गायक लामा र प्रधान बेलायतमा

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

लन्डन । बेलायतमा आयोजना हुने सांगीतिक कार्यक्रमका लागि गायकद्वय राजु लामा र सञ्जिप प्रधान लन्डन आइपुगेका छन् । आगामी शुक्रबार साँझ अल्डरसटको एम्पायर हलमा हुने एचके नाइट २०२१ का लागि गायकद्वय बेलायत आएका हुन् ।

सोमबार साँझ लन्डन हिथ्रो विमानस्थलको टर्मिनल ५ मा उत्रिएका गायकद्वय लामा र प्रधानको साथमा गायिका सरिष्मा अमात्य समेतलाई एचे नाइटका आयोजकहरुले स्वागत गरेका थिए । आयोजक हङकङ युथ नेप्लिज एशोसिएसन यूकेका अध्यक्ष सुवास घोतानेका साथमा राजन गुरुङ, हेम गुरुङ, अजय श्रेष्ठ, मिका , पप्पु, आशिष, सुदिप, सुबाससहित सो समूहका दुई दर्जन सदस्य गायकहरुको स्वागतका लागि विमानस्थल पुगेका थिए । कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेजका निर्देशक किरण गुरुङ पनि कलाकार स्वागतका लागि हिथ्रो गएका थिए ।

आयोजक समूहका अध्यक्ष सुवास घोतानेले गायक लामा र प्रधानलाई पुष्पगुच्छा र खादासहित बेलायतमा स्वागत गरेका थिए । लन्डन उत्रिएलगत्तै दुवै गायकहरुले पनि शुक्रबार हुने एचके नाइटमा सहभागी हुन बेलायतवासी नेपालीहरुलाई निम्तो दिएका छन् ।

कार्यक्रममा गायकद्वय राजु लामा र सञ्जिप प्रधानका साथै बेलायतस्थित कलाकार आइएम गोले, दाजुभाइ ब्याण्ड र सिक्का ब्याण्डको विशेष प्रस्तुति रहनेछ । कार्यक्रम सञ्चालन मिस इंग्ल्याण्ड रनर अप प्रतिष्ठा रावत र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङले गर्नेछन् ।

साँझ ७ बजे शुरु हुने कार्यक्रम मध्यरातसम्म चल्नेछ । त्यसपछि अल्डरसटकै प्यालेस हलमा आफ्टर पार्टी आयोजना हुनेछ । जहाँ डिजे एसकाजीले बिहान तीन बजेसम्म नचाउने कार्यक्रम छ । कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेज छ । कार्यक्रमको हरेक टिकटमा वाटरमेलन मोर्गेजेजको सेवाशुल्कमा २५ प्रतिशतको छुट समावेश छ । टिकट प्रायोजक मःम स्टेसनले पनि हरेक टिकटलाई आफ्नो रेष्टुरेन्टमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

कोभिड महामारीयता नेपालका चर्चित कलाकारहरुको साथमा बेलायतमा साँगीतिक प्रस्तुति हन लागेको यो पहिलो अवसर हो । बेलायतवासी नेपाली दर्शकहरुको लामो प्रतिक्षापछि हुन लागेको कार्यक्रमलाई विशुद्ध सांगीतिक र मनोरञ्जनात्मक बनाइने आयोजकले बताएका छन् ।