामेण्ट स्क्वाएरमा सो दिन बेलुका ५ बजे उपस्थितिका लागि गोर्खा सत्याग्रहले अनुरोध गरेको छ ।