मावलबाट भाग्दाको पल

जानु काम्बाङ्ग लिम्बु
  •  
  •  
  •  

जब उमेर ढल्कँदै जान्छ तब बाल्यकालदेखिका अनगिन्ती यादहरूले पछ्याउन थाल्दा रहेछन्, बालसखीहरू छुमुन्छुमुन गर्दै टाढाटाढा मनका थुम्का थुम्कीहरूमा मेरै हात समातेर दगुरी रहेंझैं लाग्छ अचेल | सम्झनलायकका जीवन भोगाईहरू त कति थिए या थिएनन् त्यो यकिन छैन तर, पनि मनभरि फूलिरहेका सयपत्री र मखमली फूल जस्ता रंगिन यादहरूले भने मलाई लेख्न उक्साई रहन्छन् | आज अहिले नलेखे यी यादहरू भोलि तिहारपछिको सयपत्रीझैं ओइलाई जालान् ?

जुन बेला म बालख थिएँ, त्यसबेला आज जस्तो सामाजिक संजाल, युट्युब, फोन इन्टरनेट केही पनि थिएनन् | हिलो माटोमा खेल्दै कुखुराको सुली टिपी खाँदै हुर्किएँ सायद ! “हामी त कुखुराको सुली टिपी खाँदै हुर्किएका अर्गानिक हौँ” यो भनाइ गाउँमा प्रख्यात छ | र म पनि उही समूहकी बालिका अहिले ओइलिएकामा पर्छु भन्दा दुईमत नहोला ?

भागुवान कृष्णका बाल्यकाल जस्तै मेरा पनि बाल्यकालका अबोध र निस्क्षल यादहरू सबैभन्दा प्रिय र उच्च कोटीका लाग्छन् अचेल | त्यसैबेलाको एउटा अविस्मरणीय पल यहाँ सम्झन चाहान्छु | हामी मावलामै थियौं, मलाई संझना भए अनुसार ठुलो भाइ र म मात्र थियौं या माइला भाइ जन्मिसकेर सानो नानी थियो यकिन भएन | केहीदिन देखिनै आमा र बोजु खासखास खुसखुस गरेको सुन्थें, सायद ठुली आमासँग केही व्यवहार थियो कि ? ठुली आमा इखाबु हाम्रो गाउँमै हुनुहुन्थ्यो | त्यस साँझ अचानक आमा इखाबु जाने पर्नु भो, त्यस कुरोको सुइँको मैले पैहालें | आमालाई थाहा थियो म पछ्याउछु भन्ने | त्यसैले उहा भागेर जाने सुरमा हुनुहुन्थ्यो, तर नानीहरू भागुवान हुन्छन् भने झैँ उहाहरूको गोप्य सल्लाह थाहा पाइहालें |

लगातार नजर राख्दा राख्दै पनि आमा भाग्न सफल हुनु भो, यताउति हेरें खोजें आमा देखिन, भर्खरै यहीं बोल्दै गरेको मान्छे टाढा त पुग्नु भा छैन जस्तो लागेर दौडिए, पँधेरो जाने बाटो निर भेटेर दुई तीन सुर्कना लगाई हाल्नु भो आमाले | म रुँदै फर्केर आएँ, आँगनमा भाइ खेल्दै थियो | एकछिन ऊ संगै खेले जस्तो गरेर फेरि पछि लागेँ | म हिंडेको देखेर भाइले बोजुलाई आमा दिदी फेरि गयो है ? भन्दै कराउन थाल्यो | भाइ कुरो लाउनु र मलाई पिटाई खुवाउन सारै सिपालु थियो |

भाइको कुरो सुनेर बोजुले आज …आज हेर है म आएँ है अब भन्दै तला माथि बाटै कराउनु भो, म झन् कस्सेर दौडिएँ | बोजु कराउँदा कराउँदै मैले कार्की माइला मामाहरूको घर काटेर पिपलबोट पुगिसकेकी थिएँ | त्यत्रो ठुलो लिम्बु गाउँमा एउटा कार्की घर थियो, लिम्बूहरूको सेतो कमेरो र रातो माटोले सिंगारेका घरहरू बीच रातो माटोले लिपेको एउटा क्षेत्री घर कस्तो अनौठो देखिन्थ्यो | कार्की माइला हाम्रो आमा, छेमा र मामाहरू सँग साथि साथि बनेर बजार हाट जान्थे | धान नाच्थे जम्मै लिम्बु भाषा आउंथ्यो, उहालाई | कार्की घर भन्दा तल एउटा तामाङ्ग घर पनि थियो, त्यस घरलाई ठुलो घर भन्थे गाउँलेहरू | त्यस घरका छोरीहरू ठुलोघर साइँली, काइँली भन्ने छेमाहरू थिए, उहाहरू पनि हाम्रो आमा छेमाहरू सँग धान नाच्न हिंड्थे, जम्मै लिम्बू भाषा बोल्थे | त्यस घरको बोजु लेलेप र लुङ्ग्थुङ्ग बीचको थाक्पू खोलामा लाग्ने बजारमा सेलरोटी पोल्दै बेच्नु हुन्थ्यो | म मावली बस्दा मेरो घरको बाजेले उही बोजुले पोलेको सेलरोटी किनेर उहाकै हातमा पठाई दिनु हुन्थ्यो | हरियो भर्लाको पातमा पोको पारेर ल्याएको नरम सेलरोटी सारै मिठो लाग्थ्यो त्यसबेला |

पछि ति कार्की मामाहरू जम्मै घर जग्गा बेचेर तराइतिर बसाईं गए | त्यसबेला लिम्बुवानमा अन्य जातीहरूको बसोबास खासै पाइन्दैन्थ्यो | ति एक घर कार्कीहरू पनि टिकेनन् त्यहाँ | मैले सासै नफ़ेरि तिनै कार्कीहरूको सोतिबारी ओरालो झरेर काफल बोट हुँदै दुबेनी बारी काटेर तमोर गर्तिर पुगेँ, तर आमा भेटिन कतैपनि | बिस्तारै साँझ पनि पर्दैथ्यो | महा असारको महिना तल्लो तामाङ्ग घर मुन्तिर तामाङ्ग मामा छेमाहरू धान रोप्तै थिए | म दौडेको देखेर हो कि मामाहरूले सुई, सुई पारेर सिटी बजाए | मेरो आफ्नै मामाहरूले मलाई भेट्ला भनेर म झन् डराएँ |

त्यसबेला पारी तापेथोक तिर तर्नलाई तमोरमाथि बाँसको अप्ठ्यारो फड्के साँगु मात्र थियो | त्यस साँगु पनि संधैं आमाले बोकेर तार्नु हुन्थ्यो, एक्लै र आफैले कहिल्यै नतरेको साँगु मेरो अघि लम्पसार परेर तमोर खोला माथि झुण्डीएको थियो | “नखाऊँ दिनभरिको सिकार, खाऊँ कान्छो बाऊको अनुहार” भन्ने उखान झैं भयो मेरो यात्रा | आमाले खोला तर्नु अघि साँगुमाथि बलुवा छरेर पुरोम्म …पुरोम्म हाम्रो रक्षा गर है “युमामाङ्ग ” ? भन्दै तीन चोटी खोलालाई ढोगेको देख्थें | अनि एकछिन आँखा बन्द गराएर हामीलाई पनि खोला र पुललाई ढोग्न लाउनु हुन्थ्यो | त्यसदिन मैले पनि जानी नजानी आमाको मन्तर जप्दै ति सबै सिको अपनाएँ | अनि जामाभरि बालुवा उठाएर ल्याएर बाँसको पुललाई हाने अनि बिस्तारै तर्न सुरु गरें | संधैं आमाले बोकेर खोला तार्दा तल नहेर्नु आँखा बन्द गर्नु भन्नु हुन्थ्यो तर त्यसदिन त आँखा बन्द गराएर खोला तार्ने आमाको आँटिली छोरीले एक्लै आँखा खुल्लै गरेर खोला तर्दै थिइ |

बर्खामाशको खोला बेस्सरी धमिलो उर्लेको थियो | अलिकति मात्र चिप्लेमा सिधै बीचमा झरिन्थ्यो, जतिजति फर्के तर्दै गएँ झन् झन् खोलामाथिको साँगु नै माथि माथि सरे झैं लाग्यो, एकछिन आँखा बन्द गरेर उभिएँ | अनि खोले आँखा तर, बेस्सरी रिंगटा चल्यो र ढल्ला जस्तै भो पछि पछि सरेर बगरमा पुगेँ, सोचें म पारी पुगेँ ? तर म त वारीनै पो रहेछु | दुई तीन पटकको लगातार प्रयास पछि बल्ल पारी पुगेँ अनि आँखा चिम्लेर तुफान दौडिएँ | तापेथोक पुग्ने बेला दुईजना बाटो हिंड्ने मान्छेहरू तलबाट आउंदै थिए | उनीहरूलाई देखेर म बाटो छाडी माथि जंगलमा पसेर लुकें, किनकी आमाले भन्नु हुन्थ्यो बाटोमा केटा केटी एक्लै भेटे तिनीहरूले ओलाङ्ग्चुङ्ग गोलाको बाटो हुँदै तिब्बत पुर्याएर खाँवाहरूलाई बेच्छन् | म हिंडीरहेको उक्त बाटो ओलाङ्ग्चुङ्ग गोला र कन्चंजंगा सम्म पुग्थ्यो त्यसैले डराएँ | बाटोभर बच्चा चोर भेटिने मानसिकताले लखेटिरह्यो |

ति मान्छेहरू ओझेल परेपछि निस्केर यस्तो दगुरें कि ! साइकल पनि त्यति चाँडो गुड्दैन सायद ! एकैछिनमा तापेथोक काटेर सिसांवा खोला पुगेँ कन्चंजंगा जाने बाटो भएर हो कि सिसांवा खोला सानो भएपनि फलामको पूल थियो | मावला आउँदा त्यो पूलमा दगुर्ने होड बाजी खेल्थ्यौं भाइ र म | त्यस पूल तर्नु अघिको बगर पुरै चिहानघारी थियो, कस्तो माथि माथि उडेर बाटो काटेंको जस्तो लाग्यो | दौडेर पूल तरिसकेपछि बल्ल पछि फर्केर हेरें एकपल्ट अनि छामे ढाड | भुतहरूले मेरो ढाड खाइसके होला ठानेथें तर छाम्दा ढाड भेट्टाएँ र खुशी हुँदै फेरि उडान भरें |

त्यस पटकको उडानले मङ्सिर पुर्णे लाग्ने बगर कटाएर एंन्वा श्रीमाने बाजेको घर मुनि पुर्यायो | त्यसपछि रह्यो छिरुवानीको राक्षश बस्ने अँध्यारो जंगल | त्यहाँ पुग्दा निक्कै नै अँध्यारो भैसकेको थियो | म फेम्बु मावला बाट हिंड्दा नै बोजुले भाइलाई कुखुराको खोर थुन भन्दै गरेको सम्झना छ, धन्न बर्खाको दिन लामो भएर मात्र म त्यहाँसम्म आइपुगेकी थिएँ सायद | त्यत्रो दौडिदा पनि आमालाई भने भेटिन मैले | पछि मैले थाहा पाए अनुसार आमा माथि पिपुधापको बाटो भएर आउनु भएको रहेछ | म पारी आमा वारी बीचमा तमोर सलल भन्दै कान्छी छेमाले पछिसम्म जिस्काई रहनु हुन्थ्यो |

छिरुवाको अँध्यारो जंगल काट्नु मलाई सारै गाह्रो भो, उहिल्यै मान्छे खाने राक्षश बस्थ्यो रे भन्ने कथा बाजेको मुखबाट मनग्यै सुनेको थिएँ | तर जसरी पनि ईखाबु पुग्नु बाहेक मेरो अर्को बिकल्प पनि थिएन | साँझ पर्न लागिसकेको थियो, रातमा कराउने किरा फट्यांग्राहरू स्याउँस्याउँ कराउथे बाटोभरि आसर साउनमा कराउने साउने किराको धुन त मैले कानैमा बोकेर आइरहेकी थिएँ फेम्बु देखिनै |

अरुबेला मन नपर्ने ति साउने किराहरू नै साथि भए मेरा | चण्डी पूर्णे बजार लाग्ने ठाउँ पुग्दा एक बर्ष अघि त्यहाँ फौदारी खेलेर मान्छे मारामार गरेको याद आएर कान मात्र होइन पुरै शरीर चिसो भो | सासै रोकिएला जस्तो भो, कतै नहेरी तुफान दौडिएँ फेरि |लाग्छ ! त्यसदिन म मान्छे नभएर भुत प्रेत अथवा बच्चा चोर कसैले नभेट्ने, नदेख्ने हुरी बताश थिएँ, जो फेम्बु बाट बेपत्ता उडेर ईखाबु जाँदै थिएँ | मान्छे बास बस्ने समय भैसकेकोले हो कि ! त्यसदिन मैले तापेथोक मास्तिर भेटेका दुई बटुवा बाहेक अन्य मान्छे पनि भेटिन बाटोमा |

म छिरुवा पुग्दा लुङ्ग्थुङ्गेनी तुम्मा साँझको खाना खाइसकेर जुठो भाँडो मोल्दै हुनुहुन्थ्यो | मलाई देखेर होइन नानी तिमी यतिबेला कताबाट आयौ ? भन्दै सोध्नु भो | म चुपचाप एकछिन उभिएर केही नबोलिनै बाटो लागेँ, पूलमा पुग्दा छेउघरेनी तुम्मा भेटें उहा ईखाबु गाउँ डुलेर फिर्दै गर्नु भएको भनि सजिलै अनुमान लाउन सकिन्थ्यो | किनकि त्यस पुलले छिरुवा र हाम्रो गाउँ ईखाबुलाई जोद्थ्यो | छिरुवामा त्यसबेला जम्मा दुई ओटा दोकान थिए, बाटोमाथि लुङ्ग्थुङ्गेको र छेउमा छेउघरेको, पछि म ठुली भएपछि लुङ्ग्थुङ्गेको छोरी काली र छेउघरेको छोरी कल्चुंडी उमेरमा ठुलो भैकन पनि म संग खुब मिल्ने साथि बने |

पुलमा भेटेको छेउघरेनी तुम्माले, होइन नानी यति राति तिमी कताबाट आयौ ? कता हिंडेकी ? भो हाम्रो घरमै बसेर बिहान जाऊ ? धेरै रात पर्यो भन्न थाल्नु भो | होइन तुम्मा म घर हिंडेको मावला बाट आएको भने | मेरो कुरो सुनेर आफ्नो नाखको बुलाकी र ढुंग्री छाम्दै होइन किन रेला गरेको म बुढी मान्छे सँग ? भन्दै हाँस्नु भो | उहा बार्हैमाश बुलाकी र ढुंग्री लगाइराख्नु हुन्थ्यो |

फेम्बुबाट एक्लै ईखाबु पुग्न सक्ने न उमेर थियो न शरीर पत्याउने कसरी ? तर उहाले पत्याउनु नपत्याउनु संग मलाई सरोकार थिएन, बरु चाँडो घर पुग्नुसँग मतलब थियो | कति छिट्टो हिड्थे म अहिले सम्झेर छक्क पर्छु | एकैछिनमा हाम्रो बारी ससिङ्ग्बुङ्ग पुगेर माहङ्ग्बा खोल्साबाट माङ्ग्यक खेतमा ल्याइएको पानीको कुलै कुलो पानी खेल्दै गएँ | बर्खामाश भएकोले बाटो हिलै हिलो थियो, खाली खुट्टा शरीरमा एउटा जामा थियो | बाबाले मेरी पुतली भन्नु हुन्थ्यो साँच्चै दुरुस्तै सानी पुतली जस्ती थिएँ सायद | हाम्रो घर पुग्नु अघि ठुलो बरहरको बोट आउंथ्यो मूल बाटोमा त्यस बरहरको बोट मुनि चौतारा थियो अनि चौतारा ओरिपरि गाँजाको बोटहरू टन्न हुन्थे | त्यस ठाउँ पछि मेरो बाख्रा चरण भएको थियो |

बर्हरको बोट काटेर मास्तिर पुगेपछि हाम्रो घरतिर पस्ने बाटो छुट्टिन्थ्यो | त्यहाँ पुगेपछि मेरो मनले भन्यो एकपल्ट आमा घरमा छ कि चेक गर ? म ठुली आमाको घर जाने मूल बाटो छाडेर घरतिर छिरें | एकैचोटी भित्र पसिन, अँध्यारोमा सुस्तरी ढोकाको चेपमा लुकेर भित्र हेरें, बोजुसँग तल्लो घरको माया, तेजी दिदी र उहाहरूको आमा पहिराने कान्छी तुम्मा आगो ताप्दै अगेना छेउमा बसिरहेका थिए | पछि मैले सुने अनुसार बाजे पेन्सन थाप्न कालेम्पुंग जानु भएको थियो र बोजुलाई साथि दिन तल्लोघर बाट दिदीहरू आएका थिए | बाहिरै बाट चिहाएर आमा त्यहाँ नभएको पत्ता लगाइसकेर फेरि दौडिएँ ठुलिआमाको घरतिर | ठुलिआमाको घर अलिक सिरानतिर पर्थ्यो |

ठूलीआमाकोमा पुगेर भित्र चिहाउँदा आमा र ठूलीआमा भर्खर भेटेर बात मार्दै हुनुन्हुन्थ्यो | आमाले पिट्ने डरले भित्र पसिन ढोकाको छेउमा उभिएर “आमा ” भनि आवाज दिएँ | होइन को पो यति राती आमा भन्ने ? ठुलीआमा यसो भन्दै टुकी बोकेर निस्कनु भो | तर म मास्तिर दौडिएर चेपमा लुकें | मलाई नदेखेपछि ठुली आमा भित्र पस्नु भो | म फेरि निस्किएँ र उही गरि फेरि कराएँ …लगातारको यहीं कार्य दोहोरिएपछि आमा र तुम्मा दुवै निस्किएर मलाई खोज्न थाल्नु भो | म मास्तिर भर्याङ्ग मुनि लुकिरहेकी थिएँ | अँध्यारोमा बिरालोको आँखा जस्तो मेरो आँखा टल्किएको देखेर भेट्नु भो मलाई | आमाले त्यहींनै झापट दिन खोज्दै हुनुहुन्थ्यो तर ठुलीआमाले छेक्नु भो | भित्र लगेर छेक्दा छेक्दै पनि एक झापट त खाइहालें | त्यसदिनको बदमासिपनलाई त्यो एक झापट कम थियो कि ज्यादा ? भुलें मैले तर, त्यसपछि मेरो छोरी कसरी बाँचेर आई ? त्यत्रो लामो बाटो, तमोरको साँगु, चिहानघारी, बर्खामाशको जंगल भन्दै मलाई अंगालेर आमा रुनु भएको अझै भुलेकी छुइन | क्रमश: …