दुर्लुङ गाउँको परिचय

विकास कोन्मे गुरुङ (विशाल Rock)
  •  
  •  
  •  

पर्वतको कुश्मा नगरपालिका वडा नं-३ अन्तर्गत पर्ने सुन्दर रमणीय गाउँ दुर्लुङ सदरमुकाम कुश्मादेखि ऊत्तरी दिशामा अवस्थित छ । समुन्द्र सतहदेखि करिब १७०० मिटरको ऊचाईको रहेको यो गाउँ बाईसे चौबिसे राज्यकालमा कोटमा पनि राज्य स्थापना गरी बसेको इतिहास छ । वर्तमान पर्यटकीय विकास प्रबर्द्धनको र प्राचीन धार्मिक अनि पवित्र स्थानको रुपमा यस दुर्लुङकोट भूमि निकै शक्तिवान रुपमा प्रचालित र प्रख्यात छ ।

यस गाउँको नाम दूर भनेको टाढासम्मा देखिने र लुङ भनेको गोलो रेखा दृश्य आकारबाट नै दुर्लुङ नाम रहन गएको र नामांकन गरिएको इतिहास पाइन्छ । यस गाउँको प्रमुख आकर्षक भनेकै भौगोलिक, माहोलले पनि त्यत्तिकै रमणीय छ । यस दुर्लङ गाउँबाट आन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमालको दृश्यहरु सजिलै ऐनासरी छर्लङ्ग अवलोकन गर्न सकिन्छ ।

दुर्लुङ गाउँबाट ३२ वटा वरपरका गाउँहरु सजिलै देख्न सकिन्छ । जस्तै छिमेकी गाउँहरु देउपुर, लुम्ले, चन्द्रकोट, सल्यान भदौरी, चित्रे, राम्जा, राँपु, आर्थर, डाँडाखर्क, दक्षिणतर्फ फलेवास र पाल्पाको सिमानासम्म, साथै गोलकोट र छिमेकी जिल्लाहरु बागलुङ र बेनी बजार पनि सजिलै अवलोकन गर्न सकिन्छ ।

साँस्कृतिक, भाषा संस्कृति र भेषभुषाअन्तर्गत विशेश गुरुङटोल छिमेकमा गुरुङ भाषा र नेपाली नै प्रचलितमा छ । घाँटु र सोरठी बिस्तारै लोभ हुँदै गहिरहेको अवस्थमा । सोरठी पुन: यथावत जगेर्ना गर्न छिमेकी गुरुङ गाउँहरुबाट बेला बेलामा आएर सिकाउँदै गरेको पाइन्छ ।

 

शिक्षा, यस गाउँको प्राय: सबैजसो घरधुरीमा न्यूनतम् प्रवीणता प्रमाणपत्र तह (IA) पास गरेको पाइन्छ । २०४८ सालदेखि यहॉं दुईवटा माध्यमिक विद्यालय पूर्ण रुपमा कम्प्युटर र ईन्टरनेटको साथ संचालनमा आइरहेको छ । जसमध्ये एक उच्च मा.वि. व्यवस्थित तबरले नै संचालनमा आइरहेको छ ।
यी दुवै स्कुलका स्थापनादेखि वर्तमान व्यवस्थापनको नेतृत्व तमुहरुले गरिरहेको लामो इतिहास छ ।

पेसाले र दिनचार्यमा यहॉंका मानिसहरु प्राय:जसो कृषक गर्दछन् । त्यसको अलावा कोही शिक्षकदेखि प्रोफेसर साथै भूगोलविद् पनि यहॉंका गुरुङहरु बन्न सफल भएका छन् । यस दुर्लुङ गाउँलाई पर्यटकीय गाउँ बनाउन निकै मिहिनेत पहलहरु भइरहेको पाइन्छ ।

जस्तै पर्यटकहरुका लागि आकर्षक दुर्लुङ कोटमा अवस्थित भ्यूटावर, झप्पक्कै फूल्ने लालीगुराँस फूल महभीरको छहरामा क्यानोनिङ पर्यटकहरुका लागि होम स्टेजको सुरुवात र संचालनमा आइरहेको छ ।

पर्यटकको रुपमा अथवा कुनै पाहुना बनि यहॉं पुग्नुहुने सबैप्रति हार्दिकताका साथ गाउँलेहरु मिली अथिति देव भवको मूल मन्त्रलाई मनन् गर्दै स्वागत र सत्कार गर्ने चलन निकै रमाइलो छ ।

सदारमुकामदेखि गाउँसम्म पक्की मोटरबाटो पनि बनिसकेकोले पर्यटकहरुको आगमन साथै गाउँ आवतजावत गर्न धेरै नै सुविधाजनक भएको स्थानीयहरु बताउने गर्दछन् । मोटरबाटो संचालनमा आएदेखि वर्षेनी ४ देखि ५ हजार पर्यटकहरु दुर्लुङ गाउँ घुम्न गएको पछिल्लो तथ्यांकले बताउँछ ।

पछिल्लो तथ्याङ्क अनुसार ७०० सय घरधुरी रहेको र जसमध्ये लगभग १८० घरधुरी तमुहरुको रहेको छ । यस दुर्लुङ गाउँमा विभिन्न जात जातीहरुको बसोबास छ । गुरुङ, मगर, ब्रम्हाण, क्षेत्री ,जैसी र दलितजातिहरुको बसोवास रहेको छ । गुरुङ गाउँहरुमध्ये पर्ने गाउँ कोटथर, भुजेलथान (कुइनासा) देउराली, सल्यान (केही घरधुरी), चनौटे, गैराघर (कुनासा), सानो काफलचौर र ठूलो काफलचौर निम्न केही घरधुरी गुरुङहरुको बसोवास छन् ।

यस दुर्लुङ गाउँको प्राचीन र इतिहासअनुसार यहॉंका गुरुङ थरहरुमध्ये प्लहन्मे (लामछाने) गुरुङहरुको पुर्खाहरु घान्द्रुक (कोंरा) नासाबाट आई बसोवास गरेको पाइन्छ । कोन्मे घोण्डे घोत्तानेहरुको पुर्खाहरु लमजुङबाट र कोही पूर्खा सिक्लेसबाट आएको तथ्याङ्कले बताउँछ ।

त्यस्तै यसगाउँको एक पंकी लामाहरुको पूर्खाहरु छिमेकीगाउँ आर्थर (प्हेथरा)बाट आई बसोबास गरेको । एक थर पंकी लामाहरुको जिज्युबाजे कास्कीको ल्वाङघलेल गाउँबाट कास्की भुम्दीगाउँमा असिना पानी रोक्ने “ओली” लामा भई गएको । र भुम्दी कालाबङको काप्रे भन्ने ठाउँमा बसोवास गर्दै त्यस ठाउँबाट दुर्लुङ गाउँको देउरालीमा बसोबास गर्दै आइरहेको इतिहास पाइन्छ । र वि. सं २०१७ साल पश्चात् यस गाउँको पहिलो प्रधानपन्च “कोते” स्व. पूर्णबहादुर तमु पनि भुम्दिबाट आएका पंकीलामा थरको तमु रहेको इतिहासले बताउँछ ।

यस गाउँमा रहने टुड्मैहरुको पुर्खा एकथरी विज्ञहरुले कास्कीको भुजुङबाट आएको पुष्टि गरेका छन् भने दुर्लुङको मात्रै इतिहास बताउन सक्ने स्थानीय जेष्ठ नागरिकहरुसँग जानकारीअनुसार कास्कीको भदौरे, पाउँदुरबाट आई बसोबास गरेको पाइन्छ । गाउँबाट सहर बजार झर्ने क्रमबाट यस गाउँको मुख्यतय गुरुङहरु पनि अछुत रहन सकेन । कुश्मा, पोखरा, काठमाडौं आई बसोबास गरे तापनि आफ्नो गाउँको मूलघर समय अनुकूल मर्मत गर्दै सुरक्षित राखिरहने प्रयास गरिरहेको पाइन्छ ।

धर्म, सबै धर्महरुलाई सम्मान गरेको पाइए तापनि सतप्रतिशत गुरुङहरु बौद्व धर्मप्रति नै आस्था र विश्वास राख्दछन् । जसको एउटा उदाहरण, सदरमुकाम कुश्मामा दुईवटा गुम्बा निर्माण गर्न सफल । संस्थापक र व्यवस्थापन पक्षको नेतृत्व पनि दुर्लुङ गाउँकावासीहरु नै रहेको छ ।

स्वदेश तथा वैदेशिक रोजगारीको सिलसिलामा नेपाली सेना, भारतीय सेना ब्रिटिस सेनामा पनि ऊच्च ओहोदासम्म पुग्न सफल भएका छन् । साथै विभिन्न देशहरुमा बसोबास गर्दै आइरहेका छन् । गाउँदेखि सहर हुँदै संयुक्त अधिराज्य बेलायतलाई कर्मथलो बनाउँदै बसिरहेका सबै मिलेर दुर्लुङ समाज
यूके स्थापना साथै ३८ घरधुरी दुर्लुङवासीहरु बेलायत बसोबास गर्दै आइरहेको तथ्यांकले बताउँछ ।

राजनीतिक चेतना अनि राजनीतिप्रति यस गाउँका मानिसहरु निकै रुची र अग्रसरता रहेको यस गाउँको इतिहासले बताउने गर्दछ । वि.स. २००७ साल राणाशासन विरुद्वको राणा हटाउने अभियानमा पर्वत जिल्लाको पहिलो नेपाली कांग्रेसको तरफबाट नेतृत्व पनि यही गाउँको मुखीया (क्रोहों) स्व. श्री चन्द्रबहादुर (कोन्मे तमुले) गर्नुभई । कुश्मा चौकी कब्जा गरी केही समयसम्म शासन चलाएको यथार्थ इतिहास छ । साथै स्व. चन्द्रबहादुर गुरुङ (कोन्मे) नै गण्डक क्षेत्रका पहिलो माननीय पदको उम्मेदवारी पनि यही दुर्लुङ गाउँका बासिन्दा रहेको इतिहास छ ।

विगतदेखि वर्तमानसम्मको राजनीतिमा, प्रधानपन्चदेखि जिल्ला सभापति, मानानीय हुँदै सहायक तथा यातायातमन्त्रीसम्म यस दुर्लुङ गाउँका गुरुङ बासिन्दा बन्न सफल भएका छन् । साथै वर्तमान समयमा पनि यस दुर्लुङ भुमेका पुत्र अर्थात् दुर्लुङ गाउँबाट प्रतिनिधिसभामा पर्वत जिल्लाको प्रतिनिधित्व गर्दै एउटै गाउँबाट दुईजना प्रतिनिधिसभा माननीय सांसद पाउने गण्डक क्षेत्रमा नै पहिलो शौभाग्यशाली गाउँको रुपमा चिनिने गर्दछ ।
वर्तमान पर्यटकीय विकास र ग्रामीण विकास समृद्विको मूल नाराको रुपमा यस गाउँका बासिन्दाहरु सक्दो कोसिस गरिरहेका छन् ।
“रमणीय सुन्दर दुर्लुङ गाउँ ।”
“एकपटक घुम्न आवश्यक जाउँ ।”