आमरण अनशनका योद्धाहरुसँग बिजिडब्लूएसको भेटघाट

प्रकाश गुरुङ
  •  
  •  
  •  

लन्डन, १५ अगस्ट। ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपीको नेतृत्वमा बिजिडब्लूएसको टोलीले लन्डनस्थित ब्रिटिस प्रधानमन्त्री कार्यालय बाहिर आमरण अनशन बसिरहेका ज्ञानराज राई, पुष्पा राना घले र धनबहादुर गुरुङलाई भेटेको छ ।

भूपू ब्रिटिस गोर्खाहरुलाई समान अधिकारको माग गरेको तीन दशक भइसक्दा पनि दुवै देशका सरकारले आलटाल गरेको र कहिले पनि सरकारबीच वार्ताको माहोल नबनेकाले गोर्खाहरु अन्तिम लडाइँ भन्दै भोक हडतालमा बसेका छन् । १७ दिन रिले अनशन बसेर ९ दिन भोक हडतालमा बसिसकेका तीनै जनाको स्वास्थ्य स्थिति नाजक हुँदै गएको छ ।

पत्रकारहरुसँग छोटो कुराकानीमा अध्यक्ष देवानले भने, ‘माग पूराको कामना गर्दै वेष्ट विसेस् भन्न आएका हौं । हामी सबैको अब्जेटिभ एउटै हो । हामीले पनि वार्ताका लागि राजनीतिक रुपमा दबाब दिइरहेका छौं ।’

उनले दुई दिन अगाडि बीबीसी रेडियो लन्डनमा बोल्दै भेट्रेन मिनिष्टरले जवाफ नपठाएको कुरा जानकारी गराएका थिए । मिडियाले पनि सरकार पक्षको जवाफ खोजिरहेको छ।

संस्थाको तर्फबाट महासचिव क्षत्र राई, प्रेम बुढा, राष्ट्र राई, पदम राई, ओम थापा, टोप पाली, ज्ञानकाजी गुरुङ, मेजर दिलकुमार राई, हरि गुरुङ, ओमेन्द्र गुरुङ, नगेन्द्रराज नेम्वाङलगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।