फोनिजका संघीय अध्यक्ष गुरुङ पुरस्कृत

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित ‘पार्वता तमु स्मृति पत्रकारिता पुरस्कार–२०७७’ बाट नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ पुरस्कृत भएका छन् ।

प्रतिष्ठानको २० औं वार्षिकोत्सवको अवसरमा शनिबार पोखरामा आयोजित कार्यक्रममा पत्रकार गुरुङलाई प्रतिष्ठानले उक्त पुरस्कार दिइएको हो । पुरस्कृत भएका गुरुङ तमू (गुरुङ) सञ्चारकर्मी संघको पूर्वअध्यक्ष एवं नागरिक खबर डटकमका संचालक अध्यक्षसमेत हुन् ।

उनलाई प्रतिष्ठानको २० औँ वार्षिकोत्सव स्रष्टा सम्मान एवम विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रमको अवसरमा गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा गणेशमान गुरुङले नगद २५ हजारसहित फेटा र सम्मानपत्रले पुरस्कृत गरेका हुन् । साढे दुई दशकभन्दा लामो समय विभिन्न प्रिन्ट एवम् श्रव्यदृश्य मिडियामा आबद्ध रही सूचना तथा संचार क्षेत्रमा पुर्‍याएको उल्लेखनीय एवम् अविष्मरणीय योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले बताएको छ ।

सिन्धुली तीनकन्या नगरपालिका ९ स्थायी घर भई गुरुङ हाल ललितपुर महानगरपालिका २३ हात्तीवन बस्दै आएका छन् । सम्मान कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमू र सञ्चालन सचिब भेषबहादुर तमूले गरेका थिए ।