गोर्खा स्मारक मुलुककै गौरव : निवर्तमान मुख्यमन्त्री गुरुङ

हुम तमु
  •  
  •  
  •  

पोखरा २ असोज । प्रथम विश्वयुद्ध, द्वितीय विश्वयुद्धलगायत क्षेत्रीय लडाइँहरुमा मारिएका, बेपत्ता भएका ६० हजारभन्दा बढी गोर्खाजको स्मरण गर्ने निर्माणाधीन गोरखा स्मारक अर्थात गोर्खा स्मृति स्थल स्याङ्जा जिल्ला फेदिखोला गाँउपालिका वडा नं.१ रामकोट साल्मेडाडामा शनिबार बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गोरखा स्मारक ट्रष्टले फेदिखोला गााउपालिकाका निर्वाचित जनप्रतिनीधिहरु बिच गोर्खा स्मृति स्थल विकास तथा सम्बद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बीर गोर्खाहरुको गौरबगाथा झल्कने र युद्धहरुमा मारिएका, बेपत्ता भएका गोर्खाज पितृहरुको समाधिसहितको गोरखा स्मारक स्थलमा आयोजिक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले सिंगो नेपाल र नेपालीको गौरबका योजनालाई सबैको साथ जरुरी रहेको बताउनुभयो।

सरकारले बनाउनुपर्ने गोर्खा स्मारक भुपु गोर्खाहरुले परिकल्पना गरी निर्माण अघि बढाएको योजनामा सरकारहरुले निरन्तर साथ दिनुपर्नेमा सरकार परिवर्तन हुदाँ संकिर्ण सोंच प्रस्तुत गर्दै विगतका योजनाहरुमा बजेट कटौती गर्नु गलत भएको उहाँको भनाई थियो। गोर्खा स्मारक यस क्षेत्र मात्रै नभई मुलुककै गौरबको आयोजना हो, सडक, खानेपानी लगायतका योजना सबै नागरिकका लागि भए पनि विकासका लागि आफुले अघि बढाएका योजनाहरुमा बजेट कटौती मात्रै होइन प्रदेश सरकारले शुन्यसम्म बनाएको भन्दै आपत्ति जनाउनुभयो।

प्रकृतिको सुन्दर साल्मेडाडामा गोर्खाहरुले मानवनिर्मित गुल्जार बनाउन खोजेको हो भन्नुहुदै उहाँले अबको पन्ध्र वर्षमा उक्त क्षेत्र सबैको आकर्षणको केन्द्र बन्ने ठोकुवा समेत पुर्व मुख्यमन्त्री गुरुङको थियो। बरु उक्त क्षेत्रका सुरक्षाका लागि प्रहरी चौकीको व्यवस्था, गोरखा स्मारकमा प्रवेश शुल्का लागि गाउपालिकाका पहल गर्न सुझाव दिनुभयो। गोरखा स्मारक ट्रष्टको माग अनुसार जग्गा भोगाधिकार उपलब्ध गराउन गाँउपालिकाले प्रकृयागत ढंगले सिफारिस गर्न, ट्रष्ट कार्यसमितिमा स्थानिय वडाध्यक्षसहित गाँउपालिकाबाट गोर्खाहरुकै प्रतिनीधित्व गराई अपनत्व र विकासका सघाउनुपर्ने उहाँको भनाई थियो। गोर्खाको पुण्य सोंचलाइ सार्थक बनाउन विगतमा विशेष योगदान पुर्याउन गेसोका पुर्व सभापति पदमबहादुर गुरुङ, पुर्व माननीय हितकाजी गुरुङ लगायतको योगदान सम्मान गर्नपुर्न सुझाव गुरुङले दिनुभयो।

शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै प्रदेशसभा सदस्य मिनप्रसाद गुरुङले गोरखा स्मारक नेपाल र नेपालीको गौरब, गोर्खाजको स्वाभिमानको योजनालाई सबैको साझा संकल्न जरुरी रहेको भन्दै उक्त योजनाको सफलताको शुभेच्छा प्रकट गर्नुभयो।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुदै गोरखा स्मारक ट्रष्टका सचिव डा.चन्द्रबहादुर गुरुङले साल्मेडाडाको उक्त जग्गा भोगाधिकारका लागि सिफारिस गरिदिन फेदिखोला गाँउपालिकालाई आग्रह गर्नुभयो। हालसम्म करिब १६ करोड ७१ लाख खर्च भएको स्मारक निर्माणका लागि सम्पर्क कार्यालय, गोरखा कदको मुर्ति, सहादत नामावलीको प्रकाशन, गोरखा बगैचा, गोरखा संग्रहालय, फेन्सिङ तरबार, समाधि उद्घाटन लगायतका लागि संघ, प्रदेश, स्थानीय सरकारसहित सहयोगदाताहरुसँग सहयोगको लागि अनुरोध उहाँको थियो।

यसरी नै शहरी विकास मन्त्रालय संघीय आयोजना कार्यान्वय इकाई पोखराका प्रमुख इञ्जिनियर झपटबहादुर थापाले शहरी विकास मन्त्रालय मार्फत गोरखा स्मारकमा गरिएका निर्माण कार्यका बारेमा जानकारी गराउनुभएको थियो।

फेदिखोला गाँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले साल्मेडाडाको स्मारकका निम्ती जग्गा भोगाधिकारका निम्ती गाँउपालिकाले प्रकृयागत पहल गर्ने बताउनुभयो। प्रदेशको गन्तव्य छनौटमा परेको साल्मेडाडाका लागि माग गरिएको बजेट प्रदेश सरकारले योजनामा समावेश नगरेको मात्रै नभएर उक्त क्षेत्रका विगतका निरन्तरताको योजनाका बजेट समेत कटौती गरिएको भन्दै आपत्ति समेत जनाउनुभयो। गोर्खाजको स्मृति भुमि, पुण्य स्थल, पर्यटनको केन्द्र साल्मेडाडामा सरकारहरुको सहयोग हुनुपर्दछ भन्दै विगतमा गरिएको वरिष्ठ आर्किटेक्चर शंकरनाथ रिमालको अनुसारको डिजाइनको निर्माण, बाँकी कामको खाका तयार गर्नुपर्ने, स्मारकको स्वामित्व र संचालनका बारेमा स्पष्टता जरुरी रहेको उहाँको भनाई थियो। यसरी नै लामिस्वाँरा र चारघरेको चिहानको बारेमा पनि प्रष्टता हुनुपर्दछ भन्दै उहाँे उक्त क्षेत्रमा गण्डकी प्राविधीक शिक्षालय, सडक, खानेपानी लगायतको योजनाका लागि निवर्तमान सरकारलाई धन्यवाद अध्यक्ष सुवेदीले व्यक्त गर्नुभएको थियो।

अन्तरक्रिया कार्यक्रममा सहभागी हुदै वडाअध्यक्षहरु मध्येबाट फेदिखोला गाँउपालिका वडा नं.१ का वडाध्यक्ष खिमबहादुर क्षेत्रीले गाँउपालिका लगायत उक्त क्षेत्रलाई चिनाउने, समृद्धिको गोरखा स्मारकलाई गााउसभा बाटै जग्गाको भोगाधिकारका लागि पहल गरिने बताउनुभयो।

कार्यक्रममा समाजसेवी मेजर डिलबहादुर गुरुङ, तारापति सुवेदी, सिद्धार्थ बहुमुखी क्याम्पसका प्रमुख हुमनाथ शर्मा लगायतले शुभकामना सहित गोरखा स्मारकका योजनामा सबैको साथसहयोगका बारेमा जोड दिनुभएको थियो। कार्यक्रममा आँधीखोला दोहोरी साँझका कलाकारहरुले साँस्कृतिक प्रस्तुती गरेका थियो भने स्मारक ट्रष्टलाई कुर्ची सहयोगदातालाई सम्मान गरिएको थियो।

गोरखा स्मारक ट्रष्टका अध्यक्ष जङगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य जसबहादुर गुरुङले गर्नुभएको थियो।
गोरखा स्मारक, समाधिस्थल निर्माणका लागि गोरखा स्मारक ट्रष्ट, युकेस्थित गोरखा हेरिटेज मार्फत गोर्खाज लगायत सहयोगदाताहरुले सहयोग गरिदै आएको छ भने नेपाल सरकार, गण्डकी प्रदेश सरकार, फेदिखोला गाँउपालिकाले सहयोग गरेको छ ।