बगर भाइ खलक यूकेको अध्यक्षमा दिलरास गुरुङ निर्विरोध चयन

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

लन्डन भदौ २६ । खेलकुद र सामाजिक क्रियाकलापमा छुट्टै पहिचन बनाउन सफल बगर भाइ खलक पोखराको यूकेस्थित भगिनी संस्था बगर भाइ खलक यूकेको अध्यक्षमा दिलरास गुरुङ निर्विरोध भएका छन् ।

संस्थाको शनिबार युकेमा सम्पन्न दोस्रो अधिवेशनले खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व दिलरासलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । यसैगरी संस्थाको उपाध्यक्षमा सामाजिक र व्यवसायिक क्षेत्रमा अग्रणी व्यक्तित्व कमल गुरुङ ‘धम्पुस’ निर्वाचित भएका छन भने महासचिवमा अर्जुन गुरुङ र कोषाध्यक्षमा भानु गुरुङ (थकाली)लाई निर्वाचित गरेको छ । तर अधिवेशनले अन्य कार्यसमिती सदस्यहरु भने चयन गरेको छैन ।

आवश्यक परेको बेला सबैले सहयोगी हातहरु समान ढङ्गले अघि बढाउने सँगै संस्थाको क्रियाकलापमा समेत साधारण सदस्यहरुको सहभागिता रहोस भन्ने हेतुले पदाधिकारीहरुको मात्रै चयन गरिएको जनाइएको छ । अधिवेशन बगर भाइ खलक यूकेका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ (सिएम)को अध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्षसमेत रहेका चन्द्रमान (सिएम)लाई नवनिर्वाचित समितिले सफल कार्यकालको भूमिकाको लागि बधाई तथा धन्यवाद दिँदै नेपालमा फर्किएर उनले आफ्नो सफल जीवनको लागि शुभकामनासमेत व्यक्त गरेको छ ।

संस्थाको अध्यक्ष पदमा निर्वाचित अध्यक्ष दिलरासले आफूलाई अध्यक्ष पदजस्तो गहन जिम्मेवारी प्रदान गरेकोमा सबैलाई धन्यवाद दिएका छन् । उनले आगामी कार्यकाल सफल बनाउन सबैको सहयोगको समेत अपेक्षा गरे ।

कार्यक्रममा तमु धिं यूकेका अध्यक्ष हित काजी गुरुङ, सहारा यूकेका अध्यक्ष कुमार गुरुङलगायतले बगर भाइ खलकले खेलकुद र सामाजिक क्षेत्रमा बनाएको पहिचानका लागि आफ्नो संस्थाको तर्फबाट सदैव सहयोग रहिरहने धारणा राखे । बगर भाइ खलक यूकेमा ९० जना भन्दा बढी साधारण सदस्य रहेका छन् । संस्थाले पोखरामा हुँदै आएको भेट्रान एट ए साइड फुटबल प्रतियोगितालगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।