[संस्मरण] भाग २ : अतीततिर फर्कंदा – ‘कान्छी माइजुको मृत्यु’

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

एकरात माथि मूलघरबाट कान्छा मामा सुई.…नेप्ट्टूको आमाले छाड्यो है हामीलाई भनेर कराउनु भो, ‘नेप्टू’ कान्छा मामाको जेठा छोराको नाम थियो । मामाले माइजुलाई बोलाउँदा नेप्टूको आमा भन्नु हुन्थ्यो ।

म तल जेठा मामाको घरमा मामाको छोरीहरू सँगै सुतिरहेकी थिएँ | जेठा मामा र माइजु पनि कराउँदै उठेर तलामाथिबाट आउनु भो | रात जुनेली थियो हामी सबै अतालिँदै अमलबोटे उकालो दौडियौं, घर पुग्दा कान्छी माइजुलाई तन्काइ राखेका थिए | कान्छा मामा ग्वाँ …ग्वाँ गरेर छेउमा छाती पिटीपिटी रुँदै हुनुहुन्थ्यो | मैले पहिलोपल्ट देखें छोरा मान्छे त्यस्तरी रोएको कति नसुहाएको | कान्छी माइजुको सातो लखेटे जतिकै कुकुरहरू भुक्थे गाउँमा, म डरले जेठी माइजुको पछिपछि घुस्रिँदै बसेँ ।

मसिना भाइ बहिनीहरू अगेना छेउमा सुतिरहेका थिए | आमा मरेको पनि थाहा थिएन उनीहरूलाई कति निर्दोष, कति अन्जान ? गाउँका मान्छे भेला भएर रातभरि साथ दिए त्यो रात | बिहान सबेरै आँगनमा हरियो बाँसमा माइजुलाई बेहुली जतिकै सजाए, जिउँदो हुँदा कहिल्यै लगाउन नपाएका गरगहना लगाइदिए | ठ्याक्कै बेहुलीजस्तै देखियो | त्यहाँ नरुने कोही थिएनन्, म पनि रोएँ, म सबैभन्दा धेरै कान्छा मामा र माइजुसँग बस्थें ।

माइजुले माइती याङ्ग्रक मामाङ्ग्क्खेबाट सैमुन्द्री छिनाउँदा एउटा पाडा भैँसी दाइजो ल्याउनु भएको थियो । उक्त पाडालाई म चराउन लैजान्थे। एकदिन तल सोनामको खेततिर चराउन लागेकी थिएँ केटाकेटीमा कता खेल्न थालें खोइ ? पाड़ाले माइला मामाको फाफ़र खाएछ । गाउँमा माइला मामा सारै छुच्चा हुनुहुन्थ्यो । मैले बाली खुवाएको रिपोर्ट पुगेपछि माइजुले कराउनु भो । त्यसपछि चित्त दुखाएर म जेठा मामाकोमा बस्न थालेकी थिएँ । त्यस्तै केही नराम्रो हुनु थियो कि ! माइजु सारै चिरचिर रिसाइरहनु हुन्थ्यो । कुनै बेला मामासँग लाप्पा नै खेल्नु हुन्थ्यो ।

एकपल्ट फेम्बु पुछारमा एउटा तामाङ घर थियो । त्यस घरमा दुई/तीन बहिनी तरुनी छोरीहरू थिए । त्यस घरको काइँली छोरीले खेतालाहरूका लागि ठूलो भाँडामा चिया तताएर लैजाँदै गर्दा लडेर चियाले पिल्सिएको थियो । हाम्रो जेठा र कान्छा दुवै मामाहरू धामी थिए । जेठा मामा त एकराते चिन्ता राख्न कता कता पुग्नु हुन्थ्यो, मामाको चिन्ता बस्दा लाउने जामा, घण्टी नै घण्टी झुण्डिएको कौडीको माला, रुद्राक्षको माला अनि टाउकोमा लगाउने दुम्सीको काँडा र पुवांखको पगरी, ढ्यांग्रो र थाल हुन्थ्यो । हाम्रो मासु चिलाएर कुटाई खान मन लागेको बेला ! तलामाथि मामाको ती सर्दम राखेको ठाउँमा पसेर मामाजस्तै बनेर थाल र ढ्यांग्रो बजाउँदै नाच्थ्यौं ।

तर कान्छा मामाचाहिँ चिन्ता बस्नु हुन्थ्यो उहाँ साधारण फुकफाक र शिर उठाउने (माङ्गेना) चाहिँ गर्नुहुन्थ्यो । कान्छा मामाले कहिले माङ्गेना गरिदिन्छ र कुखुराको डल्लै कलेजो पोली खानु जस्तो लात्थ्यो । हाम्रो लिम्बु संस्कारमा दु:खबिमारबाट जोगिन वर्षमा एकपल्ट शिर उठाउने (माङ्गेना) गर्ने चलन छ । त्यसरी माङ्गेना गरेको आफ्नो भाग कुखुराको कलेजो सिङ्गै खानु पर्थ्यो । आजभोली लिम्बुहरूले त्यस चलन अथवा काटमार गर्नु हुन् भनेर फूल र चामलले गर्न थालेका छन् । अनि कुखुराको कलेजो सिङ्गै खाए जसरी फूल र चामलले गर्दा आफ्नो भागको चामल एक्लै खाने चलन छ । त्यसरी ठूलो घर काँइली थलिएपछि कान्छा मामा समय समयमा फलाक्नु र डढेको घाऊमा जडिबुटीको लेप लगाइदिन जानु पर्थ्यो । मामा त्यहाँ गएर आएको रात घमासान लडाइँ हुन्थ्यो। अहिले सम्झिंदा माइजुले आँखा लाउनु हुन्थेछ ।

घरमा माइजु मर्नु अघिदेखि के के भैरहन्थ्यो ! मामा माइजु दुवै सारै जाँगरिला थिए | बारीभरी फर्सी, इस्कूस, अम्बक, कागती र बदाम खेती गर्थे | कोदो मकैको त झन् कुरै नगरौं | कहीं न कामको पाखोबारीमा पनि दुई घोगे मकै फल्थ्यो, डल्ले मंसिरे कोदो एउटैले मुट्ठी भरिन्थ्यो | यस्तरी खेतीपाती सप्रेको देखेर मामा माइजुमात्र होइन सारा गाउँ नै छक्क परेका थिए | मलाई अझै सम्झना छ बदामको एउटा बोट उखाल्दा उचाल्न नसक्ने गरि बदाम फलेको हुन्थ्यो |

जाँगर पनि यति कि मामा माइजुको आफ्नो बारीहरू गरिसकेर खोल्सापारीको पाखो पनि फाँडेर मकै छर्नु हुन्थ्यो | मामा माइजु जुन मेलोमा भए पनि दिनमा एकपल्ट सानो भाइ लुतेलाई दिउँसो एकपल्ट दूध खुवाउन लैजानु पर्थ्यो | त्यतिबेला नानी हेर्ने काम मेरो थियो | एकदिन खोल्सापारीको भस्मेमा मकै एकोहोरे गोड्दै हुनुहुन्थ्यो, म भाइलाई बोकेर बाटो लाग्दै थिएँ | पछाडि आफ्ना चल्लाहरू सँग चर्दै गरेको पोथी बाँसेको सुने | त्यस वर्ष घरमा भाले कुखुरा थिएनन्, सोचें पल्लोघरको भाले आयो कि ? फर्केर हेरें त्यहाँ कुनै भाले थिएन | कान्छा मामा र माइजु बसेको मूलघर भन्दा पर्तिर कान्छा बाजेको मूलघर थियो, कान्छा बाजेका अन्य छोराहरू घर बनाएर अन्त छुट्टिए पनि कान्छा छोरा र बुहारीसँग बाजे मूलघरमै बस्नु भएको थियो । त्यस घरमा एउटा टोक्ने कुकुर थियो कान्छा मामाको देखि पानी भर्न जाँदा त्यै घरको आँगन भएर जानु पर्थ्यो, म कुकुरको डरले पानी लिन जान मान्दिन थिएँ ।

पोथी बासेपछि छक्क पर्दै भाइ बोकेर अमलबोटे ओरालो लागेँ, मामा र माइजुले मेलो निक्कै माथि पुर्‍याइसक्नु भएको रहेछ | खोल्सा तरेर पनि निक्कै माथि उक्लिनु पर्‍यो | तल कलकल बग्ने खक्सेक्वा खोल्सा, माथि रमाइलो मानेडाँडा, तितेपातीको घारी त्यसैले त्यस ठाउँको नाम तितेनीघारी थियो, जेठा मामा पल्टन गएर त्यस जंगल र डाँडा सबै किनेको भन्थे। हामी बस्तु चराउन पनि त्यहीं जान्थ्यौँ। उही डाँडाको फेदमा मेरो मामा माइजुको मकैबारी | प्राकृतिक रुपले साँच्चै नै स्वर्गजस्तो लाग्थ्यो मलाई मावल गाउँ | घाम लाग्दा मामाको छोरा छोरीहरूसँग भेला भएर खुब पौडी खेल्थ्यौं त्यस खोल्सामा | खोल्सा कताबाट आउँथ्यो थाहा थिएन, तर मामा छेमाहरू भन्नु हुन्थ्यो उसको सिर मुरिंला हो | अनि त्यस मुरिङ्ग्लामा बनमान्छेहरू बस्छन् त्यस खोल्साको बाटो भएर औंसीपुर्णेमा वनमान्छेहरू तमोरमा नुहाउन झर्छन् | केटाकेटीहरू देखेमा बोकेर लैजान्छन् अनि काटेर पोलेर खान्छन् |

हामी डरले थर्थरर हुन्थ्यौं | बोजु बाजेलाई औंसी पूर्णे कहिले आउँछ भनि सोधेको सोध्यै गर्थ्यौं | बाल्यकाल बितेको त्यस खोल्सीको अझै याद आउँछ |
म भाइ बोकेर मामा माइजुले भर्खर गोडेको मकैबारी हेर्दै माथि जाँदै थिएँ, मामा र माइजु पनि हामीलाई देखेर खन्न छाडी हेरिरहनु भएको थियो | अचानक म उभिएको माटो भासिएर लड्न लागेँ माथिल्लो डिलबाट मामा हामफालेर झरेर मेरो हातमा च्याप्प पक्डिनु भो | भाइ पछाडि नै थियो, म थरथर काँपे मामाले तानेर बचाइसकेपछि पो हेरें मैले टेकेर उभिएको त्यस ढुंगा लड्दै लड्दै तल खोल्सा पुग्नै लागेको थियो | माइजु दगुर्दै आएर भाइ समातेर रुनु भो अनि पो झन् डर लाग्यो र म पनि रुन थालें | मामाले निधारको पसिना पुछ्दै आज झन्डै छोरा र भान्जी गुमायौं भन्नु भो |

त्यसपछि हिंड्ने खेर आँगनमा पोथी बासेको कुरो पनि सुनाएँ | त्यो सुनेर मामाले भन्नु भो हाम्रो घरमा केही लोदरहरू भैरहेछन् अस्तिदेखि | कहाँ के हुन्छ कुन्नी ? आज राति नै काटेर धुरी कटाइदिन्छु अब त्यस पोथीलाई | मामाको कुरो सुनेर झन् डराएँ, लाग्यो अब भाइ बोकेर घर कसरी जानु किनकि त्यो लोदरे पोथीले अब के गर्ने हो ? कतै हामीलाई नै त खाने होइन ? कति धेरै डर बलापनमा ? डरैसरि भाइ बोकेर घर फर्किएँ | घर पुगेर सबै भाइ बहिनी बटुलेर गुटुमुटु परेर कुनामा बसिरह्यौं | पोथी चल्ला लिएर छेउछाउ आउँथ्यो डरले हाम्रो सातो जान्थ्यो |

साँझ अबेरमात्र मामा र माइजु घर आइपुग्नु भो | आएर माइजुले खाना पकाउनु भो मामाले उक्त पोथी बास बसिसकेको खोरबाट झिकेर घर मास्तिर लैजानु भो | माइजुले नगर्नु चल्ला मसिना छन् बिजोक हुन्छन् भन्दै हनुहुन्थ्यो तर मामाले त्यस पोथीलाई काटेर धुरी कटाई छाड्नु भो | हामी उक्त पोथीको मासुसँग भात खाएर रमाउँदै सुत्यौं | पोथी मरेपछि डर पनि हरायो फेरि उसैगरी खेल्न कुद्न थाल्यौं | मसिना चल्लाहरू साँच्चै नै बिचल्ली भए जताततै आमा खोज्दै कराउँदै हिंड्थे | ती चल्लाहरू देखेर आमाको अभाव खुब महसुस गर्थें, किनकि त्यसबेला आमा र भाइ इखाबू घरमै हुनुहुन्थ्यो |

केही महिना बाद एकरात सुतिरहेका थियौं | एक्कासी घर मास्तिर कताकता हुचिल ठुल्ठूलो स्वरमा करायो | मामाले सुनेर होइन यो साले हुह्चिल कता कराउँछ ? भन्दै उठेर जानु भो | मामा जाने कुरो सुनेर म झन् गुटुमुटु परें डरले | हाम्रो मामा कस्तो साहसी ! डर पनि नलाग्ने ? यस्तै सोच्दै कान ठाडो पारेर सुनिरहें, तर त्यसपछि के भो थाहा भएन, एकछिनमा मामा आफ्नै टुप्पी छाम्दै आउनु भो | होइन के भो ? भन्दै माइजुले सोध्नु भो | त्यस हुह्चिल त हाम्रै घरधुरीमा पो कराउँदै रैछ र ढुंगा टिपेर हानेको त मेरै टुप्पी पो उखालेर गयो | मामाको कुरो सुनेर हामी छक्क पर्यौं | माइजु चिन्तित हुनु भो, होइन यो सब लोदरहरू केका लागि हुँदैछन् ? भन्दै गुनगुन गर्नु भो, आमाबाबा बुढाबूढी हुनु भो के हुने होला नि ? मामाले पनि यसो भन्दै दु:ख पोख्नु भो | हामी केटा केटीहरू झन् एक पोका भयौं | कान्छा मामाको ठूलो छोरा नेप्टूमात्र अलिक बुद्धि छिप्पिएको थियो अरु दुई भाइ छोरा र छोरी त मसिना थिए।
यस्तै लोदर खेप्दै पनि काम गरिरहनु हुन्थ्यो मामा माइजु | इस्कूस खाइनसकेर खाडल खनेर पराल ओछ्याई पुर्नु भो, फर्सी, कुबिंडोहरू चाना काटेर सुकाउनु भो, गाउँभरिकालाई बाँडेर नसक्ने गरी फलेको थियो | त्यो पनि एक प्रकारको लोदर नै थियो भन्थे गाउँलेहरू |

हरियो बाँसमाथि राखेर सेतो कात्रोले लपेटीसकेपछि माइजुलाई बोकेर अमल्बोटे ओरालो झारे, लास लैजानु अघि हामीलाई बोलाएर माइजुको खुट्टामा ढोग्न लगाइयो | मैले पनि भाइ बहिनीहरूको पछि गएर ढोगें सारै नरमाइलो लाग्यो माइजुले हामीलाई छाडेर जाँदा | यसरी कान्छी माइजु बितेर जानु भो मामाहरूले सारा कुलकुटुम्ब, इष्टमित्र बोलाएर ठूलो बरखी गर्नु भो | माइजुले जोहो गरिराखेको अन्न पानीले नै उहाँको बरखी पनि सकियो भन्थे गाउँलेहरू |

माइजुको शेषपछि घर शून्य भो, गाउँ शून्य भो । बाजे बोजु पनि आफूभन्दा पहिले बुहारीलाई बाटो लाउनु पर्दा अति दुखी हुनु भो। कान्छा मामा मुयोक खम्योक (लिम्बु भाषामा उदास, उजाड) हुनु भो, घरबाट तल माइजुलाई गाडेको चिहान डाँडा हेर्दै रुनुहुन्थ्यो। जसरी पोथी काटेपछि चल्ला बिचल्ली भए त्यसैगरी मामाको परिवार बिचल्ली भए ।

मान्छेको जीवनमा परिवार भनेको के हो भन्ने कुरो माइजु मरेपछि महसुस भयो । नानीहरू बिजोग भए भनेर तल बाजे बोजुले ल्याउनु भो, म पनि माइजुको बरखीपछि बाजेसँग घर आएँ । क्रमश…