अहिले नेपालीहरुले नेपालीलाई बचाउने प्राथमिक विषय हो : पुनम गुरुङ [अन्तर्वार्ता]

प्रस्तुति : प्रकाश गुरुङ
  •  
  •  
  •  

कोरोना भाइरस महामारीका कारण दु:ख भोगिरहेको नेपालका लागि विशेषत: प्रवासी नेपालीहरुले यतिबेला राहत संकलन र उपलब्धको अभियान चलाइरहेको छ । कोभिड १९ प्रतिकार्यका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउन नेपाली राजदूतावास लन्डन र गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले पनि सर्वपक्षीय भर्चुअल मिटिङपछि मे १५ तारिखदेखि ‘अक्सिजन पठाऔं, नेपालीको ज्यान जोगाऔं’ नारासहित सहयोग संकलन अभियान चलायो । जसमा १० दिनकै अवधिमा बेलायतमा झन्डै २ करोडभन्दा बढी सहयोगको प्रतिबद्धता भयो । नेपालमा अक्सिजन कन्सन्ट्रेटर सहयोगलगायत विषयमा केन्द्रित रहेर एनआरएनए यूकेको अल्डरसटस्थित कार्यालयमा अध्यक्ष पुनम गुरुङसँग मे २६ मा गोर्खा मिडियाका लागि प्रकाश गुरुङले गरेको कुराकानी ।

नेपालमा कोभिडको दोस्रो लहरले जनजीवन अस्तव्यस्त छ। एनआरएनए यूके र नेपाली दूतावासको पहलमा थालिएको सहयोग अभियानको पछिल्लो अपडेट के छ ?
बेलायत पनि यही कोभिडबाट विस्तारै रिलिभ भइरहेको छ । मान्छेहरुसँग कति डोनेसन माग्ने भनेर त्यत्ति अप्रोज नगरिरहेको अवस्था थियो । तर मे १५ मा महामहिम राजदूत लोकदर्शन रेग्मी, नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, संघसंस्थाका अध्यक्षहरु, भोलियन्टियर, एनआरएनए यूकेका टिम, सल्लाहकार, एनसीसीका मेम्बरहरुसँगको उच्चस्तरको बैठक बस्यौं । त्यो दिन हामीले डोनेसनको डोर ओपन गर्‍यौ । चार घण्टाको मिटिङ भयो । तर तीन घन्टाको अवधिमै ६४ हजार पाउन्डभन्दा बढीको कमिटमेन्ट पायौं । नेपाल सरकारलाई सबभन्दा बढी अक्सिजनको खाँचो छ भन्ने दूतावासबाट पनि लिस्ट आएको थियो । हामीले त्यहीअनुसार पहिलो चरणमा ५० वटा जति अक्सिजन कन्सन्ट्रेटर पठाऔं भन्ने थियो ।

बुझ्ने भाषामा भनिदिनुहोस् न अक्सिजन कन्सन्ट्रेटर भनेको के हो ?
अक्सिजन कन्सन्ट्रेटर भनेको सिलिन्डर भर्न जानु पर्दैन । त्यहीं नै अक्सिजन उत्पन्‍न हुन्छ । एउटा अक्सिजन कन्सन्ट्रेटरको दुई वर्षसम्म ग्यारेन्टी हुँदोरहेछ । त्यो छरितो र सरल हुन्छ । हस्पिटलमा बिरामी राख्ने ठाउँ भएन भने पनि बिरामीको घरमा लान सक्ने मेसिन हो ।

प्रतिमेसिन कति मूल्य पर्दो रहेछ ?
यसलाई एउटाको ८ सय ५० डलर । धेरै ठाउँमा हामीले कुरा गर्‍यौं । तुरुन्तै चाहियो भन्दा कतिपयले ३५ सय डलरसम्मको कोटेसन दिए । तर पछि हामीले एनआरएनए आईसीसीका अध्यक्ष कुमार पन्तजी, उपाध्यक्ष बद्री केसीजी, बेलायतमै रहनुभएका आईसीसी महासचिव डा. हेमराज शर्माजीसँग कुरा गरेर आईसीसीले नै समन्वय गरिरहेको चीनको भेन्डोरसँग ८५० डलरमा १ सय १ वटा अडर गर्‍यौं । २३ मेबाट हामीलाई भेन्डोरहरुले अक्सिजन कन्सन्ट्रेटर दिन थालेको छ । अबको केही दिनमा नेपाल एयरलाइन्सको जहाज मगाएर हामी नेपाल पठाउँछौं ।

बेलायतमा जति पनि व्यक्ति संस्थाले दिएको सहयोग एनआरएनएको खातामा जम्मा हुन्छ र त्यो रकम चाइना पठाएर अक्सिजन कन्सन्ट्रेटर किन्ने र नेपाल एयरलाइन्स थ्रु नेपालमा मेसिन आइपुग्ने छ भन्ने बुझ्दा हुने भो । यसको वितरण कसरी गर्नुहुन्छ त ?
अहिले नेपाल सरकारले पनि वितरणको वान डोर पोलिसी बनाएको छ । त्यसैले जति अक्सिजन कन्सन्ट्रेटर हामीले पठाउँदैछौं त्यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जान्छ । स्वास्थ्य मन्त्रालयले हाइली इफेक्टेड एरियाहरुमा पठाउने छ । अहिले त काठमाडौं नै बढी प्रभावित छ । त्यस्तै भारतसँगका सीमाका सहर र गाउँहरुमा एकदमै जरुरी भएकोले त्यता मन्त्रालयले पठाउँछ भन्ने दूतावासमार्फत हामीले सूचना पाएका छौं । मलाई लाग्छ, सरकारले सही ठाउँमा पठाइदिए यो अक्सिजन कन्सन्ट्रेटरको सदुपयोग हुनेछ । धेरैभन्दा धेरै नेपालीको ज्यान बचाउन सक्छौं भन्ने मैले आशा राखेको छु ।

एनआरएनए यूकेले चाहेको खण्डमा अक्सिजन कन्सन्ट्रेटर यहाँ पठाउनुपर्‍यो भन्ने अवस्था रहन्न त अब ?
धेरै नेपाली दाजुभाइ, दिदीबहिनीहरुले भावनात्मक रुपमा आफ्नो क्षेत्रमा पठाउन त चाहनु हुन्छ । त्यो विषय मलाई पनि आएको थियो । मैले यस विषयमा महामहिमज्यूसँग पनि कुरा राखेँ । उहाँले हामीले यस ठाउँमा वा अस्पतालमा पठाइदिनु पर्‍यो भनेर सिफारिससम्म गर्न मिल्ने वचन दिनुभएको छ ।

तपाईं आजभोलि दिनदिनै ३/४ वट चेक ग्रहण गरिरहनुभएको छ कोभिड १९ रिलिफ फन्डका लागि । अहिलेसम्मको व्यक्ति र संघसंस्था प्लेज्ड (कबोल) रकम र उठेको कति छ तथ्यांकमा ?
अहिलेसम्म १ लाख ४२ हजारभन्दा बढी पाउन्ड (दुई करोड ३० लाखबराबर नेपाली) प्लेज्ड भएको छ । र हामीले अहिलेसम्म संकलन भएको ९७ हजार ४८६ पाउन्ड (१ करोड ६० लाख नेपाली) । पहिलो चरणमा नेपालमा एनआरएनए फन्डमा ८१ हजार डलर हामीले पठाइसक्यौं । १५० वटा अक्सिजन कन्सन्ट्रेटरका लागि ८५० को दरले १ लाख २७ हजार ५ सय डलर खाँचो छ । हाम्रो टार्गेटेड एमाउन्ट नाघिसकेकोले बाँकी रकमको विषयमा फेरि पनि महामहिमज्यू, संघसंस्थाका अध्यक्षज्यू, मेरो अपर लेभलका टिमहरु हुनुहुन्छ । काठमाडौं काउन्सिल टिमदेखि लिएर आईसीसी टिम, अनरी मेम्बर्सहरु । मेरो टिम सबैलाई राखेर बाँकी पैसालाई अक्सिजन प्लान्टमा खर्च गर्ने योजना छ । अबको बैठकमा त्यसलाई छलफल गरेर अगाडि बढ्नेछौं ।

भूकम्पका बेला वा बाढी, पहिरोजस्ता विपत्तीमा पनि बेलायतवासी नेपालीले स्वदेशमा सहयोग पठाएका थिए । जसको सकारात्मक र नकारात्मक प्रतिक्रियाहरु आए । यस पटकको सहयोग रकम वास्तविक पीडितसमक्ष पुग्छ भनेर तपाईंले डोनरहरुलाई कसरी विश्वास दिलाउनुहुन्छ ?
पहिलो कुरा त, अहिले हामीसँग जोडिएर काम गरिरहेको नेपाली दूतावासले पनि जिम्मा लिइराखेको छ । दोस्रोमा, नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले लिएको छ । अहिले दैनिक नेपालमा कोरोनाबाट सय/दुई सय मान्छेहरु मरिरहेका छन् । विगतमा सरकारले के गर्‍यो तिर म जान चाहन्‍न । यस्तो बेलामा अपहरिहार्य सहयोग नेपालीले नेपालीका लागि गरेको अक्सिजन सरकारले एक ठाउँमा लगेर राख्ने र नेपालीको ज्यान गइरहने अवस्था हुन दिन्छ जस्तो लाग्दैन । मानवीयताको कुरो हो यो । हरेक मिनेट, सही ठाउँमा उपचार नपाएर, बेड नपाएर बिरामी अलपत्र छ । जुन तस्बिर र भिडियो हेर्दा धेरै इमोसनल छ । जुन हामी हेरिरहन सक्दैनौं । त्यस्तो अवस्थामा दुरुपयोग गर्ला भन्ने विश्वास छैन ।

अहिले पहिलेको जस्तो सरकार छैन । मान्छेहरुको सोचाइ चेन्ज भइसक्यो । हामी ग्लोबल सिटिजन्स भइसक्यौं । एउटा देशले अर्को देशलाई बचाइराखेको अवस्था छ । अहिले त हामी नेपालीहरुले नेपालीलाई बचाउने अपरच्युनिटी पनि हो । यसमा सहयोग मिसयुज हुँदैन भन्ने ठूलो विश्वास छ । त्यसैले कसैलाई विश्वास नगर्ने हो भने हामी कहीं पनि रहँदैनौं । जे काम गर्नलाई पनि एउटा विश्वास ठूलो आधार हो ।

एनआरएनए यूकेले बेलायत सरकारसँग नेपाललाई यो विषम स्थितिमा मद्दत गर्न केही पहल गरेको छ ?
हामीले आफ्नो-आफ्नो कन्स्टीच्युन्सीमा एमपीहरुलाई एनआरएनएको तर्फबाट लेटर दिने गरेका छौं । चिठी दिएर बेलायत सरकारको ध्यानाकर्षण गराउने काम गरेका छौं । बेलायत र नेपालको जुन फ्रेन्डसीप छ, त्यो आफ्नै ठाउँमा छ भने बेलायतीहरु विश्वभरिमै मानवीयता भएका व्यक्तिहरु हुन् । उहाँहरुको अरु देशलाई, समुदायलाई मद्दत गर्ने जुन ब्यूउटी छ । र, हाम्रो गोर्खाज्‌को फ्रेन्डसिप छ । त्यसले गर्दा पनि मैले ठूलो आशा राखेको छु कि बेलायतले नेपाललाई छिट्टै सहयोग गर्नेछ । उहाँहरुको हाउस अफ लोर्डस्‌मा यो कुराको छलफल पनि भएको छ । त्यसलाई एक्सनमा छिट्टै ल्याइयोस् भनेर हामीले एउटा लेटर सांसद, मन्त्रीहरुलाई समेत दिइसकेका छौं । उहाँहरुले परराष्ट्र मन्त्रालयमा पुर्‍याइसकेको जानकारी फोनमार्फत दिनु भएको छ ।

पहिलो पटक एनआरएनए यूकेको महिला अध्यक्ष हुनुभयो । कार्यकाल सम्भवत: कोभिड-१९ को कोलाहालबीच नै सकिने भयो । कस्तो लागिरहेछ ?
अनुभव एकदमै राम्रो छ । म बेलायतमा, यूरोपमा पहिलो महिला अध्यक्ष हुनेक्रममा धेरै महिलालाई नेतृत्वका लागि ढोका खुलेको महसुस गरेकी छु । एनआरएनए यूके २००५ सालमा स्थापना भयो । त्यतिखेर महिलाहरुको सहभागिता ‘जिरो’ थियो । त्यसपछि विस्तारै बढ्दै गएर अहिले मेरो पालामा ३३ प्रतिशत महिला टिममा छौं । जसले मलाई गर्व लाग्छ । मसँग आएर उहाँहरु (महिला)हरुले विभिन्न ठाउँमा रहेर आफ्नो ट्यालेन्ट नेपाली समुदायसँग बेलायतमा सेवा दिइरहनुभएको छ ।

अन्तमा केही जोड्न चाहनुहुन्छ ?
गोर्खा मिडियाबाट प्रकाश गुरुङज्यू, सिनियर फोटोग्राफर मिलन तमुज्यू, उहाँहरु व्यस्त समयका बाबजुत मेरो अफिसमा आएर एनआरएनए यूकेले के गरिरहेको छ । विशेषगरी “अक्सिजन पठाऔं। नेपालीको ज्यान जोगाऔं।” अभियान कहाँसम्म पुगिरहेको छ भन्‍ने नेपाली पब्लिकका बीचमा पुर्‍याउनका लागि जुन टाइम लिएर आउनु भयो । यसका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु । र कोभिडको हेल्प प्रोजेक्छ छ । यो ३१ मेसम्म मात्रै ओपन राख्छौं । जति पनि संघसंस्था, व्यक्तिहरुले सहयोग गर्नुभयो । उहाँहरुलाई संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद । नमन गर्न चाहन्छु । यदि हजुहरुले प्लेज्ड गर्नुभएको अमाउन्ट ब्यांकमा ट्रान्सफर गरिसक्नु भएको छैन भने छिटोभन्दा छिटो ट्रान्सफर गरिदिनुहोस् ।

भिडियो