बिजिडब्लूएस १८औं पटक रिमेम्ब्रेन्स सन्डे परेडमा

प्रकाश गुरुङ
  •  
  •  
  •  

लन्डन, नोभेम्बर १५ । ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लूएस) “द रिमेम्ब्रेन्स् सन्डे सिनोताप परेड” लन्डनमा सहभागी भएको छ । यो ग्रेटब्रिटेनमा हुने महत्वपूर्ण परेड हो । बिजिडब्लूएसले गत १८ वर्षदेखि लगातार उक्त परेडमा भाग लिँदै आएको छ ।

आइतबार बिहान सबरै यूकेका विभिन्न ठाउँहरुबाट नौ बजे नै लन्डनस्थित होर्स गार्ड परेड ग्राउन्डमा दस हजारभन्दा बढी भेट्रेनहरु परेडका लागि जम्मा भयो । आ-आफ्नो तोकिएको कलोममा उभिएर पुरानो साथीभाइहरुसँग गफगाफ भयो । बिजिडब्लूएसका अध्यक्ष मेजर रिटार्यड टिकेन्द्र दल देवान जेपीको नेतृत्वमा भूपू गोर्खा समूह होर्स गार्ड परेडको “कलोम डि” मा लाइन वृद्धा भएका थिए । १० बजेपछि सबै जना मुख्य परेडका लागि ह्वाईटहल र पार्लियमेन्ट स्ट्रिटतिर लागे । करिब एक घण्टाको पर्खाइपछि मुख्य अतिथिहरु राजपरिवारका सदस्यहरु, विभिन्न पार्टीका नेताहरु, सेना प्रमुखहरु र कमनवेल्थ देशका प्रतिनिधिलगायत बेलायतका लागि कार्यभार नेपाली राजदूत रोशन खनालको पनि उपस्थिति भयो ।

ठीक ११ बजे तोप पड्कियो र बिगबेनको घन्टी बजे साथै २ मिनेट मौनधारण भयो । मौनका बेला “हामी शान्तिका लागि प्रार्थना गर्छौं” भन्ने मन्त्र सबैले मनमनै संझे । त्यसपछि सिनोतापमा रिथ चढाउने क्रम प्रिन्स अफ वेल्स, राजकुमार विलियम, प्रिन्सेस आन अन्य राजपरिवारका सदस्यहरुबाट सुरु भयो ।

प्रधानमन्त्री बोरिस जोनसन, लेबर लिडर शर किर स्टारमर, अन्य पार्टीका नेता, नेभी सेना र ऐयर फोर्सका प्रमुखहरु क्रमशः रिथ चढाए । कमनवेल्थ देशका प्रतिनिधिहरुले सामूहिक रुपमा रिथ चढाए । नेपाल कमनवेल्थ देश नभए तापनि बेलायतको घनिष्ठ सम्बन्ध भएको नाताले रातदूतलाई कमनवेल्थसरहकै सम्मानमा राखिएको छ । यसको मुख्य कारण वफादारी गोर्खा सेनाले बेलायतलाई गरेको सेवा नै हो भन्दा अत्युक्ति नहोला ।
कार्यक्रममा भूपू प्रधानमन्त्रीहरु जोन मेजर, टोनी ब्लेयर, गोर्डन ब्राउन, डेबिट क्यामेरुन र तेरेसा मे सहभागी थिए ।

द लोर्ड बिसफ अफ लन्डनले प्रार्थनाहरु वाचन गरेका थिए । प्रार्थनाको अखिरमा सबैले “गड सेभ द क्यिन” राष्ट्रिय गान गाए । हजारौंको संख्यामा उपस्थित भेट्रेनहरुको मार्च पास सुरु भयो। “आयो गोर्खाली” तालीको गडगडाहट बाटोको दायाँबायाँ उभिएका दर्शकहरुबाट पाउँदा धेरै गौरव महसुस भएको गोर्खाहरु बताउँछन् ।

बिजिडब्लूएसको पालोमा रिथ सिनोतापमा दिँदै गोर्खा परेड कमान्डर टेकबहादुर थापाले अईज राईट गरे । पार्लियमेन्ट स्ट्रिटबाट किङ चाल्स स्ट्रिट हुँदै क्लाईभ स्टेप्स, होर्स गार्ड रोडबाट दाहिने मोडियो । पुनः होर्स गार्ड परेड ग्राउन्ड पस्ने ठाउँको सोलोटिङ डेस्कमा प्रिन्स विलियमले सलामी लिएका थिए । जब गोर्खाहरुको समूहले आइज राईट गरे । राजकुमारले सलाम फर्काउँदै “नमस्ते जेन्टलमेन” भने । त्यो गोर्खाहरुलाई दिएको सम्मान हो ।

बिजिडब्लूएसको पहिलो कार्यक्रम होर्स गार्ड परेड ग्राउन्डमा आएर सकियो । दोस्रो कार्यक्रमका लागि रक्षा मन्त्रालय अगाडि रहेको गोर्खा स्ट्याचुतिर लागे । बाटोमा पाईपर कृष्ण राईले विभिन्न धुनहरु बजाएर धेरै दर्शकहरुलाई आकर्षित पारेका थिए । गोर्खाको सालिकमा सबैको तर्फबाट मेजर देवनले रिथ चढाएर सलाम गरे । ‘पुर्खाहरुको कारणले हामी बेलायतमा बस्न पाएका छौं । सालमा एक दिन उहाँहरुलाई संझना गर्ने हाम्रो कर्तब्य हो । जसले मनन् गरेर आउनुभएको छ । धन्यवाद छ संस्थाको तर्फबाट,’ देवानले भने।
सामुहिक तस्बीर लिए पछि दोस्रो कार्यक्रम सकियो।

निश्चित समयमा कोचमा चढी लन्डनबाट अल्डरसटका लागि हिँडियो । हालसालै मात्र निर्माण भएको पहिलो भीसी कुलवीर थापाको सालिक अल्डरसटस्थित प्रिन्सेस गार्डनमा अवस्थित छ । बिजिडब्लूएसको समूह कोचमा आइपुग्यो । पाइपर राईको धुनसँगै छोटो मार्च पास गरी मौनधारण साथै सालिकमा देवानले रिथ चढाए । कोचबाट गोर्खा भवन आइपुग्यो र जाडोमा मीठो मेसिङको स्वाद सबैले लिए । अध्यक्ष देवानले पाईपर कृष्ण राईलाई विशेष धन्यवाद दिए।