बेलायतमा फेरि बढे कोरोना संक्रमित

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

लन्डन साउन २३ । बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् । यहाँ गएको २४ घण्टामा ३० हजार ९८८ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् ।

यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ अहिलेसम्मका सङ्क्रमितको सङ्ख्या ५९ लाख ८२ हजार १५२ पुगेको छ । त्यसैगरी गएको २४ घण्टायता यहाँका कम्तीमा पनि ८६ जनाको कोरोनाकै कारण ज्यान गएको बताइएको छ ।

यहाँ पछिल्ला केही दिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएकाले अबका केही दिनमा यहाँ सङ्क्रमितको संख्या बढ्दै जाने हो कि भन्ने डर बढेको पाइएको छ । उता अमेरिकामा पनि पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको देखिएकाले यहाँको सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गर्ने जनाएको छ ।

पछिल्ला केही समयमा यसको सङ्क्रमण बढेपछि कतिपय राज्यहरुमाा मास्क लगाउन अनिवार्य पनि गरिएको छ । त्यसैगरी कतिपय अस्पतालहरुमा कोभिडका सङ्क्रमितहरु बढेका समाचारहरु पनि आइरहेकाले सरकारले आवश्यक थप तयारी थालेको पनि बताइएको छ ।