कविता : दसैं आयो

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

आहा ! हेर्दा हेर्दै प्रकृतिले
नौलो रुप लियो,
शरद ऋतुको आगमनले
मनमा खुशी ल्यायो !
हावा, पानी र माटो
सुस्तरी सलबलायो
वन, पाखा, पखेरीमा
सुन्दर प्रकृति चलमलायो
रूख बिरुवाले
नयाँ बस्त्र लगायो
हेर्दा हेर्दै चारैतिर सुन्दर
हरियाली छायो !
चराचुरुङ्गीहरू चिरबिर गर्दै
रमाउन थाल्यो,
वरिपरि मनोहर दृष्य
शारदीय फूलहरू फुलेर
मनलाई प्रफुल्लित बनायो,
आहा ! फेरि घुमी घुमी
बडा दसैं आयो !
गाउँघर, लेक, बेँसी
शहर, बजार जताततै
हर्ष र उमंगको लहर छायो !
डाँडा, काँडा र घर आँगनमा
प्रकृति मुस्कुरायो !
सृष्टिको यो अनुपम खेलले
धरतीको माटो मगमगायो !
यत्रतत्र बारी, कान्लामा
सुन्दर सयपत्री र मखमली
पनि फुल्न थाल्यो,
हिमाल, पहाड, तराई र मधेस
सबैका मनहरू
सँगसँगै रमायो !
दु:ख, पिडा बिर्सिएर
हर्ष र उल्लास छायो !
घर दैलो र बाटो घाटो
पानी पँधेरो सिँगारिन थाल्यो !
टाढादेखि परदेशी पनि
घर सम्झी फर्केर आयो !
आहा ! फेरि घुमेर
बडा दसैं आयो,
हेर्दा हेर्दै घर आँगनमा
खुशीयाली छायो !!!