अल्डरसटको अनुग्रह ज्वेलर्समा गायक राजु लामालाई स्वागत

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

लन्डन । युवा व्यवसायी सुमन राईले बेलायतको अल्डरसटमा सञ्चालन गरेको अनुग्रह ज्वेलर्समा चर्चित गायक राजु लामालाई स्वागत गरिएको छ ।

बेलायत भ्रमणमा रहेका गायक लामालाई १८ नोभेम्बर २०२१ का दिन अनुग्रहका सञ्चालक राई, उनकी श्रीमती मुना राईलगायत कर्मचारीले खादा, बुकी दिएर सम्मान गरेका हुन् । सांगीतिक समूह मंगोलियन हार्टका भोकलिस्ट लामालाई आफ्नो दोकानमा स्वागतपछि प्रोपाईटर राईले भने, ‘उहाँजस्तो सेलिब्रेटी व्यक्तित्वलाई हाम्रो दोकानमा स्वागत गर्न पाउँदा निकै खुसी र राम्रो लाग्यो । उहाँले आफ्ना छोरीका लागि सिक्रीसमेत किन्नु भयो । हामी खुसी छौं ।’

गायक लामाले अनुग्रह अवलोकलन गरिसकेपछि खुसी व्यक्त गरेको पनि सञ्चालक राईले जानकारी दिए । ख्यातीप्राप्त कोचसमेत रहेका लामाको भनाइ उद्धृत गर्दै सञ्चालक राईले भने, ‘यूकेजस्तो ठाउँमा आएर पनि नेपाली ट्र्याडिसनल दोकान पाउँदा खुसी लागेको छ । अनलाइनमा यो सप देखिरहेको थिएँ । आज आफै आउन पाउँदा खुसी लागेको छ । आफ्नै देशको झल्को आयो ।’ गायक लामाका बादलपारिको देशबाट, हल्ला चलेछ, पर्खाइमा, तिमीलाई देखेर, गाजलु टीका, उँभो–उँभो खासालगायत दर्जनौं गीत लोकप्रिय छन् ।

अनुग्रहको अल्डरसटमा मुख्य दोकान र लन्डनमा पनि शाखा छ । दुवै शाखामा गरी १० जना कर्मचारी रहेको सञ्चालक राईले बताए । उनका अनुसार अनुग्रह बेलायतमा मौलिक गरगहना किनबेच गर्दै गर्ने सुन पसल हो ।

गायक लामाको स्वागत कार्यक्रममा गोर्खा मिडिया डट कमका प्रबन्ध निर्देशक एवं फोटोग्राफर मिलन तमुको समेत सहभागी थिए ।