तुम्बाको बिहे र बाजेको युद्ध

जानु काम्बाङ्ग लिम्बू
  •  
  •  
  •  

अन्ततोगत्वा लुगाफाटाको कुम्लो बोकेर म घर पुगेँ | नातिनी ठूली भएर घर फिरेको देख्दा बाजे बोजु सारै खुसी हुनु भो, घरमा सहारा पनि त कोही थिएनन् | कान्छा काका धरानमै पढ्दै हुनुहुन्थ्यो, बाबा आमा र भाइहरू धनकुटा देब्रेबासमा थिए | साइँला काकाकाकी हङकङ पल्टनमा | जेठा तुम्बा पनि धेरै वर्ष आसाम बसेर भर्खरमात्र आउनु भएको थियो | हाम्रो लिम्बु समुदायमा सन्तान पढाउने, लेखाउने भन्दा भर्ती पठाउने चलनलाई प्राथमिकता दिइन्थ्यो अथवा दिइन्छ | सायद जेठा तुम्बाको पनि भर्ती लाग्ने सपना पूरा नभएपछि आशामतिर बरालिनु भएको होला | मलाई अझै सम्झना छ हामीसँगै पढ्ने केटाहरू उमेर पुगेपछि क्याम्पस पुग्ने होइन धरान घोपा क्याम्प र पोखरा हुँदै हङकङ, यूके र सिंगापुर कसरी पुग्ने भन्ने ट्रेनिङमा जुट्थे | यो कुरोले मलाई निक्कै पोल्थ्यो र आमाहरूले लाहुरेनी हुनु भनेर आशीर्वाद दिँदा म रिसाउँथे | सायद ! पढेर देशमै केही गर्नु पर्छ भन्ने एउटा युवा मन जागृत थियो त्यसबेला म भित्र | तर त्यो सपना पूरा भएन, बिहे भएर नानीहरू भएपछि विभिन्न समस्या र अभावका पोकाहरूले मुख उघार्दै लगे जिन्दगीमा | त्यसपछि त विदेश जानबाहेक विकल्प देखिएन कतै |

घर आएपछि बाजे बोजुले मलाई सहाराको रुपमा हेर्न थाले | बोजु पनि पाको भएपछि त नौनी भन्दा नरम बन्नु भएको रहेछ | जेठा तुम्बा र मेरो बाबा माइली बोजु बोजुपट्टिका हुन् भन्थे, हामी माइलीका सन्तान, माइली बोजुको माइत अठ्राइ उहाँको थर कन्दंवा, कान्छी बोजुको माइत ताप्लेजुङ्ग नाङ्ग्खोलेङ्ग उहाँको थर खिम्दिङ्ग, जेठी बोजु जो दोस्रो बिश्व युद्धमा दुई बहिनी छोरीहरूसँग थाईल्याण्डको जंगलमा बित्नु भो उहाँ चाँही फेदापको हुनुहुन्थ्यो रे थर थाहा भएन !

बाजे भन्नु हुन्थ्यो, दोस्रो बिश्व युद्ध सुरु हुँदा म दुई बहिनी छोरी, एकभाइ छोरा र श्रीमतीसित बर्मामा थिएँ, मेरो जेठो छोरा नेप्टे भर्खर १८ पुगेको थियो | पल्टनमा जस जसको छोराहरू १८ लागेका छन् उनीहरूलाई भर्ति लाउनै पर्ने राणा शासन लागू भो | त्यसदिन पहिलो पल्ट पहिलो सन्तान छोरा भैदिएकोमा मलाई पछुतो लाग्यो, हुर्केको छोरालाई लड़ाइमा पठाउनु पर्दा म जति अभागी बाऊ यो संसारमा कोही छैनन् जस्तो लागेको थियो | मेरो छोराले बीरगति प्राप्त गरेको खबर म अस्पतालमा घाइते भएर लडिरहेको बेला पाएँ, सुनेको थिएँ नयाँ रेग्रुटहरूलाई युरोप लागेका थिए रे मेरो छोराले पनि युरोप मै बीरगति प्राप्त गर्यो भनेर लेखिएको थियो चिट्ठीमा | मैले लास सम्म हेर्न पाइन, मैले त्यसबेला महाभारतमा आफ्नो प्रिय छोरा अभिमन्यूलाई बचाउन नसक्ने भागुवान अर्जुनलाई सम्झें | म पनि त अर्जुन जस्तै निरिह बाऊ थिएँ |

छोरा बितेको खबर पाएपछि मलाई त्यहाँ बस्न मनै लागेन, फेरि तुरुन्त लड्न सक्ने अबस्था पनि थिएन मेरो | त्यसैले रातदिन म आफ्नो देश जान्छु भनेर कर गरिरहें, अन्त्यमा मलाई बिदा दिए, त्यसपछि घाइते शरीर लिएर नेपाल निस्कें | लड़ाइ सुरु हुनु अघि दुई बहिनी छोरी र श्रीमती नेपाल फर्काउनु पर्ने अडर आयो | त्यसबेला मान्छे थिएनन्, एकजान मान्छेको जिम्मामा ३५ फम्ली र नानीहरू पैदल हिंडाएर नेपाल पुर्याउने निर्णय गर्यो पल्टनले | सबै मसिना लालाबालासँग थिए फेम्लीहरू, महिनौ महिना हिड्नु पर्ने, आधा बाटो नपुग्दै उनीहरूले बोकेका खानेकुरो सबै सकिएछ | त्यसपछिको भोक थाम्न नसकेर जंगली फल खाँदा मरेका थिए रे मेरा परिवार | मेरै जस्तो परिवार अरुले पनि गुमाए, मेरो एकजना नम्बरनी मात्र दुई जुम्लिया छोरीहरू च्यापेर पानी मात्र पिउंदै भोक थामेर नेपाल निस्किएछ उनको दुई जुम्लिया छोरीहरूको नाम गंगा र जमुना थिए | उनीहरूको घर ताप्लेजुङ्ग हाङ्ग्देन्वा, पछि नेपाल निस्केर म भेट्न गएँ उहीं नम्बरनी बहिनीले मेरो परिवार र अन्य फेम्लीहरू कसरी मरे भन्ने कुरो बताईन् | मैले ५ र २ वर्षको दुई छोरी सहित श्रीमती गुमाएको उक्त खबरले पागल जस्तै भएँ | म नेपाल आइपुग्दा सम्म पनि थाहा थिएन मेरो परिवार थाईल्याण्डको जंगलमै बिलाई गए भनेर | जिन्दगीभरि भूल्न नसकिने घाम छाँया जस्तो दुईदिनको न्यानो माया दिएर अस्ताई जाने ति परिवार फेरि फर्काउन भनि दुई ओटी बोजुहरू बिहे गरें र आज तिमीहरू आयौ मेरो जीवनमा |

यसरी छातीभित्र खिल झैं गाडिएर बसेका अनगिन्ती अतितका कथाहरू आँखाभरि आँशु पार्दै मेरो कलिलो दिमागमा सर्लक्क सारिदिनु भएछ क्यारे बाजेले, त्यसदिनदेखि यसदिन सम्म पनि भुल्न सकेकी छुइन, बाजेले दोस्रो बिश्व युद्ध लड्दा भोगेका दर्दनाक कथाहरू | आज न लेखेर सक्छु, न भोलि कहेर नै, सायद म बाचुन्जेल रहिरहने छन् म सँगै | त्यसरी परिवार नै गुमाउने गरि युद्ध लड्ने मेरो बाजेले ब्रिटिश सरकारबाट केही पाएको सम्झना छैन | पेन्सन पनि थोरै थियो, छोराहरूले नखोजी दिएर हो कि बाजेको देहावशान पछि बोजुले त्यै थोरै पेन्सन पनि पाएन |

हामीले सुने अनुसार लड़ाइ पछि बाजेले हाम्रो बोजुलाई बर्मामा भेटेर बिहे गरेको रे, बोजुलाई लिएर गाउँ आउँदा नै जेठा तुम्बा निक्कै ठुलो भैसक्नु भएको थियो रे | सायद बाजे बोजु बर्मा पल्टनमा बस्दै जन्मनु भएको होला | कान्छी आमासँग उहाँको पनि टम नमिलेर हो कि ! प्रायजसो परदेशतिरै बस्नु हुन्थ्यो |

तुम्बा घरमा नभएपछि बिहे पनि हाम्रै बाबाको पहिले गर्नु परेको गुनाशो बाजे गर्नु हुन्थ्यो | एकदिन बिहान सबैजना खाजा खाँदै चुला ओरिपरि बसिरहेका थियौं | बाजेले तुम्बालाई हेर्दै भन्नु भो | ‘हेर मधु, ? तेरो माइला भाइको छोरी यत्री छे, अरु दुईभाइ छोरासँग बुहारी धनकुटा ब्यारेकमा फेमली बसेकी छिन् , तँ मात्र कहिले बिहे गर्छेस कुन्नी ? यो पालि पनि बल्ल खोजेर ल्याएँ, अब त बिहे गर ? तुम्बा चुपचाप भुटेको मकै र भटमास चबाउँदै नुन चिया सुरुप्प…सुरुप्प… पार्नु हुन्थ्यो | म तुम्बाको अनुहार टुलुटुलु हेर्थें | मैले हेरेको देखेर तुम्बाले ओठ टोक्दै रिसाउनु भो | म डराएर जुरुक्क उठेर बाहिर निस्किएँ | म धेरै मावली बसेर घर नौलो लाग्थ्यो, घरका मान्छेहरू सँग डर लाग्थ्यो | केही महिना लाग्यो म गाउँको मान्छेसँग झ्याम्मींन |

बिस्तारै दिनहरू बित्दै गए | म पनि तल्लोघरका माया, तेजी र ठुठी दिदीहरू सँग साथी बने | पहिराने कान्छा तुम्बाको छोरी काँइलीको नाम माया, कान्छीको नाम तेजी र माइलीको नाम ठुठी थियो, जेठी दिदीलाई फ़िस्टि भन्थे तर उहाँ धरानतिरै बिहे गरेर बसेका थिए | म दिदीहरू सँग सँगै घाँस दाउरा र मेलोमेसो गर्न थालें | आमाहरू सँग सम्पर्क बिहिन जस्तै थियो त्यसबेला अहिलेको जस्तो सामाजिक संजाल, फोन केही थिएनन् | कहिले कहीं पेन्सन थाप्न धरान जाने गाउँका भूपू लाहुरेहरूले भेटेर खबर ल्याउन्थे | त्यसरी नै बाबा आमाले म घर आएकोछु भन्ने खबर पनि पाएका थिए सायद |

बाजे बोजुले भित्र भित्रै तुम्बाको लागि केटी हेर्दै हुनुहुन्थ्यो | त्यसैबेला एकजना गाउँको फुपूले एकजना केटी साथी लिएर माइती आइपुग्नु भो | गाउँमा आएका पाहुना सँग सम्मानसाथ भेला भएर धान नाच्ने चलन थियो | पहिलो रात पाहुना आएको घरमा भेला भएर गाउँका दाजुभाइहरू रातभर धान नाचे | दोस्रो रात चाँही तुम्बाको लागि गाउँको बुढापाकाहरू भेला पारेर बाजे जेठा छोराको लागि बुहारी फकाउन जानु भो | रातभर
फकाउँदा पनि केटी मानेन ! के गर्नु ? भन्दै बिहानीपख बाजे आइपुग्नु भो | गाउँका अन्य मान्छेहरूले भने तानेर भएपनि राख्नु पर्छ भन्न थाले | आखिरमा तानेरै जबर्जस्ती राख्ने भए, हामी केटा केटीहरू बिहे खान पाउने हर्षले उफ्रिपाप्री गर्न थाल्यौं |

तुम्बाको बिहे सकियो | चोरी बिहे हतारमा गर्नु परेकोले बिहे खासै ठुलो भएन | घरमा नयाँ बेहुली तुम्मा आएपछि मलाई पनि रमाइलो लाग्न थाल्यो | तुम्मासंग घाँस दाउरा, मेलापात जान थालें | मेलो गर्न सक्ने त म थिइन तै पनि तुम्मा मलाई मेलो लैजानु हुन्थ्यो | सायद नयाँ ठाउँमा साथी नभएर होला | म जान्थें मेलोमा अरु केही गर्न सक्दिनथें, तुम्बाले हलो जोत्नु हुन्थ्यो, म झोलाभरि मकैको बिऊ बोकेर सियो हाल्दै दगुर्थे, ठुला ठुला माटाका डल्लामा अल्झिएर लड्थे, हलो बिसाएर तुम्बा मरिमरि हाँस्नु हुन्थ्यो | तुम्बा हाँसेको देख्दा पनि नदेखे झैं गर्दै छेऊ कुनो खानिरहनु हुन्थ्यो नयाँ तुम्मा |

म कतिखेर तुम्बा र तुम्मा बोल्नु हुन्छ भनि चियाई रहन्थें तर उहाँहरू बोलेको कहिल्यै देखिन | एकदिन हामी त्यसैगरी मकै छर्दै थियौं घरदेखि तलको मूलबारीमा, म र तुम्बा सबेरै हलो र मकैको बिऊ बोकेर मेलो पुग्यौं | तुम्मा केहीबेरमा मल र खाजा लिएर आउने कुरो थियो | हामीले हलो नारेर आधा मेलो जोतिसक्दा पनि तुम्मा नआएको देखेर तुम्बाले मलाई हेर्न घर पठाउनु भो | म खूइ काढ्दै उकालो आएँ, उकालो जंगलको बाटो सकेर मूल बाटोमा निस्कने साथ् तुम्माले मलको भारी बोकेर मुछेबुंग ओरालो लागेको देखें | त्यसपछि म फेरि तुफान ओरालो दौडीएं, म मेलोमा पुग्दा तुम्बा मकै बिऊ हाल्ने मान्छे नभएर हलो बिसाएर बसिरहनु भएको थियो | म पुगेर एकै सासमा सब कुरो बताएँ, तुम्बाले मेरो कुरो सुनेपछि गोरु फुकालेर मलाई चराउन लगाई उहाँ तुम्माको पछि दौडीनु भो | म दिनभर गीत गाउँदै नुक्वा खोला किनारमा गोरु चराएर साँझमा घर पुग्दा बोजुले खाना बनाइ सक्नु भएको थियो |

खाना खाइसकेर बाहिर सिखुवामा आराम गर्दै गर्दा हाम्रो घरभन्दा परको देबिथानमा टस लाइट बलेको देख्यौं, बाजेले भन्नु भो मधु र बुहारी आए जस्तो छन् | म बाजेको कुरो सुनेर चनाखो भएँ | केहीछिनमै त्यो उज्यालो टस लाइट हाम्रो आँगनमा आइपुग्यो, नभन्दै तुम्बा र तुम्मा नै रहेछन् |
बाजेले सोध्नु भो कहाँ पुग्यौं बुहारी ? किन त्यसरी भागेर जान्छौं ? हामीबाट केही भूल भयो की ? तुम्मा केही नबोली मतानतिर लाग्नु भो, बाजेले तुम्बालाई सोध्नु भो, कहाँ भेट्टाइस बुहारीलाई ? तुम्बाले पिरा तानेर बस्दै भन्नु भो ! तल मामाङ्ग्फ़े पुग्नु भन्दा अगाडिको खोल्सामा भेट्टाएँ | दौडेर मात्र मात्र नत्र त कहाँ भेट्ने नि ? तुम्बाको कुरोले तुम्मा कति बलियो र छिट्टो छिन् भन्ने प्रष्ट्याउथ्यो | अनि मलको भारी र डोको नि ? घरको बुढीलाई घरकै चिन्त्ता भने झैं बोजुले बीचैमा डोको र मल सोध्नु भो | हेर न कसैलाई के को धून, कसैलाई मल र डोकोको धून ? भन्दै बाजे हाँस्नु भो |

तल सासिङ्ग्बुङ्गमा खन्याई राखेर हिंडेछ तुम्बाले पनि हाँस्दै भन्नु भो | तुम्बा खासै रिसाउनु भए जस्तो लागेन, तुम्मा फर्केपछि हाम्रो पनि खुसी फ़र्केझै भो, तर तुम्माको भने अनुहार जून घाम अस्ताएको औंसीको रात जस्तो अँध्यारो थियो | ए ! त्यसो त मल त्यहाँ घोप्टाएको देखेरै यै वारि मामाफ़ेको बाटो गएछ भनेर पत्ता लाइस उसो भने ? हेर आइमाइको बुद्धि भन्दै बाजे हाँस्नु भो, बोजुले चाँही जे भएपनि मल खेर गएनछ भै हाल्यो नि भन्नु भो |
म त्यति कुरो बुझ्ने भैसकेकी थिइन तर पनि तुम्माको दुख महसुस हुन्थ्यो, तुम्मा उकालो साप्चुङ्ग्वाको बाटो भएर भाग्नुको कारण बुझिसकेकी थिएँ | किनकी संधैं हिंडेको छिरुवानीको बाटो गए तुम्बाले भेटाउने डर हुन्थ्यो | तुम्मा आएपछि मैले आमा र मावला भूलेकी थिएँ, उहाँ मेरो आमा, मात्र होइन एकदम मिल्ने साथी पनि बनिनु भएको थियो |

केही महिना बसेर तुम्मा फेरि भागेर जानु भो, गाउँमा नयाँ बेहुलीहरू भागेर माइत जानुलाई साधारण नै मानिन्थ्यो ! मानी लिउँ एक चलन नै जस्तो थियो ! हाम्रै गाउँका चेलीहरू पनि भागेर माइती आउंथे | तुम्मा भागेको केही महिनाबाद, तुम्मालाई फेरि घर ल्याउन भनि तुम्बा थेचम्बु ससुराली जानु भयो | तर फर्कंदा तुम्बाको साथमा एक अपरिचित महिला सानो ६ महिनाको छोरा सहित लिएर आउनु भो | हामी त छक्क पर्यौं | म त झन् अचम्ममा परें, मलाई मन पर्ने तुम्मा घर नफर्कंदा निक्कै दुखी भएँ |

केही बेर पछि थाहा भो, जेठी तुम्मा त तुम्बालाई मन नपराएर अर्कैसित जारीगरेर जानु भएछ | त्यसपछि जारी सहित अर्को केटी डोली भर्ना ससुरालीले दिएर पठाएका रहेछन् | तर, नयाँ तुम्मा चाँही अर्कैको नानी पाएर माइतीमै बसिरहेकी केटी रहिछिन् | म त सारै नियास्रो भएँ | मेरो तुम्मा नफर्के पछि | नयाँ तुम्मालाई मनले आफ्नो मानेन किन हो कुन्नी ? तर उहाँको छोरा चाँही राम्रो लाग्थ्यो, उहाँहरू मेलो मेसो जाँदा मै खेलाउन्थे | कतिदिन सम्म म भित्र भित्रै रुएं तुम्माको यादले, कति काम गर्ने, कति बलियो हुनुहुन्थ्यो जेठी तुम्मा, काँचो कोदो टिपेर खुट्टाले माड्ने चलन थियो दशैंतिहारको जाँड पकाउँन | त्यस्ता कोदो त छिनभरमै माड्नु हुन्थ्यो तर कान्छी तुम्मा त कामै गर्न नसक्ने रोगी जस्ती हुनुहुन्थ्यो | गाउँघरमा जो बलियो उहीं प्यारो | काम गर्न नसक्ने बुहारीको खासै गुनगान हुन् थियो |

तुम्बाले त पोइला जाने श्रीमती भनेर जेठी श्रीमतीलाई भुल्न सजिलो भो होला ? तर घर परिवार र मैले भने अझै सम्म पनि सम्झिन्छौँ | सारै मिलापी र सिल सभौउ भएकी नारी हुनुहुन्थ्यो, सिरिफ तुम्बा सँग मन मिलेन उहाँको |म गाउँमै हुँदा बाबा पस्क्षिम नेपालतिर तालिममा जानु पर्ने र घरमा पनि बाजे बोजु एक्लै भनेर आमा र भाइहरूलाई घर पुर्याउनु भो बाबाले | आमाहरू आउनु भएपछि घरमा चहलपहल बढ्यो, तुम्मा भन्दा आमा काम गर्ने र बलियो पनि हुनुहुन्थ्यो | पहिले देखि सबै देखे जानेको बुहारी आएपछि बाजे बोजु पनि खुसी हुने नै भए |

साइनोले देउरानी भएपनि पूरानो बुहारी भएकोले परिपक्क हुनुहुन्थ्यो आमा | एकदिन बिहानै आमाले दिदी तपाईं माटो खन्न जानु हुन्छ कि ? खेतमा आलू खन्न ? म त तपाईंले जहाँ भन्नु हुन्छ उतै जान तयार छु भनेर सोध्नु भो | त्यस कुराको म सयम्म साँक्षी थिएँ | आमाको कुरोको जवाफ नै नदिई डोको र कुट्टे कोदाली बोकेर हिंड्नु भो तुम्मा | आमा हेरेको हेर्यै हुनु भो | आमाले मलाई ईसारा गरेर जा तेरो तुम्मा उकालो जान्छ कि ओरालो हेरेर आइज भन्नु भो | म घर पछाडी गएर तुम्मालाई हेरी पठाएँ, तुम्मा ओरालो लाग्नु भो, त्यसको मतलब तुम्मा आलू खन्न खेत जानू भो भन्ने पक्का भयो | त्यसपछि आमा डोको र माटो खन्ने समान बोकेर उकालो लाग्नु भो | म घरमा भाइहरू हेर्न बसें |

भोलीपल्ट घरमा हल्का मनमुटाब भएको महसुस भो | त्यसदिन राती तुम्माले तुम्बालाई माइली मेरो देउरानी भएर पनि जेठानी जस्तो काम अह्रायो भनि कुरो लाउनु भएछ | आफ्नो बुढीको कुरो सुनेर भाइ बुहारीसँग जाइ लाग्ने तुम्बा देखर म तीन छक्क परें | त्यसपछि आमालाई पनि चित्त दुखेछ पल्लो घरको माथितला छुट्टेर बस्ने निर्णय गर्नु भो | सुरुमा त बाजे बोजु मान्नु भएको थिएन, तर पछि आमाले मनाउनु भो |

हामीले पुरै अंस होइन चुला मात्र छुट्टाएर बसेका थियौं | गरिखानु भनेर अलिअलि बारी छुट्याई दिएको थियो बाजेले | आमा मेहेनती हुनुहुन्थ्यो हामी पनि दिनदिनै हुर्किंदै थियौं | एक्लै भएपनि मज्जैले बस्न थाल्यौं | छुट्टीएपछि आमाले म र भाइलाई स्कूलमा नाम पनि लेखाई दिनु भो |

६ नम्बरबाट केटाहरूको हूलमा म एउटी केटी पढ्न जान्थें | सुरु सुरुमा अनौठो लाग्यो तर पछि बानी हुँदै गयो | घरबाट पुरै एक घण्टा नाक ठोक्किने उकालो हिंड्नु पर्थ्यो स्कूल पुग्न | खाना खाएर १ घण्टा उकालो चढ्दा, चढ्दा थाकेर भोक र निन्द्रा दुवैले दिनभर सताउन्थ्यो | त्यसबेलाको गाउँ अहिलेको
तुलनामा अर्गानिक थियो, खेतीपाती आफै गरिन्थ्यो | आलू, कोदो, मकै, जुनेलो, फापर, गहूँ र धान फलाएर खाइन्थ्यो | तर, आजभोलि त्यस्तो छैन बालीलानीको सट्टा घुरेनमै अलैंची, अलैंचीलाई चिसो चाहिने हुनाले उतिस हाल्यो बस्यो | खेतीपाती नगरेपछि चामलदेखि लिएर इत्यागरम किनेर खायो | घर बारीनै अलैँचीले जंगल भएपछि घर पालुवा बस्तुभाऊ स्याल र जंगली जनवारले सखाप ! यसरी कता कता बनेको खानेकुरो किनेर खाएपछि सुगर प्रेसर आदि ईत्यादि रोगले चाडै च्याप्छ | म उहिल्यैको गाउँ र त्यसबेलाको बाऊ बाजेहरू सम्झेर अचम्म मान्छु | उहाँहरू साँची नै जाँगरिला थिए अर्गानिक खान्थे र धेरै बाँच्थे |

हाम्रो घरमा बोजुको दुई करेशा बारी थिए | एउटा घरै छेउमा सुंगुरको खोर संगै जोडिएको, अर्को पिम्बुंग भन्ने हाम्रो बारीको पुछारमा | घर छेउको करेशा बारीमा इस्कुस, डल्ले खर्सानी र गिट्ठा रोप्नु हुन्थ्यो उक्त करेशा बारीको छेउमा एउटा ठुलो रातो अम्बकको बोट थियो, सारै मिठो | कहिले कहीं दिसा अड्किने गरि खान्थ्यौं | अम्बक र इस्कुसको झ्यांगभरि गिट्ठा फल्थ्यो पाकेपछि उसिनेर खाँदा हल्का तितो तर मिठो, आजभोली सम्झिन्छु त्यस गिट्ठा पक्कै ब्लड प्रेसरको ठुलो दबाई हुन्थ्यो होला ?

दुर्गम भएपनि गाउँ आफ्नै एक रफ्तारमा चल्थ्यो | सबै गाउँलेहरूले अलिअलि पैसा र अन्न पानी उठाएर डाँडा पूजा, खोला पूजा संग्युक्त रुपमा गर्थे वर्षमा एकपल्ट | त्यसरी हरेक घरले उठाएको अन्न र पैसालाई लिम्बु भाषामा ( हुक्वा ) भन्थें | डाँडा र खोला पूजा गरेको बाख्राको माशु घर भित्र हुल्न हुँदैनथ्यो, पूजा गरेकै ठाउँमा पकाएर सबैले खाएर राम्रो संग हात मुख जुठेर मात्र घर भित्र छिर्नु पर्थ्यो |

खोला पूजा र डाँडा पूजाको भतेर खान पाउँदा हामीलाई दशैं आएझैं हुन्थ्यो | यसरी वर्षमा एकपल्ट खोला र डाँडा पूजा गरेर प्रकृतिलाई खुसी बनाउने हाम्रो चलन अचेल हराएर गयो | यसरी पूजा गरेन भने प्रकृति रिसाउँछ अनि बाढी पहिरो जान्छ, दैबिय प्रकोपको सिकार भइन्छ भन्थे पुर्खाहरू ! उहाँहरूको कुरोमा कतिको सत्यता थियो त्यो त थाहा छैन तर पुर्खाले मानि ल्याएका धर्म संस्कार भने हराएकै हो जस्तो लाग्छ |

बिजुली, पानी र सडक मात्र होइन सिंगो शहर नै गाउँ पसे झैं भान हुन्छ अचेल | दाउरा खोज्न मान्छे बन जान्दैनन् बरु ग्यास किन्न शहर जान्छन | गीत र पालम गाउँदै घाँस काट्न जाने चलन हरायो, बरु रक्सी पिउंदै जुवारी र दोहोरी गाउने चलन बस्यो | हरेक कुरोमा ब्यापार बढ्यो भन्दा फरक पर्दैन |
गाउँमा दशैं तिहार आउँदाको रौनक अर्कै हन्थ्यो | बालीघरे दमाई आउंथ्यो घरमा दुईतीन दिन बसेर हाम्रो लागि नयाँ नाना सिलाउन्थ्यो | हाम्रो बालीघरे दमाई बाजेको नाम दाउरे थियो, उहाको साइँला छोरा हेन्ड सम गोरा जस्तो थियो उसलाई कसैले दमाई भन्दैन्थे | उहाँ मेरो बाबा काकाहरूको मिल्ने साथि, हाम्रो घरमा आइरहनु हुन्थ्यो | लिम्बु कुरो मज्जाले बोल्ने काका बाबाहरू संगै धान नाच्ने ! रातो रिबन ल्याएर कपाल बाटी दिनु हुन्थ्यो, काका भन्थें म |

हाम्रो गाउँमा अन्य जातहरू सबै लिम्बु भाषा बोल्थे | दमाई साइँला काका सारै फौदारे हुनुहुन्थ्यो, हाम्रो गाउँ भन्दा माथि तमोर र सिसांवा खोलाको दोभानमा हरेक वर्ष मङ्सिर पुर्णे बजार लाग्थ्यो | त्यस वर्षको मङ्सिर पूर्णे बजारमा आमा र म मावलाबाट आएका थियौं, राती आमा छेमाहरू धान नाचिरहनु भएको थियो, म लिङ्ग्खिमको जेठा फुपाजुको दोकानमा बसिरहेकी थिएँ | हाम्रो जेठा फुपाजु तमोरखोला क्षेत्रमा लाग्ने जम्मै मेला बजारहरूमा दोकान थाप्नु हुन्थ्यो | अचानक थुप्रै मान्छे हल्ला गर्दै आए | आमाहरू पनि धान नाच्न छाडेर मलाई आइज भाग फौदारी भो भन्न थाले | म जुरुक्क उठ्न मात्र के लाग्दै थिएँ एउटा रगत पक्षे मान्छे दौडेर छेउमै आइपुग्यो | डरले म रुन थालें आमा र छेमा आएर तानेर लगे |

त्यो मान्छे दौडीरहेथ्यो पछि पछि अरुले लखेटी रहेथे | केहीबेरमा बजार नै तितर बितर भो | फौदारे कता पुगे को को मरे बाँचे तत्काल केही थाहा भएन | बिहान भएपछि हामी घर पुग्यौं | तर गाउँबाट दमाई साइँला काका हारायो, केही महिनाबाद सुनियो त्यस रात एकजना पुलिसलाई मारेर तमोरमा बगाई पठाएको आरोपमा दमाईं साइँला काका र गाउँको एकजना भूपू लाहुरे लेखनाथ (सिराने कान्छा ) बाजे पक्डौ परे रे भन्ने सुनियो | कोट कचेरी पछि उनीहरू जन्मकैद थुनामा परेर गएपछि फेरि भेट भएन | छुटेर गाउँ निस्केको केही महिनामै दुवै मरे रे भन्ने मात्र सुनियो |

त्यस वर्षदेखि उक्त्त बजार पनि बन्द भयो | अहिले खेत बनेको छ बजार लाग्ने बगर | उहिल्यै पंचायत कालमा हाम्रो गाउँतिर यस्ता बजारहरू थुप्रै ठाउँमा लाग्थे | एकपल्ट फागुन जात्रा मेलामा राति मामाङ्ग्फ़े बस्ने र साँगु बस्नेहरू केटाहरू बीच ठुलो फौदारी चल्यो | त्यसबेला चिट्ठी लेखि लेखि फौदारी गर्थे, यसो गर्दा, यो पालिको बजारमा फौदारी हँदैछ भन्ने थाहा हुन्थ्यो गाउँलेलाई र कति त बजार नै आउँदैन्थे तर आमा दिदीहरू चाँही नजिकको बजार भनेर जान्थे | फागुन जात्रा, राम नवमी र चण्डी पुर्ने हाम्रै गाउँ वारिपट्टी छिरूवानी भन्ने ठाउँमा लाग्थ्यो |

आमाहरू चौतारा छेउमा धान नाच्दै थिए फेम्बुदेखी आएका छेमाहरूसँग | ठुली आमा पनि हाम्रै गाउँमा ल्याएका हुनाले उहाँको जेठी छोरी माक्कु दिदी पनि हामी संगै हुनुहुन्थ्यो | आमा धान नाचेको देखेर मलाई खुब रिस उठ्यो, लाग्थ्यो आमा धान नाचिसकेर पोइला जान्छ | रिसले रुंदा रुंदा गरें तर पनि आमा धान नाचिनै रहनु भो अन्त्यमा चौतारोमै यति धेरै बान्ता गरि दिएँ | त्यहाँ बसेर मर्चा बेच्ने बुढी व्यापारी आमाहरू मेरो बान्ता देखेर रिसाउन थालेपछि आमा निस्केर आउनु भो | म रुई नै रहेकी थिएँ | त्यतिकैमा पुरै बाजार उर्लेर दौडेको देख्यौं, छेउ छेउमा घंगारुको लौरो र खुकुरीहरू बजेको पनि सुनिन्थ्यो | धान नाचिरहेका मान्छेहरू पनि चिच्याउँदै भागिरहेका थिए | त्यस भिड भित्रैबाट जेठा मामा र माक्कु दिदी पनि कराउंदै आइपुग्नु भो |
आमाले मलाई बोकेर बाटो मास्तिरको ठुलो ढुंगामा चढाउनु भो दिदी र मामा पनि पछि पछि आए | म झन् डरले गवाँ, गवाँ रुएं | म रुएको देखेर माक्कु दिदीले अघि नआइज भनेको होइन ? किन आइस ? भन्दै झन् भकुर्नु भो, केहीछिन पछि सुन्यौं हाम्रै गाउँको गल्लीमुने कान्छा आफ्नै कान्छा भेनाले काटेर मार्यो रे | खास मामाङ्ग्फ़ेको केटाहरू सँग फौदारी गर्दै गरेको भेनालाई रोक्नु खोज्दा अन्जानमा सालोलाई मार्न पुग्यो भन्थे | त्यस बजारमा दुवै तर्फको धेरै मान्छे घाइते भए कति मरे | मार्ने चाँही उहीं गल्लीमुनी कान्छीको बुढो तापेथोक पारी साँगु बस्ने “फ़ाङ्ग्द्रा कान्छा” थियो | सत्रु त मरे मरे झुक्किएर आफ्नै सालो मारेकोमा पछुतो मान्दै त्यै रात तमोरमा पसिगयो फंगद्रा कान्छा भन्थे तर केही वर्ष पछि सिक्किममा निस्केको थियो रे | धेरै वर्ष पछि हाल उहीं गल्लीमुनी कान्छी फुपू लिएर मधेशमा बसेका रैछन् | त्यसबेलाको उक्त फौदारीले बजार पनि बन्द भो | छिरुवानी बजार एक एइतिहासिक स्थल पनि हो | हामी लिम्बूहरूको मुन्धुम र उत्पति संग जोडिएका अनेक किम्बदन्तीहरू पढ्न र सुन्न पाइन्छन् |