कोरोना महामारीमा आदिवासी गुरुङ, गोर्खा लाहुरेहरु गुमाइयो

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

कास्की । विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण विश्वका सबै मानव समुदायलाई प्रभावित बनाए झैं नेपालका आदिवासी जनजातिहरु पनि प्रभावित भएका छन् । यसरी प्रभावित हुनेमा गुरुङ आदिवासीहरु पनि छन् ।

नेपालको गण्डकी प्रदेशका विभिन्न जिल्लालाई मूल थातथलो बनाएर बसोबास गरी रहेका आदिवासी गुरुङमा मानवीय क्षतिसँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्ष समेत प्रभावित बनाएको छ ।

सघन उपस्थिति गण्डकी प्रदेशमा भए पनि आन्तरिक बसाइँसराईका कारण देशैभरी र विदेशमा समेत गुरुङहरुको बसोबास पाइन्छ । कृषि, पशुपालनजस्ता परम्परागत पेसामा आबद्ध गुरुङहरु पछिल्लो समयमा व्यापार तथा पर्यटन क्षेत्रमा पनि आवद्ध रहेका छन् ।

पर्यटन क्षेत्रमा गहिरो असर
कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्र हो । गुरुङ समाज पनि सीमित रुपममा भए पनि पर्यटन क्षेत्रमा आबद्ध छन् । जे जति पर्यटन क्षेत्रमा लागेका छन् उनीहरुको व्यापार तथा व्यवसायमा गहिरो असर पुगेको छ ।

तमु पर्यटन व्यवसायी संघकी अध्यक्ष कमला गुरुङको भनाइमा गुरुङहरुलाई सबैभन्दा बढी हानी पर्यटन व्यबसायमा भएको छ । ‘कोरोनाले सबैभन्दा धेरै असर गरेको भनेको पर्यटन क्षेत्रलाई नै हो , यस्तो अवस्थामा पर्यटकहरु एक स्थानबाट अर्को स्थानमा जानसक्ने अवस्था भएन । त्यसकारण होटल व्यवसाय, र्‍याफटिङ, रेष्टुरेन्ट र ट्राभल, ट्रेकिङका सबै व्यवसायहरु धरासायी बनेका छन् ।’ कमलाले भन्नु भयो– ‘पर्यटन क्षेत्रका गाईड पोटरहरुलाई त हातमूख कै समस्या छ । उनीहरु भनेका श्रमजिवी बर्ग हुन् । यस क्षेत्रका पर्यटन मजदुरलाई लक्षित गरेर राज्यका कुनै पनि राहत कार्यक्रम आएको छैन ।’

गोर्खा लाहुरेहरु गुमाइयो
लाहुरे संस्कृति गुरुङ समुदायको अभिन्न अंग हो । गोर्खा सैनिकका रुपमा बेलायती सैनिकमा भर्ना हुने गुरुङ समुदायको एक परम्परा जस्तै रहेको छ । तर गोर्खा सैनिकबाट अवकाश प्राप्त धेरै जेष्ठ नागरिक कोरोना संक्रमणबाट मृत्यु भएको तमू ह्युल छोँजधिका अध्यक्ष रेशम गुरुङको भनाइ छ ।
‘संसारभरि नै कोरोनाको प्रभाव छ । एक हिसाबले मानव जातिको अस्तित्व माथि नै यसले प्रश्न चिह्न खडा गरेको छ । तर गुरुङ समुदायभित्रमा मात्र कुरा गर्ने हो भने बेलायत पुग्नु भएका धेरै जना हाम्रा अग्रज पूर्ब गोर्खा सैनिकहरु गुमाउनु पर्‍यो । उहाँहरुसँगको ज्ञान, सीप र अनुभवबाट देशले र सिंगो गुरुङ समाजले फाइदा लिन सक्थ्यो । यो दुखद् पक्ष हो,’ यही प्रसंगमा उहाँको थप भनाइ थियो–‘कोरोना प्रभावित गुरुङहरुको यकिन तथ्यांक उपलब्ध छैन, तर हामी के अनुमान लगाउन सक्छौं भने कोरोनाका कारण हामीलाई ठूलो क्षति पुगेको छ ।’

‘उहाँले कोरोनाका कारण तमु ह्युल छोजधिःको सांगठनिक काममा पनि बाधा आएको विवरण सुनाउनु भयो ।’ चैतको १८ हामीले तमु एकता दिवस भनेर मनाउने गर्दथ्यौ । त्यो मनाउन सकिएन । आजसम्म पनि संस्थाका पदधिकारीबीच भौतिक रुपमा बैठक बस्न सकिएको छैन । कार्यालयमा पुस्ताकलय र संग्राहलय निर्माण गरिरहेका थियौं त्यो गर्न सकिएको छैन । संस्थाको महाधिवेशन पनि रोकिएको छ ।’

सकारात्मक पक्ष पनि छन्
जहाँ चुनौती त्यहाँ अवसर भने झैं कोरोना महामारीका कारण थपिएका चुनौतीका बीच केही सकारात्मक पक्ष पनि उजागर भएको तमु ह्युल छोजधिःका अध्यक्ष गुरुङको तर्क छ । आदिवासी तमु गुरुङहरुको आफ्नै परम्परा र संस्कारहरुलाई यो महामारीले सम्झाएको उहाँको दाबी छ ।

‘गुरुङहरुको खानपिनका आफ्नो शैली छ । यो शैलीलाई कोरोनाले सम्झाएको मात्र होइन पुनर्स्थापना गरेको छ’, अध्यक्ष गुरुङले भन्नु भयो, ‘सहरको कुरा नगरौं, तर जहाँ हाम्रो थातथलोमा रहनु भएका गुरुङहरुको परम्परागत खानाको कुरा छ, यो वैज्ञानिक भएको र यसले महामारीविरुद्ध जुध्न सहयोगी हुने तथ्यहरु प्रकाशमा आएका छन् । गाउँघरमा खानामा गुरुङहरुले खाने गरेको ढिडो पिठो र अर्गानिक सागसब्जीले रोगप्रतिरक्षा प्रणालीलाई बलियो बनाउने कुरा आएको छ । हाम्रो समाजलाई आफ्नो परम्पराप्रति गर्व गर्न यसले पनि सिकाएको छ । यसलाई सकारात्मक पक्षका रुपमा लिनु पर्दछ ।

‘नेपाल आदिवासी जनजाति युसवा संघका पूर्वअध्यक्ष जिएस गुरुङले पनि आदिवासी तमु गुरुङहरुको प्रथाहरु, परम्पराहरु र प्रथाजन्य संस्थाहरु कोरोना कालमा सम्झन पुगेको र पुर्खाका ती बिरासतले आदिवासीलाई बचाएको बताउनु भयो ।

हाम्रा परम्पराहरु बैज्ञानिक भएको र प्रकृतिको निकट भएर बाच्ने समुदायहरुले परम्परा अनुसार नै संकटको सामना गरेको पनि बताउनु भयो ।
(साभारः इन्डिजिनियस फिचर सेवा, रामबीर तमु)